सुर्खेतका पालिकामा जनप्रतिनिधिका प्राथमिकता «

सुर्खेतका पालिकामा जनप्रतिनिधिका प्राथमिकता

सुर्खेतमा पाँच नगरपालिका र चार गाउँपालिका गरी नौवटा स्थानीय तह रहेका छन् । वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनबाट नौवटै स्थानीय तहमा जनप्रतिनिधिहरू चुनिसकेका छन् । जिल्लाको गुर्भाकोट नगरपालिकामा प्रमुख–उपप्रमुखमा दुवै जना दोहोरिएका छन् भने वीरेन्द्रनगरमा यसअघिको उपप्रमुख प्रमुखमा निर्वाचित भएकी छन् । अन्य सबै जनप्रतिनिधि नयाँ नै चुनिएका छन् । सबै पालिका प्रमुख–उपप्रमुखलगायतका जनप्रतिनिधिहरूले पाँचवर्षे कार्यकालका लागि पदभारसमेत सम्हालिसकेका छन् । पदभार सम्हाल्ने क्रममा अधिकांशले कुनै न कुनै निर्णय गरेका छन् । पूर्वदेखि पश्चिम सबै पालिकाका आधारभूत आवश्यकता करिब उस्तै भए पनि प्राथमिकता भने आ–आफ्नै छन् । स्थानीय तहमा जनप्रतिनिधि चुनिँदै गर्दा आगामी आर्थिक वर्षका लागि तीनै तहका सरकारले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्ने समय अन्तिमतिर पुग्दै छ । यसै सन्दर्भमा सुर्खेतका पालिका प्रमुखहरूका प्राथमिकता र संघ र प्रदेशको बजेटमा राखेका अपेक्षाबारे कारोबारकर्मी गोविन्द खत्रीले सुर्खेतका नौवटै पालिका प्रमुखहरूसँग गरेको कुराकानीको सार :

रोजगारी सिर्जना पहिलो प्राथमिकतामा राख्नुपर्ने देखिन्छ
ऐनबहादुर चन्द
अध्यक्ष, सिम्ता गाउँपालिका

जनताका थुप्रै आशा, अपेक्षा र आवश्यकताहरू छन् । निर्वाचनका बेला हामीले गरेका प्रतिबद्धता पनि छन् । प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्नका लागि हाम्रो अधिकतम प्रयास हुनेछ । खासगरी हामीले यहाँको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, पर्यटनलाई प्राथमिकता दिने सोचेका छौँ । यस्तै युवाहरूलाई उत्पादन र रोजगारीमा कसरी जोड्न सकिन्छ भन्ने मलाई लागिरहेको छ । युवाहरूलाई सहुलियत, प्रोत्साहन दिएर व्यावसायिक कृषि पशुपालनमा लगाउने योजना छन् ।
निर्वाचनका बेला जाँदा बेरोजगारीको ठूलो समस्या देखिएको छ । बेरोजगारी घटाउनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने टड्कारो आवश्यकता महसुस गरेको छु । अब तीनै तहका सरकारले यसलाई योजनाबद्ध ढंगबाट काम गर्नुपर्छ । विगतमा सञ्चालन गरिएका प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमलाई अझै प्रभावकारी र युवाहरूलाई लाभ हुने गरी सोच्नुपर्ने देखिन्छ । बेरोजगारी समस्या समाधान ग-यौँ भने युवा शक्ति देशमै रोकिनुका साथै विकास र निर्माणमा पनि टेवा पुग्छ । उत्पादनमा वृद्धि हुन्छ र यसले समग्र आर्थिक वृद्धिमा टेवा पु-याउँछ । स्थानीय तहले पनि केही रोजगारी सिर्जना गर्न त सकिएला, तर प्रदेश र संघीय सरकारले नै यस्ता कार्यक्रम डिजाइन गरेर स्थानीय सरकारलाई कार्यान्वयनमा जोड्नुपर्ने आवश्यकता देखिन्छ । संघीय सरकार र प्रदेश सरकारले पठाउने अनुदान विगतभन्दा बढाएर पठाउनुपर्छ । संघ र प्रदेशले बजेट कार्यान्वयन गर्न नसकेको देखिन्छ । तर, स्थानीय सरकारलाई सीमित बजेट मात्र दिइन्छ । अब स्थानीय सरकारलाई दिनुपर्छ । त्यसले गर्दा बजेट कार्यान्वयन बढ्छ र जनताका आवश्यकताअनुसार खर्च हुन्छ ।

