Logo

सगरमाथाको प्रवेशद्वार जिरीको पर्यटन सुस्तायो


दोलखा-कुनै बेला सगरमाथाको प्रवेशद्वारको रुपमा चिनिने दोलखाको जिरी बजार आजभोली सुस्ताउँदै गएको छ ।
२०४४ सालमा पक्की सडक तयार भएपछि गाडीमा जिरीसम्म आएका विदेशी पर्यटकको सगरमाथा क्षेत्रको पैदलयात्रा तय हुन्थ्यो । त्यसैले पनि जिरीलाई सगरमाथाको प्रवेशद्वार भनिएको हो ।
यातायातको विकल्पको रुपमा रहेमा रहेका एक मात्र सडक यातायात जिरीसम्म मात्र थियो । त्यसबेला जिरीमा विमानस्थल समेत हुँदा यहाँबाटै पर्यटक सगरमाथा जाने गर्थे । रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु जाने आउने पनि यही जिरीबाटै यात्रा तय हुन्थ्यो । त्यसैले यहाँको व्यापार व्यवसाय पनि फस्टाएको थियो । तर अहिले परिस्थिति फेरिएको छ । जिरीभन्दा अगाडी सबैतिर सडक सञ्जाल पुगेको छ । काठमाडौंबाटै छोटा मार्गहरुबाट सडकले जोडिएका छन् । हवाइ यातायात पनि लामो समयदेखि बन्द छ । यसले अहिले विदेशीको अनुहार देख्नै मुस्किल पर्छ । पर्यटक लक्षित व्यापार पनि स्वदेशी पर्यटकले धानेका छन् ।
जिरीमा लामो समय होटल व्यवसाय गर्दै आएका विजय जिरेलले विगतमा दैनिक ५० देखि एक सय जनासम्म विदेशी आउँदा सीमित होटल खचाखच हुने भएपनि अहिले आन्तरिक पर्यटकले नै होटल धानिरहेको बताए ।
सगरमाथा प्रवेश मार्ग भनेर विगतको परिचय बदल्नु पर्ने अवस्था आएको छ । पर्यटकीय नगरीको रुपमा पुरानो परिचय बनाएको जिरीमा अहिले पनि स्वदेश पर्यटक आउँछन् । तर पर्याप्त गन्तव्य छैन । त्यसैले स्वदेशी पर्यटकहरुको बसाइ पनि लम्बिन सकेको छैन । व्यवसायीहरु पनि अब विदेशीको भर पर्नु भन्दा पनि जिरी आसपास रहेका हनुमते क्षेत्र, चेर्दुङ, जिरेश्वरी मन्दिरलगायतको प्रचार प्रसार गरी त्यहाँसम्म पुग्ने पूर्वाधार विकास गर्नुपर्नेमा जिरी उद्योग वाणिज्य संघका सचिव दिपक कार्कीले जोड छ ।
जिरीसम्म पुग्ने पुराना सडक विस्तार गरी फराकिलो भएको छ । भूकम्पले ढलेका घरहरु आधुनिक बनेका छन् । नयाँ र पर्यटकीय स्तरका होटलहरु पनि बनेका छन् । ५ वर्षअघि जिरीमा निर्वाचित जनप्रतिनिधिले ग्रिन जिरी, क्लिन जिरी र अर्गानिक जिरीको नारा दिए । जिरी ताललगायतका ठूला सपना पनि बाँडे । तर यो नारामै सीमित हुँदै ५ वर्ष बित्यो । भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पनि नयाँ जनप्रतिनिधि आएका छन् । उनीहरुले पनि जिरीको समृद्धिका नारा दिएका छन् । तर केही व्यवसायिहरु जिरीको पुरानापर्यटन र व्यापारको साख फर्काउन स्थानीय सरकारले नै काम गर्न नसकेको आरोप लगाउँछन् । प्राकृतिक संरचनाहरु व्यवस्थित गर्दै मनोरञ्जन स्थलको समेत व्यवस्था गर्नु पर्छ ।
दोलखा उद्योग वाणिज्य संघ जिरी शाखाका पूर्व अध्यक्ष भूमिराज खड्काले ५ वर्षमा पर्यटन विकासका लागि स्थानीय सरकारले खासै कामै गर्न नसकेको आरोप लगाए । उनले पर्यटकहरुको बसाइ लम्ब्याउनका लागि स्थानीय सरकारले पूर्वाधार निर्माण र प्रचार प्रसारमा ध्यान दिनु पर्ने बताए ।
जिरीमा पर्यटकीय क्षेत्र विस्तारका लागि बागमति प्रदेश सरकारले हनुमन्ते क्षेत्रसम्मपुग्ने पदमार्ग निर्माण, हनुमानको प्रतिमा स्थापना, खावामा भ्यूटावर निर्माण लगायतको संरचनातयार गर्दै छ । स्थानीयस्तरबाट पनिजातीय संग्राहालय निर्माण भएको छ ।
व्यवस्थित अस्पताल प्राविधिक शिक्षालय, पशु फारामलगायतका सरकारी पूर्वाधार पनि छन् । जिरेल र शेर्पा जातिको सास्कृतिक थलो पनि हो । तर भएका प्राकृतिक स्थानको प्रचार प्रसार गरी पर्यटकको बसाइ लम्ब्याउने कार्यक्रम र योजना जिरीका लागि आवश्यक छ । यसका लागि स्थानीयहरु आफैं सक्रिय हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्