कुरितीविरुद्धको अभियानमा किशोर–किशोरी «

कुरितीविरुद्धको अभियानमा किशोर–किशोरी

जुम्ला – समाजमा विद्यमान छाउप्रथा, बालविवाह, लैगिक विभेदलगायतका कुरिती अन्त्यका लागि सिंजा क्षेत्रका किशोर किशोरी जुटेका छन् । सामाजिक कुरितीले बालबालिकाको शारिरिक मानसिक तथा स्वास्थ्य शिक्षा रोजगार लगायतका अबसरबाट बन्चित भएको भन्दै समृद्ध समाज निर्माणका लागि सिंजाका किशोर किशोरी कुरिती विरुद्धको अभियानमा जुटेका हुन् ।
प्लान नेपालको आर्थिक सहयोग तथा आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपालद्वारा सञ्चालित निर्णय र नेतृत्व परियोजनामार्फत सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका १० वटा वडामा ४० वटा कक्षा सञ्चालन गरी झन्डै १ हजार किशोर किशोरीलाई कुरितीविरुद्ध सचेत बनाईएको छ ।
निर्णय र नेतृत्व परियोजनाले सिंजा क्षेत्रका १ हजार किशोर किशोरी बाल विवाह न्यूनीकरण, यसका असर, छाउप्रथा अन्त्य, लैगिक हिंसा अन्त्य, बालमैत्रीपूर्ण नीति निर्माणका लागि पैरबी र वकालत गर्ने लगायतका कामका लागि सचेत भएका छन् ।
केहि वर्ष पहिला सम्म सिंजा, हिमा र कनकासुन्दरीका ग्रामिण बस्तीमा विद्यमान कुरिती अन्त्यका लागि परिवर्तनका सम्बाहक किशोर किशोरी र निर्णय र नेतृत्व परियोजनाले उल्लेखीय सुधार ल्याएको छ ।
कुरितीविरुद्ध नैतिक तथा बौद्धिक बहसका लागि सिंजा क्षेत्रका तीन पालिकाका १ हजार किशोरी किशोरी सामाजिक अभियान्ता र परिवर्तनका सम्बाहकका रुपमा तयार भएका छन् । जसमा हिमा गाउँपालिकाका ३ सय किशोरी र २ सय किशोर,सिंजाका १ सय किशोर १ सय किशोरी र कनकासुन्दरी गाउँपालिकाका २ सय किशोर र १ सय किशोरी गरी १ हजार परिर्वतनका सम्बाहक तयार भएका छन् ।
उनीहरूले गाउँमा हुने विभिन्न कुरितीका विरुद्धमा पैरवी गरिरहेका छन् । जसले गर्दा पछिल्लो समय कनकासुनदरीका वडा नं. ३,५ र ८ नम्बर वडाका विभिन्न वस्ती, सिंजाका वडा नंं. ३ र ६ का बस्ती र हिमाका १,३,४,५ र ७ वडाका बस्तीहरू बाल विवाह मुक्त गाउँ बनाउने तयारीमा स्थानीय निगरानी समिति र किशोर किशोरी लागि परेका छन् ।
परियोजनाले कुरितीका विरुद्धमा वकालत मात्र गर्न सिकाएको छैन । कनकासुन्दरी ३ की किशोरी अन्जली बुढाले भनिन्, “सामाजिक सशक्तीकरण, क्षामता विकास र बालमैत्री नीति निर्माणका लागि पनि हामी सक्षम भएका छौ । बालविबाह र छुईप्रथा गर्ने असरका विषयमा पनि सहजै बहस पैरबी गर्न सक्षम छौ । अब वर्तमान समय र भविष्यमा हाम्रो गाउँघरमा बाल विबाह गर्दैनौ र गर्न दिन्नौ भन्ने अभियानका साथ समेत अघि बढीरहेका छौं ।”
क्याडले सामाजिक कुरिती अन्त्यका लागि सिंजा क्षेत्रका युवा युवतीलाई दिएको जस्तो जाँगरण शिक्षा जुम्लाका सबै स्थानीयतह यस्ता व्यवहार परिवर्तन सहितको शिक्षा दिने कार्यक्रममा जोड दिन किशोर सिंजा गाउँपालिका ४ का भरत बुढाको जोड छ ।
अस्मिता बुढा, सक्सेस बुढा, सिर्जना शाही र श्रृष्टि शाही लगायतका किशोर–किशोरीले निर्णय र नेतृत्व परियोजनाले सामाजिक कुरितीविरुद्ध वकालत गर्न कानुनी तथा सैदान्तीक ज्ञान पाएको बताएका छन् । आफू पनि बाल विवाह छुई प्रथा नमान्ने अलाई पनि गर्न नदिने उनीहरूको प्रतिबद्धता छ ।
क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाईजर शेर बहादुर रोकायाले निर्णय र नेतृत्व परियोजनाको अपेक्षित लक्ष्य हासिल भएको बताए । उनका अनुसार कार्यक्षेत्रका तिनै पालिकाका गाउँमा अहिले बाल विवाह गर्न हुँदैन्, महिनाबारी भएको बेला गोठमा बसाल्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ ।
मुख्य उपलब्धिका रूपमा सिंजाका तीन पालिकाका १ हजार परिवर्तन सम्बाहकका तयार गरेका छौं । जसमा १० वर्षदेखि १५ सम्मका ५ सय र १६ देखि २४ वर्ष उम्मेरका ५ सय गरी १ हजार परिवर्तनका सम्बाहक तयार भएका हुन् । उनीहरूले परियोजनाको लक्ष्यलाई सफल बनाउन आफ्नो गाउँघरमा कुरिती अन्त्यका लागि उल्लेखीय काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्