सुशासन कायम गर्नु पहिलो प्राथमिकता हो
यज्ञप्रसाद ढकाल
प्रमुख, भेरीगंगा नगरपालिका

भेरीगंगा नगरपालिका अहिलेसम्म सन्तोषजनक छैन भन्ने हामीले जनताबाट सुनेका छौँ । नेपालको ऐन–कानुन, संविधानको पूर्ण पालना गरिएन भने भ्रष्टाचार हुन्छ । भ्रष्टाचार आर्थिक मात्र हुँदैन । नीति विधिको पालना गरिएन भने पनि भ्रष्टाचार हुन्छ । नीतिगत भ्रष्टाचार हुन्छ । जनताले पाउनुपर्ने सेवासुविधा दिइएन भने वा पक्षपात गरियो भने पनि भ्रष्टाचार हुन्छ । त्यस कारणले भेरीगंगामा भ्रष्टाचार रोक्ने मेरो पहिलो काम हुन्छ । नगरपालिमा नीति विधि र प्रविधिको प्रयोग गरेर त्यहाँको आर्थिक भ्रष्टाचारदेखि लिएर अन्य भ्रष्टाचार जुन सुनिएको, देखिएको छ, त्यसलाई नियन्त्रण गर्छौं । यदि भ्रष्टाचार नियन्त्रण गरियो भने विकास तीव्र गतिमा अघि बढ्छ । बजेटको कमी हुँदैन । सुशासनको निकै कमी छ । नेपालको नीति विधिमा चलिएन भने सुशासन हुँदैन । प्रत्येक जनप्रतिनिधि जनउत्तरदायी हुने पद्धतिको विकास गरिनेछ । जनप्रतिनिधि नै पक्षपात, भेदभाव र राजनीतिक आस्थाका विचारका आधारमा व्यवहार गर्ने कुरा अन्त्य गरिनेछ । सुरुवात मबाटै गर्नेछु । जनताप्रति जनउत्तरदायी र कर्मचारी तन्त्रलाई जनमैत्री बनाउनेछु । हामी जनप्रतिनिधि जनताको सेवकका रूपमा स्थापित हुने गरी लाग्नेछौँ ।

