अहिले भएको वनक्षेत्र उपलब्ध जैविक विविधता जोगाउन पर्याप्त छैन भने हाल भइरहेको वनक्षेत्रलाई जोगाउने चुनौती छ ।
जैविक विविधता नै जिउने आधार

संसारको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वनक्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक प्रकाशित अध्ययनअनुसार विश्वभरि झन्डै १ अर्ब ६० करोड मानिस आ–आफ्नो जीविकोपार्जनका लागि वनजंगलमा आश्रित रहेका छन् । त्यसरी नै करिब ४० प्रतिशत अक्सिजन वनबाट नै प्राप्त हुन्छ । मूलतः सन् २०१९ मा जैविक विविधता तथा पारिस्थितिकीय सेवासम्बन्धी अन्तरसरकारी वैज्ञानिक मञ्चले प्रकाशित गरेको प्रतिवेदनअनुरूप आगामी एक दशकभित्र करिब १० लाख प्रजाति लोप हुन सक्ने तथ्यांकलाई औंल्याइएको छ । हाम्रो देशका बारेमा कुरा गर्ने हो भने जैविक विविधतालाई वातावरण संरक्षण ऐन, २०५३ अनुसार व्याख्या गरिँदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ । फलतः भूपरिवेष्टित देशका मान्छे समुद्र देख्दा रमाउँछन् अनि हिमाल पहाड नदेखेका मानिसहरू हिमाल, पहाड देखेर रमाउँछन् । त्यसैगरी गोसाइँकुण्ड, खप्तड र मुक्तिनाथजस्ता स्थल पवित्र भू–स्वरूपको रूपमा अंगीकार गर्न सकिन्छ । यी पवित्र भू–स्वरूप सांस्कृतिक तथा धार्मिक महत्वका हुनुका साथै जैविक दृष्टिकोणले महत्वपूर्ण छन् ।
जैविक विविधताका दृष्टिकोणले हाम्रो देश विश्वको २५ औं र एसियाको ११ औं स्थानमा पर्ने अध्ययनले देखाएको छ । वस्तुतः देशमा १ सय १८ प्रकारका पारस्थितिकीय प्रणाली, ३५ प्रकारका वन र ७५ प्रकारका वनस्पति समुदाय पाइन्छ । राष्ट्रको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत क्षेत्र वनजंगल तथा झाडी, बुट्यानहरूले ढाकेको छ । त्यसैगरी संरक्षित क्षेत्रले मुलुकको कुल भूभागको २३.३९ प्रतिशत क्षेत्र ओगटेको छ । त्यसैगरी देशमा जैविक विविधताको दृष्टिले धनी देश हो । यहाँ रहेका विभिन्न जीव तथा वनस्पतिको समष्टि रूपले नेपाललाई जैविक विविधतापूर्ण बनाएको छ । भौगोलिक हिसाबले विश्वको कुल भूभागको करिब ०.१ प्रतिशत भू–भागमा फैलिएको नेपालले जैविक विविधताको दृष्टिले झन्डै ४ प्रतिशत हिस्सा ओगट्नु नेपाली मात्रका लागि गर्वको विषय हो । यसर्थ विज्ञहरूको पछिल्लो अध्ययन अनुसार मुलुकको जैविक विविधताअन्तर्गत झन्डै ८ सय ८७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप, १ सय ८५ प्रजातिका माछा, ६ सय ५३ प्रजातिका पुतली, २ सय १० प्रजातिका स्तनधारी जीव, ३ हजार ९ सय ६६ प्रजातिभन्दा माथि कीरा, ५ हजारभन्दा बढी कीटपतङ्ग, ७ हजार ५ सय प्रजातिका बिरुवा तथा जडीबुटी रहेका छन् । मूलतः विश्वमा भएका हरेक प्राणी अनि बिरुवाका लागि यो पृथ्वी साझा थलो हो । त्यस्तै २ सय प्रजातिका माकुरा, ६ हजारभन्दा बढी फूल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिको झ्याउ, १ हजार ८ सय २२ प्रजातिको ढुसी, ३ सय ३८ प्रजातिको उन्यू, ५ सय बढी प्रजातिको खानयोग्य अन्न बाली छन्, जसमा २ सय प्रजातिको खेती नेपालमा हुने गर्छ । सबै प्राणी र बिरुवाहरूको सुरक्षा, संवद्र्धन अनि उपस्थिति मानवको दायित्व हो । अतः चोरीसिकारी, पैठारी अनि तस्करहरूको सक्रियताले नेपालमा पनि धेरै जनावर र बिरुवाहरूको विनाश भएको, हत्या भएको, नासिएको इतिहास छ । विश्व पर्यावरणको इकोसिस्टममा हरेक प्राणीको आ–आफ्नै महत्व र योगदान छ । तसर्थ सबै प्राणीको सुरक्षा आजको आवश्यकता हो । मानव