वैदेशिक व्यापारमा भारतसँग उच्च निर्भरता

नेपालले विश्वका १ सय ६६ मुलुकसँग अन्तरदेशीय व्यापार गर्दै आए पनि छिमेकी देश भारतसँगको व्यापारिक निर्भरता निकै उच्च छ । कुल आयात तथा निर्यात दुवै क्षेत्रमा भारतसँगको निर्भरता उच्च रहेको तथ्यांकले देखाउँछ ।
एकै मुलुकसँगको ठूलो निर्भरता जोखिमपूर्ण हुने सरोकारवालाहरु बताउँछन् । यद्यपि, खुला सीमा र सहज व्यापारिक सुविधाका कारण वैदेशिक व्यापारमा नेपालका लागि भारत निर्विकल्प रहेको व्यवसायीहरुको भनाइ छ ।
भन्सार विभागका अनुसार वैशाख मसान्तसम्ममा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको आयात गरेको छ भने सोही अवधिमा १ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु निकासी गरेको छ । नेपालको मुख्य व्यापारिक साझेदार देश भारतबाट वैशाखसम्म झन्डै १० खर्ब बराबरको वस्तु आयात गरेको छ । विभागका अनुसार यस अवधिमा भारतबाट मात्र ९ खर्ब ९५ अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएको छ भने नेपालबाट भारततर्फ १ खर्ब ३७ अर्ब १७ करोड रुपैयाँ बराबरको सामग्री निकासी गरेको छ । यसअनुसार आयाततर्फ भारतको हिस्सा ६२.०२ प्रतिशत हो भने निर्याततर्फ ७९.१३ प्रतिशत हो । गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने आयाततर्फ भारतसँगको हिस्सा ६३.९७ प्रतिशत र निर्याततर्फ ७५.३७ प्रतिशत रहेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको नेपाल–इन्डिया ज्वाइन्ट बिजनेस फोरमका अध्यक्ष भवानी राणा भारतसँग सामाजिक सम्बन्ध बलियो रहेका कारण आर्थिक सम्बन्ध पनि स्वाभाविक रुपमा विस्तार भइरहेको बताउँछिन् । भारतसँगको खुला सीमा तथा सांस्कृतिक समानता तथा भाषालगायतको सहजताका कारण अन्तरदेशीय व्यापारमा वृद्धि भइरहेको उल्लेख गर्दै अध्यक्ष राणाले भनिन्, “मेरो अनुभवमा दुई देशबीचको स्थिर विनिमय दरका कारणले पनि निजी क्षेत्रले व्यापार व्यवसायमा सहज महसुस गरेको हुनसक्छ ।” उनले भारत निर्यात गर्न सकिने थुप्रै वस्तुहरु भए पनि क्षमताको सदुपयोग नभएको उल्लेख गर्दै भारतबाट आयात हुने वस्तु पनि त्यहाँ उत्पादन भई तेस्रो मुलुकबाट ल्याई ‘भ्यालु एड’ भएर नेपाल आउने हुँदा नेपालले पनि त्यस्तो सुविधा उपयोग गर्नुपर्ने बताइन् ।
नेपाल राष्ट्र बैंकका अनुसार भारततर्फ पाम आयल, सोयाबिन आयल, तोरीको पिनालगायतका वस्तु निकासी हुन्छ भने भारतबाट पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, एमएस बिलेट, सिमेन्ट लगायतका वस्तु आयात भइरहेको छ । केन्द्रीय बैंकले गत वर्ष गरेको अध्ययनमा भारततर्फको अधिक निर्भरतालाई लक्षित गर्दै भनेको छ, “नेपालको वैदेशिक व्यापार देशगत र वस्तुगत रुपमा विविधीकरण गर्दै जानुपर्ने देखिन्छ ।” यता, निजी क्षेत्रले भने भारत निकासीबाट नगद प्रोत्साहन सुविधा नपाएको भन्दै बेलाबेला गुनासो गर्दै आएको सुनिन्छ । यसअघि निर्यात व्यवसायी महासंघले भारत निकासीमा नगद अनुदानको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण नै गराएको थियो । भारतसँगको व्यापारमा गैरभन्सार अवरोधको समस्या मुख्य रुपमा रहेको कतिपय व्यवसायीको टिप्पणी छ । खासगरी कृषिजन्य उत्पादन भारतमा निकासी गर्न त्यहाँका प्रदेश सरकारहरुले अवरोध गर्दै आएको अलैंची उत्पादक संघका निवर्तमान अध्यक्ष राजकुमार कार्की बताउँछन् । उनका अनुसार नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय ल्याब नहुँदा भारतीय पक्षले अनेक बहाना बनाई निकासीमा अवरोध गर्ने गरेको छ ।