Logo

म्याग्दीमा पालिका प्रमुख र वडाध्यक्षमा महिला नेतृत्व शून्य

संविधानले तोकेको महिला र दलित महिला सदस्यबाहेक म्याग्दीका पालिका र वडाध्यक्षमा महिलाको नेतृत्व शून्य भएको छ । जिल्लाका ६ वटै स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र अध्यक्ष पदमा सबै पुरुष निर्वाचित हुँदा उपाध्यक्षमा पाँच महिला र एक पुरुष उम्मेद्वार विजयी भएका हुन् ।
नगर र गाउँपालिकाको नेतृत्वका लागि तीन र वडाको नेतृत्वका लागि दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरू सबै पराजित हुँदा पालिका र वडाको नेतृत्वमा महिलाको उपस्थिति शून्य भएको हो । धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट उम्मेदवार बनेकी थमसरा पुन कांग्रेसका प्रेमप्रसाद पुनसँंग पराजित भइन् । नेकपा माओवादी केन्द्रबाट रघुगंगा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी मीना विश्वकर्मा तेस्रो बनिन् ।
राप्रपाबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी मीनाकुमारी शर्मा चौथो बनिन् । मंगला गाउँपालिकाको वडा नम्बर ४ मा एमालेले लक्ष्मीकुमारी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई वडाध्यक्षको उम्मेदवार बनाएका थिए । कांग्रेका लालबहादुर रोकाले दुवै जनालाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित भए ।
स्थानीय तह २०७४ को निर्वाचनमा धवलागिरिको अध्यक्षमा एमालेका थमसरा पुन, सोही पालिकाको वडा नम्बर ५ मा कांग्रेसका खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका– ५ को अध्यक्षमा कांग्रेसका पिपला बुढाथोकी वडाध्यक्षमा निर्वाचित भएका थिए । दलहरूले नेतृत्व तहमा महिलाहरूको उम्मेदवारमा कम प्राथमिकता दिनुका कारण नेतृत्वमा महिला आउन कठिनाइ भएको म्याग्दी बहुमुखी क्याम्पसकी उपप्राध्यापक रेखाकौशल रेग्मीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्