जीवनको दीर्घकालीन उपस्थितिका लागि पनि वन्यजन्तु र बिरुवाहरू सबैको रक्षा गर्न जरुरी छ । यहाँ छोटो दूरीमा धेरै भौगोलिक संरचना, भिन्नभिन्न मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरू छन् । पहाड, तराई र हिमाली क्षेत्रमा उत्तर–दक्षिण दुवैतिर फर्केका भित्ता, पाखाहरूका कारण एकातिर घाम लाग्ने र अर्कातिर ओसिलो हुन्छ । यसर्थ अर्कातिर हेर्ने हो भने घण्टाभरि मात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतिक माहौलमा पुगिन्छ । जैविक विविधता अनुभव गर्न सकिन्छ । देशमा समुद्र सतहदेखिको न्यूनतम उचाइ ६० मिटरको झापा जिल्लाको केचना र अधिकतम उचाइ ८ हजार ८ सय ४८ मिटरको सगरमाथा छ । सम्पूर्ण युरोपको भूभागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । राष्ट्रमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खानयोग्य छन् । त्यसमध्ये २ सय प्रजातीको खेती गरिन्छ । प्रजातीय विविधता, वातावरणीय विविधता, रहनसहनको विविधता, अनुवंशीय विविधता, देशको जैविक विविधताहरूभित्र पर्छ । त्यस्तैगरी उन्यू, च्याउ, लेउ वा झ्याउलाई छोडेर फूलै फुल्ने वनस्पति प्रजातिको संख्या नेपालमा ५ हजार ८ सय ५६ छ । गुराँस प्रजातिको संख्या मात्रै ३० नाघ्छ भने सुनगाभा र सुनाखरी परिवारमा ३ सय ६३ भन्दा बढी प्रजाति छन् । प्रिमुलाका प्रजाति पनि ६० भन्दा बढी छन् । सपूर्ण अमेरिकी भूभागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । त्यसरी हाम्रो देशमा पुतलीको सबैभन्दा धेरै प्रजाति पाइन्छ । विश्वको सन्दर्भमा हेर्ने हो भने ब्राजिलपश्चात् सबैभन्दा धेरै जैविक विविधता भएको देश नेपाल हो । नेपाल जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सीमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थित रूपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कातिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् । देशमा ६० हजार ५ सय ६१ हेक्टर जमिन सिमसारले ओगटेको पाइन्छ । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक–सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रोत वृद्धिको माध्यमका रूपमा पनि विस्तार गर्न सकिन्छ ।
पृथ्वीको अस्तित्व जोगाउनका लागि वनस्पति संरक्षण गर्नु अनिवार्य छ । वनस्पति मात्र यस्ता सजीव हुन् जसले सौर्य ऊर्जालाई रासायनिक ऊर्जामा रूपान्तरण गरेका हुन्छन् । यो प्रकाश संश्लेषण प्रक्रिया हो । यदि, वनस्पति नहुँदा हुन् त सौर्य ऊर्जा पारिस्थितिक प्रणालीमा खाद्य सञ्जालको रूपमा जान सक्दैनथ्यो, जसले गर्दा पारिस्थितिक प्रणाली नै सिर्जित हुन सक्दैनथ्यो । सजीव तथा निर्जीवहरूको अन्तरसम्बन्ध कायम हुन नसकेपछि जीवित पर्यावरण पनि रहँदैन । यसैबाट वनस्पति र वातावरणको अन्योन्याश्रित सम्बन्ध अनुभूति गर्न सकिन्छ । वातावरणमा देखा परेका जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न र अनुकूलित हुनका लागि वनस्पति संरक्षण अनिवार्य छ । स्वच्छदेखि नुनिलो पानीसम्म तथा ऊष्णदेखि लेकाली वातावरणमा विविध प्रजातिका वनस्पति पाइन्छन् । यसरी जन्मदेखि मृत्युसम्म विभिन्न मानव संस्कारमा वनस्पतिका विविध भाग जस्तै फूल, फल, बीउ, बोक्रा, काठ, जरा आदि प्रयोग हुँदै आएको छ । यसर्थ वनस्पतिले नै यस धर्तीमा जीवित वातावरणको सिर्जना गरिरहेका छन् । वनस्पतिको विनाशका कारण मौसम परिवर्तन, हरित गृह ग्यास