नीति तथा कार्यक्रमले मुलुकका समस्या समाधान गर्दैन : पौडेल «

नीति तथा कार्यक्रमले मुलुकका समस्या समाधान गर्दैन : पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन् ।
पूर्व अर्थमन्त्री पौडेलले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/०८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताए । उनले नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गरे । उनले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएको उल्लेख गर्दै बालुवा चुसेजस्तो निरश भएको टिप्पणी गर्नुभयो । “गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ । यो इतिहासकै सबैभन्दा नालायक, सारहिन, गन्तव्य, दिशाबिहिन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरश छ” उनले भने, “यसमा कुनै दृष्टिकोण छैन । कुनै गन्तव्य छैन । यसले मुलुकका आजका समस्या चिनेको छैन । समाधान दिने यसमा कुनै दृष्टिकोण छैन । समयको अपव्यय मात्रै हो यो ।”
पौडेलले सरकारले अवलम्वन गरेका नीति तथा निर्णयहरुका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको बताए । उनले आर्थिक संकटको बारेमा सरकार मौन रहेको बताए । उनले विगतमा सकारले गरेका राम्रा कामहरुलाई यस सरकारले निरन्तरता नदिइ नीति तथा कार्यक्रम पूर्वाग्रही रुपमा ल्याएको पनि बताए । “आजका आर्थिक संकटको कारणको बारेमा यो सरकार पस्नै चाहँदैन । किनभने यो सरकारकै कारणले गर्दा, यसले अवलम्वन गरेका नीतिका कारणले गर्दा, यसले गरेका निर्णयहरुका कारणले गर्दा मुलुक आर्थिक रुपमा यो भयानक संकटको सम्मुखमा आइपुगेको छ” उनले भने, “यो नीति कार्यक्रम पूर्वाग्रही पनि छ । सरकार निरन्तरतामा चल्ने, बुझिने चिज हो । तर हिजोका राम्रा कामहरुलाई यसले निरन्तरता दिन चाहेको छैन ।”
नीति तथा कार्यक्रमले विगतमा अगाडी बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरुका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उनको भनाइ छ । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुलाई अगाडी बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको उनले आरोप लगाए । स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको उल्लेख गर्दै उनले निष्पक्ष, भयरहित र स्वतन्त्र बातावरणमा निर्वाचन सम्पन्न भयो भनेर जनतालाई गुमराह गर्ने कोशिस भएको बताए । नीति कार्यक्रम भाषिक दृष्टिकोणले पनि कमशल रहेको उनले बताए । यसले मुलुकलाई कुनै नतिजा दिन नसक्ने उनले दाबी छ ।
पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु हुने बताए । आगामी निर्वाचनमा गठबन्धनको पटाक्षप हुने उनले बताए । आगामी निर्वाचन पछि नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने उनले दावी गरे । उनले नीति तथा कार्यक्रमले मुलुकको आर्थिक संकटका कारणहरुलाई चिनेर त्यसको निराकरण गर्नेगरी ल्याउनुपर्नेमा त्यसो हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्