विराटनगरको वृहत्तर विकासमा केन्द्रीत हुन उद्योग संगठनको सुझाव

उद्योग संगठन मोरले विराटनगरको वृहत्तर विकासलाई मध्यनजर गरी तत्कालीन र मध्यकालीनमा कार्यलाई प्राथमिकतामा राख्न नवनिर्वाचित मेयर तथा उपमेयरलाई सुझाव दिएको छ ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत जनतासँग प्रत्यक्ष सम्वन्ध राख्ने सडक, खानेपानी, फोहर व्यवस्थापन, बाढी नियन्त्रण, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा सर्वसाधारणलाई अनुभूति हुने गरी सुधारका कार्य गर्न सुझाव दिए । अध्यक्ष प्याकुरेलले अवैज्ञानिक तवरमा सडक, नाला लगायतका पूर्वाधार निर्माण नभएकाले सानो तिनो वर्षामा समेत विराटनगर डुवानमा पर्दै आएको बताउँदै महानगरपालिकाको पूर्वाधार विकास गर्दा विज्ञहरुको सुझाव लिई दीर्घकालिन सोचका साथ काम गर्न अनुरोध गरे ।
उनले रुग्ण अवस्थामा रहेका घरेलु तथा साना उद्योगहरु पुनः संचालनमा ल्याउन आग्रह् गरे । एकीकृत कर प्रणालीको व्यवस्था, महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुको बिक्री वितरणका कक्ष निर्माण गर्नुपर्ने भन्दै अध्यक्ष प्याकुरेलले स्र्टापअपहरुको प्रवद्र्धनका माध्यमबाट युवाहरुलाई उद्यमशिलता विकासतर्फ अभिप्रेरित गर्ने कार्यक्रम लागु गर्न मेयर कोइरालालाई आग्रह गरे ।
नवनिर्वाचित मेयर कोइरालाले औद्योगिक नगरमा रुपमा परिचत विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण कार्य आफनो प्राथमिकतामा पर्ने भएकाले पाँच वर्षे कार्यकालमा जसरी पनि निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । नयाँ योजनासहित विराटनगरमा रुग्ण अवस्थामा रहेका कुटिर तथा घरेलु उद्योग सञ्चालनमा ल्याउन आफु लागि पर्ने बताउँदै उनले कर दरहरु घटाउँदै दायरा फराकिलो पार्ने कार्ययोजना रहेको बताए ।
अबका दिनमा विराटनगरको पूर्वाधार विकास गर्दा समग्र क्षेत्रलाई प्रभाव नपर्नेगरी विशेषज्ञहरुको राय, सुझाव लिई वैज्ञानिक पद्धति अनुरुप गरिने, युवाहरुका लागि स्थानीय स्तरमा रोजगारका अवसरहरु सिर्जना गर्ने वातावरण तयार गर्ने बताए । उनले आगामी पाच वर्षमा विराटनगरलाई देशकै नमुना शहरको रुपमा विकसित गर्ने योजना रहेकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।