देउमाई र फाकफोकथुम आइतबार सार्वजनिक बिदा नहुने
इलाम – इलामको देउमाई नगरपालिका र फाकफोक थुम गाउँपालिकामा आइतबार सार्वजनिक बिदा नदिइने भएको छ । स्थानीय तह सदस्य निर्वाचनपश्चात् पद बहाली गर्दै दुई पालिकाका प्रमुखहरूले यस्तो घोषणा गरेका हुन् ।
देउमाई नगरपालिकाका मेयर सूर्यप्रसाद पोख्रेल र फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले पदबहालीसँगै यस्तो घोषणा गरेका छन् ।
नेपाल सरकारले इन्धनको मूल्य महँगो भएको भन्दै यसलाई कम प्रयोग होस् भनेर आइतबार समेत सार्वजनिक बिदा गरेको थियो । शुक्रबार समेत पूरै समय कार्यालय सञ्चालन हुने, अन्य दिनसमेत एक–एक घण्टा समेय थपेर यस्तो निर्णय गरेको थियो । तर दुई पालिकामा प्रमुखहरूले पदबहाली गर्दै यस्तो बताएका छन् । उनीहरूले जनताको रुचिअनुसार नै यस्तो घोषणा गरिएको बताएका छन् ।
सरकारी कार्यालय तथा विद्यालयहरूलाई पहिले जस्तै शनिवार मात्र बिदा गर्न निर्देशन दिइएको छ ।
दोस्रो कार्यकालका लागि पदवहाली गर्दै देउमाई नगरपालिकाका प्रमुख सुर्य प्रसाद पोख्रेलले नगरपालिका भित्र सम्पूर्ण गर्भवती महिलाहरूलाई सुरक्षित रूपमा सुत्केरी गराउनका लागि अस्पताल सम्म निःशुल्क लैजाने व्यवस्था गरिएको बताए । यसका लागि नगरपालिकामा एम्बुलेन्सको संख्या थप गरिने बताए । देउमाई नगरभित्र रहेका फुसका छानाहरूलाई बिस्थापित गर्दै लागत सहभागिताको आधारमा नगरपालिकाबाट जस्ता पाता वितरण गरिने बताए ।
फाकफोकथुम गाउँपालिका नव निर्वाचित अध्यक्ष खनालले तीनबुँदे आदेश पत्र समेत प्रस्तुत गरेका छन् । सार्वजनिक बिदा लगायत गाउँपालिका भित्र रहेका सम्पूर्ण फुसका छाना एक वर्ष भित्रमा विस्थापित गरिने गरी काम गरिने बताए । पदबहाली पश्चात उनले गाउँपालिकामा लाग्ने शुक्रबारे (हटिया) बजारलाई धुलो र हिलो मुक्तबनाउन तत्काल पक्की गर्न काम अगाडी बढाइने समेत बताएका छन् ।