प्लास्टिक उद्योगलाई दिगो रूपमा विकास गर्न जरुरी «

प्लास्टिक उद्योगलाई दिगो रूपमा विकास गर्न जरुरी

प्लास्ट नेपाल फाउन्डेसन नेपालमा प्लास्टिकजन्य वस्तु उत्पादन गर्ने उद्योगी–व्यवसायीहरूको छाता संगठन हो । नेपालमा औपचारिक र अनौपचारिक गरी करिब तीन हजार प्लास्टिक उद्योग सञ्चालनमा रहेको प्लास्ट नेपालले जनाएको छ । वार्षिक दुई लाख ७५ हजार टन प्लास्टिक नेपालमा खपत हुने गरेको छ । प्रायः फिनिस वस्तुमा नेपाल आत्मनिर्भर भएको उद्यागी–व्यवसायीहरूको भनाइ छ । एकै थलोमा प्लास्टिकजन्य वस्तुको जानकारी दिने उद्देश्यका कारण बिहीबारदेखि शनिबारसम्म (मे २६, २७, २८ तारिख) भृकुटीमण्डपमा प्लास्ट एक्स्पो हुँदै छ । विदेशी र नेपाली गरी कुल ९३ वटा स्टल रहने एक्स्पोमा नेपालमा उत्पादन हुने प्लास्टिकजन्य वस्तुहरूको प्रदर्शनी हुनेछ । यसका अतिरिक्त प्लास्टिक उत्पादनका लागि प्रयोग हुने प्रविधि तथा ज्ञानको बारेमा जानकारी प्रदान गर्ने जनाएको छ । बिहीबारदेखि हुने प्लास्ट नेपालको प्रदर्शनीका विषयमा केन्द्रित भएर नेपालमा प्लास्टिक उद्योगको सम्भावना र अवसरका बारेमा सरकोकारवालासँग कारोबारले गरेको कुराकानीको सार :

कच्चा पदार्थ आयातमा लगाएको भन्सार दर कम गर्नुपर्छ
प्रदीपकुमार श्रेष्ठ
पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

प्लास्टिक हाम्रो दैनिक जीवनका लागि अति नै उपयोगी वस्तु भए पनि आम जनमानस र सरकारले प्लास्टिक उद्योगलाई हेर्ने दृष्टिकोण भने सकारात्मक छैन । नेपालमा प्लास्टिक उद्योगहरूको संख्या हेर्ने हो भने सबैभन्दा धेरै उद्योग सञ्चालनमा रहेको पाइन्छ । हामीले प्लास्टिक उद्योगका लागि चाहिने कच्चा पदार्थ आयात नै गर्छौं । कुनै समय नेपाल र भारतबीचको भन्सार दरको फरकका कारण भने निर्यात पनि हुने गरेको थियो । अहिले आएर धेरै कम भएको छ । पछिल्लो समय प्लास्टिक अपरिहार्य वस्तुको रूपमा विकास भएको छ । नेपालमा विशेषतः प्लास्टिक उद्योगलाई सबैले सकारात्मक सोचका साथ हेर्नुपर्छ भनेर प्लास्ट नेपाल फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ । संसारभर नै प्लास्टिकको प्रयोगमा वृद्धि हुँदै गएको छ । प्लास्टिकको प्रयोग गर्ने मात्र होइन, कसरी त्यसको प्रयोग र व्यवस्थापन गर्ने भन्ने कुरा आजको आवश्यकता हो । यसको प्रयोग र व्यवस्थापन सही किसिमबाट गर्ने हो भने हामीले दैनिक जीवनयापनमा ठूलो फाइदा लिन सक्ने अवस्था रहेको छ । नेपालमा दिन–प्रतिदिन प्लास्टिकको खपत वृद्धि हुँदै गएको छ भने यसको अपरिहार्यता पनि बढेर गएको छ । प्लास्टिक पछिल्लो समय निर्यात