पाँच सचिवको सरुवा «
Logo

पाँच सचिवको सरुवा

सरकारले पाँचजना सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतकर्ता केन्द्रको प्रमुख अधिकृत पदमा सरुवा गरिएको बताए ।
त्यसैगरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा र प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालयको सचिवमा, राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत सुशीलचन्द्र तिवारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।
त्यसैगरी नेपाल ट्रष्टको कार्यालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । सरकारका प्रवक्ता कार्कीले संयुक्त राज्य अमेरिकामा आयोजना हुने साइबर सेक्युरिटि लिडरसीप प्रोग्राम तथा तालिममा सहभागी हुन नायब महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।
सरकारले सार्वजनिक हितका लागि २५ आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने र बुधबारदेखि आयोजना हुने भारत–चीन कूटनीतिक परामर्श संयन्त्रको भर्चुअल माधयमको १४औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरी यही जेठ २९ देखि आगामी असार ५ गतेसम्म जर्मनी, बेल्जियम र फ्रान्समा हुने कृषि, फलफूल र सहकारीसम्बन्धी कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति प्रदान गर्ने सरकारको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्