Logo

मुगुम यार्सागुम्बा संकलन १५ जेठदेखि

मुगु-हिमाली जिल्ला मुगुको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वनमा पाइने यार्सागुम्बा संकलन १५ जेठदेखि खुला हुने भएको छ । गाउँपालिकाका डोल्फु, चितै, रिउस, माग्री, किम्रीलगायत गाउँका स्थानीयको आम्दानीको मुख्य स्रोत यार्सागुम्बा नै हो ।
सिजनको समयमा यहाँका बालबच्चादेखि बूढाबूढीसम्म यार्सागुम्बा संकलनका लागि जाने गरेका छन् । जिल्लाबाहिरबाट समेत संकलक तथा व्यापारी यहाँ आइपुग्छन् । यार्सा संकलन गर्न वन प्रवेशका लागि गाउँपालिकाले कर उठाउँछ । कर बुझाएका संकलनकर्ताले जेठ १५ गतेबाट वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए । उनका अनुसार जिल्लाभित्रका यार्सा संकलकबाट प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताबाट प्रतिव्यक्ति २५ सयका दरले गाउँपालिकाले कर उठाउने गरेको छ ।
मुगुम कार्मारोङ गाउँपालिका–२ का रिमाण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कु लगायत वनमा यार्सागुम्बा पाइन्छ । यार्साबाट उठेको रकम गाउँपालिकामा जम्मा हुने र पछि गाउँपालिकाको बोर्ड बैठकबाट छलफल गरी कहाँ कसरी खर्च गर्ने भन्ने विषयमा छलफल गरी निर्णय हुने गरेको छ ।
यार्सा संकलनको समयमा वन प्रवेश गर्दा वन्यजन्तु चोरी शिकारी, यार्साबाहेक अन्य जडीबुटी संकलन, बोटबिरुवा जथाभावी फँडानी नगर्ने, सिसा, कागज, प्लास्टिक आदि जथाभावी नफाल्ने, अवैध हातहतियार प्रयोग नगर्ने नियम रहेको छ । कानुन विपरीत कार्य गर्नेलाई कानुनबमोजिम कारबाहीसमेत गर्ने मुगम कार्मारोङ गाउँपालिकाका अध्याय छिरिङ क्याप्ने लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्