विदेशमा बनाएको योजनाले व्यवसायी बनायो «

विदेशमा बनाएको योजनाले व्यवसायी बनायो

रोजगारीका शिलसिलामा विदेश पुगेका बेला बनाएको योजनाले दाङका एक युवा अहिले सफल व्यवसायी बनेका छन् । घोराही उपमहानगरपालिका–१३ वडहराका दीपकुमार बुढा विदेशमा गएको समयमा बनाएको योजनाले अहिले व्यावसायिक कृषक बन्न सफल भएका हुन् । उनी अहिले गाउँमा ‘माहुरीवाला’ को नामबाट समेत परिचित भएका छन् ।
बुढा रोजगारीको सिलसिलामा २०५५ सालमा साइसन पुगेका थिए । सोही स्थानमा व्यावसायिक माहुरीपालन देखेर उनी पनि माहुरीपालन व्यवसायमा आकर्षित भएका थिए । व्यावसायिक माहुरीपालन गर्ने योजनासहित नेपाल फर्किएका उनी अहिले राम्रो आम्दानीसमेत गर्न सफल भएका छन् ।
विदेशमा रहँदा व्यावसायिक माहुरीपालनसम्बन्धी जानकारी लिन विदाका दिन माहुरीपालन गर्ने कृषकसँग भेट गर्ने गरेको उनी बताउँछन् । त्यसैगरी कृषकहरूसँग केही पुस्तकसमेत ल्याएर बढेका थिए । त्यसले उनलाई थप प्रेरणा दिएको थियो । माहुरीपालन गर्न विदेशमा रहँदा नै उनले इन्टरनेटबाट माहुरीपालनसम्बन्धी जानकारी लिएका थिए ।
स्वदेश फर्किएपछि उनले २०५७ साल असोजदेखि माहुरीपालन व्यवसाय सुरु गरेका हुन् । सुरुमा १० घार माहुरीका घारबाट उनले व्यवसाय सुरु गरेका थिए । “थोरै रकमबाट पनि व्यवसाय सुरु गर्ने सकिने भएकाले माहुरीपालन व्यवसाय सुरु गरेको हुँ,” बुढाले भने । अहिले उनले १ सय ३५ घार माहुरी पालेका छन् । त्यसबाट उनले वार्षिक २५ लाख रुपैयाँको कारोबार गर्ने गरेका छन् । “माहुरीपालनबाट वार्षिक ६ लाख रुपैयाँ बचत हुने गरेको छ,” बुढाले भने, “यो व्यवसायबाट घर परिवार चलाउन सहज भएको छ ।” माहुरीपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएका उनले आफ्नै परिवारका चार जनालाई पनि यही व्यवसायमा संलग्न गराएका छन् ।
अन्य खेतीभन्दा माहुरीपालन व्यवसाय राम्रो भएकाले आफूले व्यवसाय सुरु गरेको बुढाले बताए । “थोरै लगानीबाट सुरु गरे पनि धेरै आम्दानी गर्ने सकिन्छ,” उनले भने । माहुरीपालनसम्बन्धी जानकारी नभएकाले धेरैले माहुरी पालन व्यवसाय गर्दा उनीहरूले बीचमै छाड्ने गरेको उनको भनाइ छ । यसका बारेमा जानकारी लिएर व्यवसाय सुरु गरेमा सफल भइने उनको ठम्याइँ छ ।
दाङ माहुरीपालन गर्न उपयुक्त थलो भएकाले अरू किसानलाई सोही व्यवसायमा संलग्न हुन उनले सुझाव दिने गरेका छन् । माहुरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि उनले २०६३÷६४ सालबाट राप्ती मौरीपालन केन्द्र स्थापना गरेर माहुरीपालनका लागि आवश्यक सामग्रीसमेत बिक्री वितरण गरी छन् । उनले अहिले माहुरीपालनसँगै मह उत्पादन, संकलन, सेरानाको घार, मेलिफेराको घार निर्माण तथा बिक्री वितरण गरिरहेका छन् । त्यसैगरी मौरी टोपी, हुल समाउने झोला, घारका खुट्टा, धुवा दानी, आधार चाका, माइग्रेसन नेट, रानु ढोका पिँजडा, मौरी फेम उत्पादन र बिक्रीसमेत उनले गर्दै आएका छन् ।

अमरराज आचार्य

प्रतिक्रिया दिनुहोस्