खोटाङमा पहिलो पटक दुईजना महिला पालिका प्रमुख निर्वाचित «

खोटाङमा पहिलो पटक दुईजना महिला पालिका प्रमुख निर्वाचित

खोटाङ-खोटाङले पहिलो पटक पालिकामा महिला नेतृत्व पाएको छ । स्थानीय तह निर्वाचन २०७९ मार्फत जिल्लाका दुई पालिकामा महिला प्रमुख निर्वाचित भएका हुन् ।
चार पालिकाको प्रमुखमा महिलाको उम्मेदवारी रहेकोमा दुईजनाले जितेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट विमला राई र जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी पार्टी (जसपा) को चार दलीय गठबन्धनबाट माओवादीकी अरूणादेवी राई विजयी भएका हुन् । महिला प्रमुख निर्वाचित भएका पालिकाको कार्य सम्पादनलाई चासोका साथ हेरिएको छ ।
हलेसीतुवाचुङ नगरपालिकामा कांग्रेस एक्लै लड्दा एमाले, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । तीन दलको गठबन्धन तोडेर विमलाले मेयर जितेकी हुन् । मेयरमा विजयी विमलाले ६ हजार ३ सय १७ मत ल्याउँदा प्रतिस्पर्धी खडेन्द्रले ५ हजार ९ ससय ६६ मत पाए । विमला २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा निर्वाचित भएकी थिइन् । खडेन्द्र भने २०७४ सालको निर्वाचनमा पनि कांग्रेसका इवन राईसँग मेयरमा पराजित भएका थिए ।
जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा विजयी अरूणादेवीले २ हजार ८ सय ८१ मत पाउँदा प्रतिस्पर्धी शंखरबहादुरले २ हजार ५ सय ७५ मत ल्याए । यसअघि माओवादीबाट अध्यक्षको उम्मेदवार उठेर पराजय बेहोरेकी अरूणादेवी यसपल्ट विजयी हुँदा अघिल्लो निर्वाचनमा अध्यक्ष जितेका शंखरबहादुर भने यसपल्ट पराजित भएका हुन् ।
गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अन्य दुईजना महिला भने पराजित भएका छन् । एमालेबाट खोटेहाङ गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेकी कविता राई र वराहपोखरी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेकी गोमा मगर पराजित भएका हुन् । अघिल्लो निर्वाचनमा उनीहरू दुवै गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका थिए । कविता र गोमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको चार दलीय गठबन्धनका साझा उम्मेदवारसँग अध्यक्षमा पराजित भएका हुन् ।
कविता गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादीका उदिमबहादुर राईभन्दा ३८ मत कम पाएर पराजित भएकी हुन् । उदिमबहादुरले तीन हजार ७ सय २८मत ल्याएर विजयी हुँदा कविताले तीन हजार ६ सय ९० मत पाइन् । गोमा गठबन्धनबाट अध्यक्षका उम्मेदवार कांग्रेसका शालिकराम बञ्जराभन्दा ८ सय ५१ मत कम पाएर हारिन् । शालिकरामले तीन हजार १ सय ८१ र गोमाले दुई हजार ३ सय ३० मत प्राप्त गरे । शालिकराम गत निर्वाचनमा कांग्रेसबाट एक्लै गाउँपालिकाको अध्यक्ष लड्दा पनि विजयी भएका थिए । गठबन्धनका कारण यसपल्ट उनलाई जित्न थप सहज भएको थियो । पालिका प्रमुखमा पहिलो पटक दुईजना महिला निर्वाचित हुँदा गठबन्धनका कारण यसपल्ट महिला उपप्रमुखको संख्या भने ह्वात्तै घटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको खोटाङका सबै पालिकामा यसअघि महिला उपप्रमुख रहेकोमा यसपल्ट तीन पालिकामा मात्र महिला उपप्रमुख बनेका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको उपाध्यक्षमा एमालेकी अरूणा थापा मगर, रावाबेँसी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कौशिला गुरूङ र साकेला गाउँपालिकाको उपाध्यक्षमा माओवादीकी बिर्सिका राई निर्वाचित भएका छन् ।

-पवन खड्का

प्रतिक्रिया दिनुहोस्