बलात्कारी कठघरामा ! «

बलात्कारी कठघरामा !

एकपछि अर्को गर्दै बलात्कारको पीडा खेप्दै बसेका महिलाहरू खुल्न थालेका छन् । वर्षौंदेखि पीडा सहेर बस्न बाध्य भएकाहरू पीडालाई उजागर गर्दै बलात्कृतलाई कानुनी कारबाहीको कठघरामा ल्याउन पीडित सक्रिय बनेका छन् । नेपाली सिने जगत्मा नाबालिका बलात्कारको घटनाले किनारा नपाउँदै सिने जगत्मै अर्को सनसनीपूर्ण बलात्कारको घटना सार्वजनिक भएको छ । यतिबेला सम्पूर्णको ध्यान त्यस घटनातर्फ केन्द्रित भएको छ, जसले सडक अनि संसद्मा समेत स्थान पाएको छ । जसले गर्दा पीडितले न्याय पाउने सम्भावना बलियो बनेको छ । यो घटनालाई चासो दिँदै कलाकर्मीले पनि पीडितको पक्षमा आवाज उठाएका छन् । घटना निकै पुरानो हो, सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई पटक–पटक बलात्कार गरेको भन्दै पीडितले घटना सार्वजनिक गरेकी छिन् । सोही घटनाको आरोपमा पक्राउ परेका मनोज पाण्डेले बलात्कार प्रयास गरेको भन्दै थप दुई जना महिला प्रहरीको सम्पर्कमा समेत पुगेका छन् ।
कार्यक्रमको ‘सक्सेस पार्टी’ को नाममा एभरेस्ट होटलमा नशालु पदार्थले लठ्याई बलात्कार गरेको भन्दै पीडितले सामाजिक सञ्जालमार्फत आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ त गरेको छ, तर अब कानुनी रूपमा कुन ढंगबाट अगाडि बढ्छ अनि पीडितले न्याय पाउँछ कि पाउँदैन, यो महत्वको कुरा हो । त्योभन्दा महत्वपूर्ण त पीडितले मनमा गुम्स्याएर राखेको पीडालाई सार्वजनिक गर्नु सबैभन्दा ठूलो कुरा हो ।
पछिल्लो समयमा नेपालमा बलात्कारका घटना निकै बढ्दै गएको छ । नियमितजस्तो यस्ता घटनाहरू सञ्चारमाध्यममा देखिने गरेका छन् । बलात्कारका घटना बढिरहनु भनेको हामी महिला यो समाजमा अझै पनि सुरक्षित नरहनुको उदाहरण हो । एउटा शिक्षित महिला बलात्कारजस्तो जघन्य अपराधको घटना वर्षपछि मात्र सार्वजनिक गर्न आँट गर्छे भने कल्पना गर्नुस्, यो समाजमा कति यस्ता घटनाहरू होलान् जसले भित्रभित्रै गुम्स्याउन बाध्य बनाइरहेका छन् ।
नेपालमा बलात्कार भएका घटनाका प्रकृति हेर्दा यौनपिपासुहरूले कुनै उमेरसमूहलाई छोडेका छैनन् । ती अपराधी मनस्थिति बोकेका व्यक्तिहरूले आफ्नै छोरीचेलीको अस्तित्वमाथि रजाइँ गर्नसमेत पछि परेका छैनन् । नाबालिगमाथि गिद्धे नजर लगाउने तथा जबरजस्ती यौनशोषण गरी पुरुषार्थ देखाउने यो समाजका पुरुषको सोचाइ, विचारमा कहिले परिवर्तन आउँछ ? ती पुरुष भनाउँदाहरूबाट हामीजस्ता छोरी, चेली, दिदी, बहिनी, आमा, हजुरआमा कहिलेसम्म बलात्कृत बनिरहने ? स्वतन्त्र रूपमा बाँच्न पाउने हाम्रो नैसर्गिक अधिकारबाट कहिलेसम्म वञ्चित रहिरहने र यो समाजमा डराई–डराई कतिन्जेल बाँच्ने ?
यो समाजमा नारी आफ्नै परिवारमा, टोलमा, समाजमा, धार्मिक स्थलमा, शिक्षण संस्थामा, कार्यालयमा, सडकमा, मैदानमा असुरक्षित बन्दै जाँदा एउटी आमाले आफ्नी छोरीलाई कसरी सुरक्षित रूपमा हुर्काउन सक्छे ? एक शिक्षक जसले आफ्नै विद्यालयको विद्यार्थीलाई छोड्दैन, सहकर्मी पुरुष साथीले महिलामाथि गिद्धे नजर लगाउन छोड्दैन भने नारी यो जगत्मा कसरी सुरक्षित बन्न सक्छे ?

प्रतिक्रिया दिनुहोस्