सेवाको भावना भएमात्रै विकास हुन्छ : पौडेल «

सेवाको भावना भएमात्रै विकास हुन्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि बुधबार आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने उल्लेख गरे ।
जनताले सेवक बन्नका लागि निर्वाचनमार्फत मत दिएकाले जनताको सेवक बनेर काम गर्न वरिष्ठ नेता पौडेलले आग्रह गरे । ‘जनप्रतिनिधिले हामीहरू जनताको शासक होइन, सेवक हौँ भन्ने भावना जागृत गर्नुपर्छ, त्यसो भएको खण्डमा मात्रै विकास गर्न सकिन्छ,’ उनले भने ।
वरिष्ठ नेता पौडेलले व्यास नगरपालिकालाई सौन्दर्य भर्ने काममा अग्रसर हुन जनप्रतिनिधिलाई आग्रह गरे । जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी भएकाले उक्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुपर्ने उनको जोड थियो । ‘समाज विकासका लागि आफैं अग्रसर हुनुपर्छ, त्यसको जिम्मेवारी जनताले दिएका छन् । समाजका लागि केही गर्नुपर्छ भन्ने संकल्प बोक्नुपर्छ,’ उनले भने ।
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले आर्थिक समृद्धि र विकास एउटै मात्र लक्ष्य रहेकाले त्यसलाई पूरा गर्नेतर्फ लाग्न आग्रह गरे । व्यास नगरपालिकाको फोहरमैला समस्याका रुपमा रहेकाले त्यसलाई समाधान गर्नेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्