पनि भएको छ । सिमेन्टका लागि चाहिने प्याकेजिङका लागि भारतमा निर्यात हुँदै आएको छ । पछिल्लो समय वातवरण जोगाउनका लागि पनि प्लास्टिकको पुनप्र्रयोगको वृद्धि हुँदै गएको छ । यहाँ पुनप्र्रयोगका लागि उद्योग स्थापना हुँदै गएका छन् भने यसले रोजगारी पनि दिएको छ र वातावरण प्रदूषण हुनबाट पनि जोगाएको छ । हामी उद्योगी र सरकारले पनि वातावरणमा क्षति नपु-याउने गरी वस्तुको उत्पादन र प्रयोगसँगसँगै लागू गर्नुपर्ने अवस्था छ । नेपालमा पछिल्लो समय इन्टरप्राइजिङ नेचरको उद्योगी कम छौं । एकअर्काको अनुसरण गर्ने परम्पराले गर्दा सञ्चालनमा रहेका र सञ्चालन आउने उद्योगलाई असर गर्दै आएको छ । नेपालमा प्लास्टिक उद्योगको रूपमा पञ्चकन्या ग्रुप सबैभन्दा ठूलो उद्योग हो । नेपालमा पीभीसी, पीपीआर, यूपीभीसी उत्पादन गर्ने पहिलो कम्पनी पञ्चकन्या नै हो । सरकारले नीतिगत तहमा उद्योगको उत्पादकत्व वृद्धि गर्नका लागि मद्दत पु¥याउनुपर्छ । सरकारले उद्योगलाई प्रवद्र्धन गराउने र राजस्वमा वृद्धि गर्ने हो भने बजारलाई संकुचित बनाउने काम सरकारले गर्नु हुँदैन । सरकारले फिनिस समान ल्याउनमा सहजीकरण गरेको छ । यहाँ उत्पादन हुने त्यस्ता फिनिस सामानको आयातमा रोक लगाउनुपर्छ । नेपालको उत्पादन भएको सामग्रीको प्रयोगमा जोड दिनुपर्छ । सरकारका विभिन्न परियोजनामा प्रयोग गर्ने प्लास्टिकका पाइप आयात गर्दा शून्य भन्सारमा आयात गरेर प्रयोग गरेको अवस्था छ । यदि नेपालमा नै उत्पादन भएका पाइपको प्रयोग गरेको खण्डमा नेपालबाट बाहिरिने पैसा बचाउन सकिने थियो । सरकारले नेपालमा आउने प्लास्टिकको कच्चा पदार्थमा १० प्रतिशतसम्म भन्सार लगाएको छ । यो अन्य देशहरूको तुलनामा हेर्दा एकदमै धेरै भयो । कच्चा पदार्थको भन्सार बिन्दुमा भन्सार वृद्धि गरेर सरकारले राजस्व वृद्धि गर्ने र त्यसबाट यहाँ सिर्जना हुने रोजगारी र उद्योगले पु-याउने योगदान हेर्नु आवश्यक छ ।
प्लास्ट नेपाल फौन्न्डेसनद्वारा करिब तीन वर्षपछि बिहीबारदेखि एक्स्पो आयोजना हुँदै छ । यसले नेपालको प्लास्टिक उद्योगले उत्पादन गरेका सामग्री एक थलोमा अवलोकन गरेर जानकारी प्राप्त गर्न सकिनेछ । एक्स्पोले नेपालको प्लास्टिक उद्योगलाई थप नयाँ उचाइमा पुग्न मद्दत गर्नेछ । सरकारले नेपाली उद्योगलाई प्रमोसन गर्नुप-यो । नेपाली उत्पादनको प्रयोगले विदेशी मुद्राको सञ्चिति गर्नका लागि सहयोग पुग्नेछ । सरकारले नेपाली उद्योगहरूलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्छ । यसले गर्दा सरकार–निजी क्षेत्रको नीतिगत तहमा रहेको खाडल पूरा गर्न सहयोग पु-याउनेछ ।

