रक्षा बजेट वृद्धि गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प «

रक्षा बजेट वृद्धि गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा वृद्धि गर्ने भएका छन् ।
उनले आगामी वर्ष सन् २०१९ का लागि ७ सय १६ अर्ब अमेरिकी डलरबराबरको बजेट प्रस्ताव गरेको समाचारमा जनाइएको छ ।
कंग्रेसले सो बजेट पारित गर्न बाँकी नै छ, तर पनि राष्ट्रपति ट्रम्पले भने आगामी वर्षका लागि सो बजेट प्रस्ताव गर्न लागेको रक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी पत्रिका वासिङ्टन पोस्टले जनाएअनुसार सो बजेट पारित भयो भने यस वर्ष (सन् २०१८) को भन्दा कम्तीमा पनि ७ प्रतिशतले बढी हुनेछ ।
राष्ट्रपति ट्रम्पको सो आग्रहलाई अमेरिकी रक्षा मन्त्रालयले मनन गरिरहेको बताइएको छ । सो प्रस्तावबमोजिम नै बजेट निर्माण हुने वा बजेट कंग्रेसले पारित गर्ने हो भने अघिल्ला वर्षहरूको तुलनामा निकै धेरै बजेट बढ्ने अनुमान गरिएको छ ।
सो बजेट अमेरिकी नेतृत्वमा हाल जारी रहेका युद्धहरूका साथै अमेरिकी अस्त्रगृह निर्माणका लागि आवश्यक रहेको उनले प्रस्ताव गरेका छन् ।
अमेरिकी रक्षामन्त्री जिम म्याटिसले गत साता गरेको प्रस्तावबमोजिम यो बजेट आउन लागेको अनुमान गरिएको छ ।
उनले गत साता राष्ट्रिय सुरक्षा रणनीति प्रस्तुत गर्ने क्रममा अमेरिकी सरकारले सेनाको सशक्तीकरण गर्ने योजना बनाएको र त्यसका लागि अहिलेको रक्षा बजेट अपुग हुने बतएका थिए ।
सोहीबमोजिम यो बजेटको प्रस्ताव आएको अनुमान गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्