Logo

सुन आयात बढ्यो

सरकारले आयात नियन्त्रण गर्दा पनि सुन आयातमा भने उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा नेपालमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६ सय ३१ किलो सुन आयात भएको छ । गत आर्थिक वर्षको वैशाखसम्ममा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन नेपाल भित्रिएको थियो ।
सुन आयात बढ्दा सरकारलाई राजस्व आम्दानी भने बढेको छ । गत आर्थिक वर्षको तुलनामा सुन आयात बढ्दा राजस्व वृद्धि ५३.९३ प्रतिशतले भएको विभागको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले सुनलगायतका विलासिताका वस्तुको एलसी खोल्न रोकेको भए पनि वाणिज्य बैंकहरुमार्फत सरकारले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ । विभागको तथ्यांक अनुसार २०७८ चैतको तुलनामा २०७९ वैशाखमा २० अर्ब कमको वस्तु आयात भएको छ । भन्सारको तथ्यांकअनुसार चैत २०७८ मा १५७ अर्ब बराबरको वस्तु आयात भएकोमा २०७९ वैशाख एक महिनामा १३७ अर्बमा सीमित भएको छ । सरकारले आयातमा कडाइ गरेपछि मोटरसाइकलको आयात घटेको छ भने डिजेल, पेट्रोल, एलपी ग्यास, कच्चा पाम तेल, शुद्ध फलाम, सुन, भटमासको तेलको आयात बढेको छ ।
वैशाखसम्ममा नेपालले १ खर्ब २३ अर्ब ७० करोड बराबरको डिजेल, ५४ अर्ब ८३ करोडको पेट्रोल, ५२ अर्ब १ करोडको एलपी (खाना पकाउने) ग्यास आयात गरेको छ । नेपाल आयल निगमको सुझावमा सरकारले पेट्रोलियम पदार्थको आयात घटाउन आइतबार थप बिदा दिने घोषणा गरे पनि स्थानीय चुनावका कारण जेठमा पेट्रोलियम पदार्थको आयात घट्ने नदेखिएको निगमले जनाएको छ । त्यसैले सरकारले अल्पकालीन नीति भन्दै असार मसान्तसम्मको लागि आयात प्रतिबन्ध लगाएको भए पनि आगामी आर्थिक वर्षको बजेटमार्फत नीतिगत रूपमै आयातलाई निरुत्साहित गर्न भन्सार बढाउने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले बतायो ।
“राजस्व परामर्श समितिले पनि आयात निरुत्साहित गरेर स्वदेशी उत्पादनलाई बढावा गर्न कर नीति परिमार्जनका लागि सुझाव दिएको छ,” स्रोतले भन्यो, “त्यसैले सरकारले राजस्वमा असर नपर्ने गरी कुन वस्तुमा कतिसम्म भन्सार वृद्धि गर्न सकिन्छ भनी अध्ययन गरिरहेको छ ।” स्रोतका अनुसार सरकारले विश्व व्यापार संगठनको मापदण्डलाई आधार बनाएर महसुल लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्