सरकारले नेपाली उत्पादनको प्रयोगमा जोड दिनुपर्छ
विवेक तातेण
उपाध्यक्ष तथा प्रदर्शनी संयोजक, प्लास्ट नेपाल फाउन्डेसन

नेपालमा प्लास्टिकको इतिहास पनि धेरै पुरानो भइसकेको छ । तर, अहिलेको अवस्थामा आएर हेर्दा नेपाली प्लास्टिक उद्योगहरूले आफूलाई अपडेट गर्न सकेनन् । एउटा प्राविधिक विकास जुन छ, त्यो नेपालमा भित्रिन धेरै समय लाग्यो । पुराना उद्योगहरू जुन अपरेसनमा गएका छैनन्, तर अहिले जुन नयाँ उद्योगहरू आइरहेका छन् तिनीहरू आधुनिक प्रविधिमा विकास भइरहेका छन् । अबचाहिँ सुदृढ हुँदै छौं ।
धेरै पुराना उद्योगहरू जुन छन्, तिनीहरूलाई आधुनिक उद्योगसँग जोड्न अझै समय लाग्छ । १० वर्षभित्र खुलेका उद्योगहरूले राम्रा–राम्रा प्रविधिहरू एडप्ट गरेका छन् । अहिले कच्चा पदार्थ नेपाल भित्रिँदै छ । विकास त भएको छ, तर दिगो हुन सकेकै छैन । पहिलाभन्दा प्लास्टिकजन्य उद्योगमा सुधार भएको छ । तर, धेरै प्लास्टिक उद्योग अझ धेरै आयात हुँदै छ । सरकारको एउटा नीति हुनुपर्छ कि यहाँ बनेका प्लास्टिकलाई कसरी प्रवद्र्धन गर्ने ? अझै पनि कतिपय सम्बन्धित निकायहरूले नेपालमा उत्पादन भएका प्लास्टिकलाई भन्दा विदेशमा उत्पादन भएका प्लास्टिकलाई बढी गुणस्तरीय मान्छन्, विश्वास गर्छन् । त्यसैले बाहिरकै उत्पादनलाई प्राथमिकता दिएर बाहिरबाट ल्याइरहेका छन् । त्यसकारण अलिकति ध्यान दिने हो भने प्लास्टिक उद्योगहरूमा निजी क्षेत्र आकर्षित हुन सक्छन् । हामी आत्मनिर्भर भइसकेका छैनौं । प्लास्टिकजन्य वस्तुहरू आयात भइरहेको छ । जस्तै औषधिजन्य सामग्री आयातसँगै प्लास्टिक पनि त आयात भइरहेको हुन्छ । चस्मा, ब्याग, मोबाइललगायतका चिजहरू पनि त प्लास्टिकजन्य नै हुन् नि ।
नयाँ–नयाँ किसिमका प्लास्टिकजन्य उत्पादन पनि नेपालमा उत्पादन हुन थालेका छन् । कुनै–कुनै क्षेत्रमा त आवश्यकताभन्दा पनि बढी उद्योग आइसकेका छन् । मागका आधारमा पनि प्लास्टिक उत्पादन हुन थालेका छन्, पोलिथिन पाइपहरू छन् । त्यसको पनि राम्रो बजार छ । ४ लाखभन्दा बढी व्यक्तिले प्लास्टिक उद्योगबाट रोजगारी पाइरहेका छन् । लगभग ७५ मिलियनको बजार छ वार्षिक । २० मिलियनजति प्लास्टिक उद्योगमा लगानी छ ।
यस मेलामा भारतका प्लास्टिक उद्योगी तथा व्यवसायीहरू पनि आउनुहुनेछ । आठदेखि दस देशका कम्पनीहरू, जसले भारतमा उत्पादन गरिरहेका छन्, उहाँहरूको पनि सहभागिता हुँदै छ । नेपालको ३५ र भारतको ५८ गरी जम्मा ९३ वटा स्वदेशी तथा विदेशी स्टलहरू रहनेछन् । उद्योगलाई प्रवद्र्धन गर्नका लागि अहिले नयाँ नीतिहरू आएका छन् । कार्यान्वयन कत्तिको हुन्छ, त्यो हेर्न बाँकी