लोकप्रिय निर्णय गर्दै जनप्रतिनिधि ‘निःशुल्क शिक्षा स्वास्थ्यदेखि मोडेल पालिकासम्म’ «

लोकप्रिय निर्णय गर्दै जनप्रतिनिधि ‘निःशुल्क शिक्षा स्वास्थ्यदेखि मोडेल पालिकासम्म’

जुम्ला-जुम्लाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेसँंगै लोकप्रिय निर्णय गरेका छन् । जनताको मन जित्ने गरी निःशुल्क स्वास्थ्य शिक्षा प्रदानदेखि नागरिकको स्वास्थ्य बिमा, संस्थागत सुत्केरीमा वृद्धि, पारिश्रमिक नलिने र मोडल पालिका बनाउने सम्मका आ–आफ्नै महत्वकाँक्षी लोकप्रिय निर्णय गरेका छन् ।
जसअन्तर्गत सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले घरमा हुने सुत्केरी दर शून्यमा झार्ने पहिलो निर्णय गरेका छन् । पूर्वाधार विकास र सेवा प्रवाहमा मोडल पालिका बनाउने योजना रहेको भन्दै सिंजामा मातृशिशु मृत्युदर शून्यमा झार्न संस्थागत सुत्केरीलाई जोड दिइने निर्णय भएको अध्यक्ष धितालले बताए । गाउँगाउँमा सिंहदरबार भन्ने अवधारणालाई पूर्णता दिनका लागि नागरिकले स्थानीय सरकारको महसुस हुने गरी काम गर्ने उनको प्रतिबद्धता छ ।
पालिकामा बर्थिङ सेन्टर स्थापनादेखि स्वास्थ्य परामर्शमा जोड दिइने छ । सिंजा सभ्यताको संरक्षण, कृषि पर्यटनमा अनुदान तथा स्वास्थ्य शिक्षामा विशेष छुटको व्यवस्था मिलाइने छ । ५ वर्षभित्र कक्षा १ देखि ५ सम्मको आधारभूत विद्यालय तहमा शिक्षाको गुणस्तर सुधार र उपलब्धिस्तर ६० प्रतिशत पु-याइने छ ।
उता हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले पालिकाभरिका प्रत्येक नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिने, विद्यालय, स्वास्थ्य संस्थागमा फ्रि वाईफाई जडान, डिजिटल हाजिरी जडान गर्नेलगायतका निर्णय भएको बताए । निःशुल्क बिमाले हिमाका सम्पूर्ण नागरिक स्वास्थ्य सेवाको पहुँच पुग्ने अपेक्षा छ भने परीक्षणका लागि हिमाको एक विद्यालयमा अंग्रेजी माध्यमको पढाइ सुरु गरिने छ ।
साथै चन्दननाथ नगरपालिकाकी नवनिर्वाचित उपमेयर रामदेवी खड्काले पाँच वर्षभरि आफूले पाउने पारिश्रमिक नलिने घोषणा गरेकी छन् । उनले आफ्नो सेवा सुविधा दलित, विपन्न, असहायका नाममा खर्चिने घोषणा गरेकी हुन् । समृद्ध नगर नमुना नगर बनाउन तथा सरसफाइ व्यवस्थापनदेखि भ्रष्टचार न्यूनीकरणमा जोड दिइने पहिलो निर्णय भएको छ । राजनीति जागिर नभई सेवा हो भन्ने सन्देश दिनका लागि पनि पारिश्रमिक नलिने घोषणा गरेको उनको भनाइ छ । उनले भनिन्, “पारिश्रमिकवापतको रकम एक कोषमा जम्मा गरिने छ । उक्त रकम शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, राहत उद्दार तथा विपन्न नागरिकको उत्थानका लागि खर्च गरिने छ ।”
साथै चन्दननाथ नगरपालिका–५ का निर्वाचित वडाध्यक्ष बिर्खबहादुर कार्कीले आफ्नो वडाबासीलाई निःशुल्क स्वास्थ्य, शिक्षा, बत्तीको शुल्कसमेत वडा सरकारले तिरिदिने निर्णय गरेको छ । जिल्लाकै मोडेल वडा निर्माणका लागि सेवा प्रवाहलाई सहज बनाउनेदेखि पूर्वाधार विकासमा जोड दिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्