Logo

पहिलो चरणको काम अन्तिम अवस्थामा

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

बारा-बाराको जितपुर सिमरा उपमहानगरमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेको छ । आयोजनाको पहिलो चरणअन्तर्गत पसहा खोलामा तटबन्ध निर्माण र विमानस्थल एरिया छुट्याउने काम अन्तिम चरणमा पुगेको हो । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा विमानको चाप थेग्न नसकेको भन्दै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम थालिएकोे हो ।
सरकारको महत्वाकांक्षी राष्ट्रिय गौरवको आयोजनाको काममा भइरहेको ढिलाइले अन्योलता बढाएको देखिए पनि विमानस्थलको रेखांकन, पिलर, तारबार र तटबन्धनको काम अन्तिम चरणमा पुगेपछि आयोजनाको काममा गति बढेको देखिएको छ ।
पहिलो चरणको कामसँगै आउने आर्थिक वर्षको सुरुवातसँगै टांगिया बस्ती व्यवस्थापन गरेर विमानस्थल वरपर पहुँचमार्ग निर्माण थालिने आयोजनाका इन्जिनियर ओम शर्माले बताए ।
पहिलो चरणमा चार किल्लालाई तारबार लगाउने कामका साथै पसाहा खोलामा तटबन्ध लगाउने काम अन्तिम चरणमा भइरहेको समेत उनले जानकारी दिए । विमानस्थल निर्माण क्षेत्रभित्र पर्ने साविक करैया गाविस–८ र ककडी–१ मा नम्बरी आवादी जग्गाको मुअब्जा वितरणको काम जारी रहेको र अब करिब आधा दर्जन व्यक्तिले मात्र मुआब्जा लिन बाँकी रहेको र उनीहरु सम्पर्कमा नरहेको कारण मुआब्जा वितरणको काम टुंगिन नसकेको जनाइएको छ ।
सरकारले प्रतिकठ्ठा २ लाख ४० हजारदेखि ४ लाख ६० हजार रुपैयाँ मुआब्जा दिने गरी दर निर्धारण गरेको थियो । आयोजनाको मूल निर्माण कार्य धावनमार्ग निर्माण सुरु नभए पनि तयारी अवस्थामा रहेको बताउँदै आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले ६३ किलोमिटरमा अस्थायी तारबार र पसाह खोलामा तटबन्धनको काम अन्तिम चरणमा रहेको बताए । उनले सरकारले आउने आर्थिक वर्षबाट आयोजनाको मूल काम अगाडि बढाउने विषयमा पहलकदमी हुनेसमेत बताए ।
विमानस्थलको धावनमार्गमा रहेको टांगिया बस्तीलाई लालपुर्जा नभएकाले स्थान्तरणका लागि सरकारले जितपुर सिमरा उपमहानगरका–१६ र १७ मा रहेको बुटयान क्षेत्र र कोहल्बी नगरपालिकाको सपही क्षेत्र सम्भावित स्थान चयन बारेमा सरकारले चासो देखाएको छ ।
७ सय २३ बिगाह २४ कठ्ठा र १४ सय ६५ घरधुरी रहेको टांगिया बस्ती स्थान्तरण भए पछि उक्त खाली जग्गामा पहिलो धावनमार्गको काम अगाडि बढ्ने इन्जिनियर शर्माले बताए ।
विमानस्थल निर्माणका लागि ११ हजार ८ सय ७५ बिगाहा क्षेत्रफल आवश्यक पर्ने आयोजना सरकारले ०६४ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मार्गका लागि बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्न करिब १६ खर्ब लागे पनि सुरुको लागत १ खर्बभन्दा कम हुने सोही रकममा पहिलो फेज धावन मार्गको काम ४ देखि ५ वर्षभित्र सकिनेछ क्रमशः अन्य धावनमार्ग बढाउँदै लैजाने आयोजनाको लक्ष्य देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्