छ । तर, अहिले पनि के छ भने नेपालका ठूला भौतिक संरचनाहरू निर्माणको क्रममा नेपालीले आफूलाई ठूला उद्योगहरूमा विकास गर्न सकिरहेका छैनन् । उनीहरूको क्षमता बढाउनुपर्छ । यहाँ पाउने उत्पादनहरू पनि बाहिरबाट आइरहेका छन् । नेपाली प्लास्टिक उद्योगलाई दिगो रूपमा व्यवस्थापन गर्ने नीति लिनुपर्छ । स्वदेशी उद्योगलाई प्रवद्र्धन गरिनुपर्छ ।

प्लास्टिकको पुनप्र्रयोगको नीति बनाउनुपर्छ
शरद टिवडेवाल
निवर्तमान अध्यक्ष, प्लास्ट नेपाल फाउन्डेसन
सन् १९५० देखि नेपालमा प्लास्टिक उद्योगहरू सञ्चालनको क्रममा रहेका छन् । त्यसभन्दा अगाडि नेपालमा प्लास्टिक आयात गर्नुपर्ने बाध्यता थियो, हाल आएर हामी आत्मनिर्भर भएका छौं । यसका अतिरिक्त नेपालमा प्लास्टिकको प्रयोग वृद्धि हुँदै गएको छ । मुलुक संघीयतामा गएसँगै भौतिक संरचना निर्माण हुने क्रममा रहेकाले गर्दा पनि पछिल्लो समय नेपालमा प्लास्टिकजन्य वस्तुको खपतमा वृद्धि भएको छ । यस कारणले गर्दा नेपालको प्लास्टिक उद्योगको विकास हुँदै गएको छ । नेपालका यति नै उद्योग छन् भन्ने यकिन तथ्यांक छैन, करिब ३ हजार भने औपचारिक र औपचारिक उद्योग भएकाले गर्दा । तर, नेपालमा वार्षिक २ लाख ७५ हजार टन प्लास्टिक खपत हुने गरेको छ । नेपालमा प्रोसेसिङमा भएर उत्पादन हुने वस्तु अन्तर्राष्ट्रियस्तरकै रहेका छन् । यसले गर्दा नेपालले उत्पादन भएका वस्तुहरू निर्यातसमेत गर्दै आएको छ । २ लाख ७५ टन, जुन दाना यहाँ प्रशोधन गरेर करिब ४५ हजार टन फाइन फिनिसिङ प्रोडक्ट बनेर भारतमा निर्यात हुँदै आएको छ ।
पुनप्र्रयोग गर्नका लागि सरकारले नै कुनै पनि नीतिगत पहल नगर्दा यसका बारेमा ठोस कदम नचालेको अवस्था हो । यसमा उद्योगीको कुनै दोष छैन, यदि सरकारले रिसाइकल दानालाई फिनिस प्रडक्ट बनाउने कुनै नीति नै नबनाएको हुँदा नेपालमा पुनप्र्रयोगमा जोड दिन नसकिएको हो । पुनप्र्रयोग गर्न सकेको खण्डमा वातावरणको प्रदूषण हुनबाट जोगाउन सकिन्थ्यो । हामी औपचारिक उद्योगहरूलाई नीतिकोे अभावका कारण पुनप्र्रयोग गरेर फिनिस प्रडक्ट बनाउन सक्ने अवस्था छैन, तर अनौपचारिक उद्योगहरूले भने त्यो गरिरहेका छन्, जुन कानुनसम्मत छैन । नीतिगत रूपमा सरकारले पहल नगर्दा औपचारिक उद्योगले पुनप्र्रयोगको उद्योग स्थापना गर्न सकेको छैन । हामी फिनिस प्रडक्टमा, प्याकेजिङमा आत्मनिर्भर भइसकेको अवस्था छ । सरकारले फिनिस प्रडक्ट बनाएर आयात गर्न कच्चा पदार्थमा लगाएको भन्सार दरमा कम गर्नुपर्छ । खुला सिमानाका कारण नेपालमा फिनिस प्रडक्ट भित्रिने गरेको छ । सरकारले कच्चा पदार्थमा लगाउने करका कारण हामीले