उत्सर्जन, विश्व तापमान वृद्धि र जलवायु परिवर्तनलगायतका असर पर्छन् । आर्थिक विकास र वातावरणको अन्योन्याश्रित सम्बन्धबाट नै दिगो वातावरण कायम गर्न सकिन्छ । दिगो वातावरणसँगसँगै दिगो विकास अगाडि बढ्न सक्छ । यसको ठोस कार्यान्वयन हुनु अनिवार्य छ । होइन भने विकासका नाममा धेरै विनाश हुन सक्छ । त्यसैले, वातावरणमैत्री विकासका गतिविधिहरू मात्र सञ्चालन गरिनुपर्छ । जैविक प्रविधि नीति, २०६३ ले जैविक प्रविधिलाई देश विकास र वातावरणीय संरक्षण एवं जनकल्याणको सशक्त आधारका रूपमा प्रतिस्थापन गरी गरिबी निवारणमा योगदान दिने लक्ष्य लिएको छ । नीतिले बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार, जैविक सुरक्षा, जैविक निगरानी तथा जैविक नैतिकताजस्ता विषयहरूलाई पनि सुनिश्चितता प्रदान गर्ने उल्लेख गरेको छ ।
समग्रमा भन्नुपर्दा पछिल्लो समयमा जैविक विविधता, वन तथा वातावरण विनाश हुँदै गएको छ । यसैको कारणले गर्दा अहिले विश्वभरि कोरोना भाइरसले तहसनहस स्थिति उत्पन्न गराएको छ । यसको संरक्षणमा युवालाई परिचालन गरी संरक्षण संस्कार वृद्धि गर्न सके जैविक विविधता संरक्षणका लागि महत्वपूर्ण कदम हुनेछ । देश जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थित रूपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कातिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रमोत वृद्धिको माध्यमका रूपमा पनि विस्तार गर्न सकिन्छ । मुलुक एक सुन्दर एवम् विविधतायुक्त स्थल भएर पनि प्रचारप्रसारको अभावमा ओझेल परेको छ । यसरी जैविक विविधताका क्षेत्रमा संरक्षण संवद्र्धन गरी पूर्वाधारमा व्यापक लगानी गर्ने हो भने एक–दुई वर्षमै अहिलेको भन्दा जैविक विविधताको संरक्षण संख्यालाई दोब्बर पार्न सकिन्छ । यसका लागि ठूलो लगानी आवश्यक हुन्छ । यी विविध स्रोतबाट स्वच्छ हावा, शुद्ध पानी, खाद्यान्न तथा जीविकोपार्जन, खनिज तथा औषधि उपलब्ध हुन्छ, साथै मानव जीवन तथा अर्थतन्त्र चल्ने गर्छ, जसले गर्दा प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन्छ, त्यसैले पृथ्वीमा रहेका वनस्पति, जीवजन्तुलगायतका जैविक विविधताको संरक्षण गर्न सके मात्र हामी सुरक्षित रहन्छौं । त्यसकारणले गर्दा नै जैविक विविधता जीविकोपार्जनको मुख्य आधार पनि हो । अतः जैविक विविधता संरक्षणमा नेपालको सफलता विश्वका लागि उदाहरणीय छ । देशको कुल भू–भागको ४४ प्रतिशत वनक्षेत्र छ, जुन विश्व मापदण्डभन्दा बढी हो । महासन्धिले कम्तीमा १७ प्रतिशत संरक्षित क्षेत्र हुनुपर्ने निर्दिष्ट गरेको भए पनि नेपालमा २३ प्रतिशतभन्दा बढी क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरी जैविक विविधताको संरक्षण गर्ने कार्य भइरहेको छ । १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक सिकार क्षेत्र, छवटा संरक्षण क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्रले हिमाल, पहाड र तराईसम्मको परिस्थितिकीय प्रणालीको संरक्षणमा काम गरिरहेको छ । तर, जैविक विविधता संरक्षणमा विविध चुनौती देखा परेका छन् । अहिले भएको वनक्षेत्र उपलब्ध जैविक विविधता जोगाउन पर्याप्त छैन भने हाल भइरहेको वनक्षेत्रलाई जोगाउने चुनौती छ । मुलुकमा १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक सिकार आरक्ष, छवटा संरक्षण क्षेत्र तथा १३ वटा मध्यवर्ती क्षेत्रले जैविक विविधताको क्षेत्रमा काम गरिरहेका छन् ।