काठमाडौंको फोहोर बन्चरेडाँडा ल्याण्डफिल साइटमा खसाइयो

काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटनमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारबाट उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो ।
नुवाकोटको सिसडोल ल्याण्डफिल साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको काम सुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारबाट उठ्न थालेको छ ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौं महानगरपालिकाले सोमबार राति नै विसर्जनका लागि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा पठाइएको थियो । मंगलबार पनि काठमाडौंबाट फोहोर बोकेका ट्रक बन्चरेडाँडातर्फ पठाइएका छन् । सोमबार राति मन्त्री झाँक्रीले बालाजु, रातोपुललगायतका क्षेत्रमा फोहोर उठे नउठेको अनुगमन गरेकी थिइन् ।
हाल काठमाडौं र ललितपुरबाट एक सय वटा ट्रक फोहोर बन्चरेडाँडामा खसाइएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिए । स्थानीयले सामान्य विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अब निरन्तर फोहोर विसर्जन गरिने बताए ।
मन्त्री झाँक्रीले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बैठक बोलाएर तत्काल काठमाडौंको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् ।
काठमाडौंमा नयाँ मेयरको आगमन अगावै फोहोर व्यवस्थापन गर्न महानगरले पहल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए । उनले जुनसुकै परिस्थितिमा पनि फोहोर व्यवस्थापनका लागि आफू तत्पर रहेको बताए ।
यसअघि सिसडोलमा फोहोर विसर्जन गर्दै आएको महानगरपालिकाले स्थानीयबासीको अवरोधका कारण फोहोर विसर्जन गर्न समस्या भएको थियो । काठमाडौं र ललितपुरका चोक र गल्लीहरूमा फोहोर थुप्रिएको भन्दै मन्त्री झाँक्रीले सरोकारवाला निकायलाई यथाशीघ्र फोहोर व्यवस्थापन गर्न निर्देशन दिएकी थिइन् । फोहोर व्यवस्थापनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री झाँक्रीको भनाइ छ ।