उत्पादन गरेको वस्तुको उत्पादन कस्ट बढी पर्ने गरेको छ । यसका लागि सरकारले स्वदेशी उत्पानमा जोड र खुला सिमानाका कारण चोरी बाटोबाट आउने फिनिस प्रडक्टमा रोक लगाउनुपर्छ । कच्चा पदार्थको भन्सारमा दरमा कम गरेमा हाम्रो उत्पादनको लागत कम हुनेछ र त्यसरी आउने वस्तुको आयात कम हुने छ । यसले स्वदेशी उत्पादन पनि वृद्धि भएर जानेछ । पुनप्र्रयोगका लागि सरकारले पुनप्र्रयोगका लागि नीति आएको खण्डमा अझ नयाँ उद्योगको स्थापना हुने र वातावरण प्रदूषण नियन्त्रमा सहयोग पुग्ने थियो । पुनप्र्रयोगले रिसाइकिलिङ दाना वृद्धि हुनेछ । यसले गर्दा हामी दाना आयत गर्नका लागि बाहिरिने विदेशी मुद्रा पनि जोगिनेछ । सरकारले नेपालमा प्लास्टिकका बारेका जनचेतना वृद्धि गर्नका लागि स्कुल तथा कलेजमा पाठ्यक्रम निर्धारण गर्नुपर्छ, जसका कारण आम जनमानसलाई प्लास्टिकको प्रयोग र पुनप्र्रयोगको विषयमा जानकारी हुनेछ । साथै, प्लास्टिकको प्रयोग र यसको विकास गर्नका लागि अध्ययन–अनुसन्धान भएर स्कुल, कलेजमा पाठ्यक्रम लागू गरेको अवस्थामा नयाँ सीप तथा ज्ञान प्राप्त भएर दक्ष जनशक्तिको विकासमा टेवा पुग्नेछ ।

सिंगल युज प्लास्टिकको पुनर्प्रयोगमा जोड दिनुपर्छ
राहुलकुमार अग्रवाल
अध्यक्ष, प्लास्ट नेपाल फाउन्डेसन

प्लास्ट नेपाल भनेको नेपालमा प्लास्टिक उद्योग व्यवसायीहरूको गैरनाफामूलक साझा संस्था हो । यसमध्येमा सरकारी, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय एजेन्सीहरूसँगको सहकार्यमा हामीले विभिन्न कार्यक्रम गर्र्दै आएका छौं । मुख्य उद्देश्य भनेको नेपालमा प्लास्टिकको प्रवद्र्धन गर्नका लागि के–कसरी काम गर्न सकिन्छ भनेर हामीले काम गर्दै आएका छौं । साथै प्लास्टिकको सम्बन्धमा नकारात्मक धारणा छ कि वातावरणलाई क्षति ग-यो भनेर यसमा हामीले कसरी जनचेतना जगाउने र प्लास्टिकको पुनर्प्रयोगका विषयमा प्लास्ट नेपालले काम गर्दै आएको छ । खासगरी नेपालमा प्लास्टिक भन्नाले आममानिसमा बिहान तरकारी ल्याउने वा प्रयोग गरेर फाल्ने भन्ने मात्र बुझाइ छ । प्लास्टिक भनेको हाम्रो दैनिक जीवनयापनका लागि एकदमै महत्वपूर्ण वस्तु भएको छ । बिहान उठेदेखि प्रयोग हुने चस्मादेखि लिएर बेलुकासम्म प्रयोग हुने विभिन्न वस्तुहरू प्लास्टिककै प्रयोग गर्दै आएका छौं । हामीले प्रयोग गर्ने सबै खाले सामग्रीहरू चाहे त्यो मोबाइल गाडी नै किन नहोस्, हाल हामीले प्रयोग गर्ने सबै सामग्री प्लास्टिककै प्रयोग हुँदै आएको छ । प्लास्टिक भनेको दीर्घकालीन रूपमा पनि प्रयोग गर्ने गरी विकास भएको छ । फर्निचर भनेको पाँचदेखि सात वर्ष पनि प्रयोग गर्न मिल्ने खालको रहेको छ । यसको कस्ट इफेक्टिनेसले पनि हेर्नुपर्ने हुन्छ । यसका सकारात्मक कुरालाई लिएर प्लास्टिकको प्रयोगमा जोड दिनु आजको आवश्यकता हो ।
प्लास्टिकको पुनप्र्रयोगमा सरकारी तथा जनस्तरबाट नै सचेतनामा जोड दिनुपर्छ । पुनप्र्रयोगमा जोड दिएको खण्डमा प्लास्टिकले वातावरण ह्रासमा गर्ने क्षति कम गर्न सकिन्छ । यो सामान्य प्रक्रियालाई जोड दिएर नै हामीले प्लास्ट नेपालको स्थापना गरेको हो । एक्स्पो पनि हामीले नयाँ प्रविधिको प्रयोगमा जोड, नयाँ वस्तु तथा मेसिनको प्रयोग गरेर उत्पादन वृद्धि गर्नेलगायतका जानकारी प्राप्त गर्नका लागि आयोजना गरेको हो । हामीले यो एक्स्पोबाट जानकारी प्राप्त गर्ने नै छौं । यसका अतिरिक्त आमउपभोक्ताले पनि प्लास्टिक र त्यसको उत्पादनका बारेमा एकै थलोमा जानकारी दिनेछ । यसले गर्दा उद्योगीहरूलाई पनि उपभोक्ताको माग र आवश्यकताका बारेमा जानकारी प्राप्त हुनेछ । नेपालमा हामी प्लास्टिकजन्य पदार्थमा आत्मनिर्भर भइसकेका छौं । हामीकहाँ सबैजसो प्याकेजिङ दूध, तेल, खाद्यान्न तथा अन्य सबै खाले प्याकिङका पाइप फिटिङका सामानमा हामी पाँच वर्षअघि नै आत्मनिर्भर भइसकेका छौं । यसरी उत्पादन हुने वस्तुहरूमा हामीले खानेपानी ट्यांकी, पाइप, बोतल, मेडिसिन बोतललगायतका अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय सामान उत्पादन गर्दै आइरहेका छौं । साथै, फिनिस प्रोडक्ट बनाउनका लागि हामीलाई चाहिने कच्चा पदार्थ आयातमा सरकारले दुई तहको भान्सार शुल्क लगाएको छ । यसमा कम गर्नुपर्छ । सरकारले हामीजस्ता उद्योगीलाई निरन्तर विद्युतको आपूर्ति गर्न सकेको खण्डमा अझ हाम्रो उत्पादकत्वमा वृद्धि भएर दुई वर्षमा अझ अरू सामग्रीमा आत्मनिर्भर हुने थियो भने निर्यात गर्ने वातावरण पनि विकास हुनेछ । सरकारले हामीलाई भन्सारमा कमी गर्नुप-यो, विद्युत् आपूर्ति निरन्तर गर्नुप-यो, निर्यातका लागि पनि सरकारले लाभांश दिएको खण्डमा अझ राम्रो हुने थियो नै, यहाँ उद्योगको विकास र रोजगारीमा सहयोग पनि पुग्ने थियो । सिंगल प्लास्टिकको प्रयोग बढ्दो मात्रामा रहेको छ । यसको पुनप्र्रयोग गर्नका लागि सरकार र निजी क्षेत्र मिलेर पुनःप्रशोधन गर्ने उद्योग विकास गर्नुपर्छ । नेपालमा मात्र हैन, विश्वभर नै पुनप्र्रयोग गर्न उद्योगको विकास भएका छन् । सरकारले नेपालमा पनि पुनप्र्रयोगका लागि उद्योगको स्थापना गर्न र नीतिगत व्यवस्था बनाउनमा सहयोग गर्नुपर्छ । यसले नेपालको प्लास्टिक उद्योगको दीर्घकालीन विकास गर्नमा सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्