कृषिमार्फत आयआर्जन वृद्धि गर्ने योजना छ
उमेश पौडेल
प्रमुख, लेकबेसी नगरपालिका

लेकबेसी नगरपालिकामा कृषिको राम्रो सम्भावना भएकाले कृषिमार्फत आयआर्जन माथि उकास्ने कुरालाई हामीले पहिलो प्राथमिकता दिनुपर्नेछ । नगरपालिका भए पनि पूर्वाधारमा पछाडि छ । त्यसलाई पनि विकास गर्नु छ । गुणस्तरीय शिक्षा हाम्रो चाहना हो । विद्यालय शिक्षामा कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने अध्ययन गरेर योजना बनाउँछौँ । शिक्षा र स्वास्थ्यमा जोडिने गरी डाक्टर पढ्न छात्रवृत्ति दिने निर्णय गरेका छौँ । वर्तमानमा शिक्षामा लगानी गरेर भविष्यमा स्वास्थ्यमा लाभ लिने गरी यो सोच बनाइएको हो । हाम्रोमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ, तर यहाँ कोही डाक्टर बस्न मान्नु हुन्न । यस्तो समस्या हामीले कोरोनाका बेला पनि भोग्यौँ, देख्यौँ । त्यसैले पालिकाले छात्रवृत्ति दिएर पढाउने र कम्तीमा पनि पाँच वर्ष सेवा गरे भने पाँच वर्षमा पाँच जनालाई पढाउँदा २५ वर्ष हुन्छ ।
यस्तै हामी आउँदा नआउँदै यस वर्ष संघीय सरकारले बजेट ल्याउने भइहाल्यो । त्यसैले अघिल्लो वर्षका योजनालाई संघीय सरकारले समेट्ने होला । संघीय सरकारले पूर्वाधार, रोजगारी, आयआर्जन, कृषिमा प्राथमिकता दिने कार्यक्रममा विगतभन्दा बजेट थप गर्नुपर्छ । प्रदेश सरकारसँग चाहिँ सहकार्य गर्नका लागि म मन्त्रालयमा जाने सोच बनाएको छु । कृषिमा प्रदेश सरकारसँग मिलेर केही गर्न सकिन्छ कि भन्ने सोचेको छु । कृषिमा एक–दुईवटा मसँग पाइलट प्रोजेक्टको परिकल्पना छ, जुन प्रदेश सरकार र स्थानीय सरकारले साझेदारीमा कार्यान्वयन गर्न सकिन्छ । व्यावसायिक किसिमका योजना बनाउने सोच छ । साथै विकास निर्माणमा पनि रोजगारीलाई जोड्ने खालका योजना बनाउनुपर्ने देख्छु ।

गुणस्तरीय शिक्षालाई प्राथमिकता दिनेछु
बोधविक्रम जिसी
अध्यक्ष, चिङ्गाड गाउँपालिका

चिङ्गाड गाउँपालिका सुर्खेत जिल्लामा पनि पिछडिएको क्षेत्रका रूपमा रहेको छ । यहाँ शिक्षा, स्वास्थ्य, बेरोजगारी र पूर्वाधार विकासका थुप्रै समस्या हाम्रा अगाडि छन् । ती सबै कुराका लागि हामीले काम गर्नु नै छ । तर, प्राथमिकताका हिसाबले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने म ठान्छु । शिक्षा राम्रो भयो भने चिङ्गाड जनताको भोलिको भविष्य उज्ज्वल हुनेछ । यसै क्रममा पालिकामा समग्र शिक्षाको गुणस्तर तथा भौतिक पूर्वाधारमा सुधार गर्ने योजना छ । यस्तै पालिकामा सञ्चालित माध्यमिक विद्यालयहरूमध्येबाट एक विद्यालय छनोट गरेर त्यसलाई नमुनाका रूपमा विकास गर्ने योजना छ । यसअन्तर्गत विद्यालयको गुणस्तर सुधारका साथै विद्यार्थीहरूलाई प्राविधिक शिक्षामार्फत आयआर्जनमा जोड्ने योजना छ । अध्यक्ष नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने योजना अघि सार्दै पदभार ग्रहण गरेका छौँ । यस्तै पालिकामा भएका सडकहरूको स्तरवृद्धि गर्ने, सडक नपुगेका बस्तीहरूमा सडक पु-याउने र गाउँपालिकाका ६ वटै वडालाई जोड्ने गरी चक्रपथ निर्माण गर्ने योजना छ । यहाँका जनताको स्वास्थ्य सुविधाका लागि कम्तीमा एक स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था गर्ने तथा एम्बुलेन्स सेवालाई सुलभ र प्रभावकारी बनाउनेछौँ । ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा लिन जान/आउन निकै समस्या भएको कुरा चुनावी दौरानका क्रममा सुनाउनुभएको छ, त्यसलाई समाधान गरेर कम्तीमा वडाबाटै वितरण गर्ने व्यवस्था मिलाउनका लागि मेरो प्रयत्न हुनेछ । हाम्रो गाउँपालिकामा कृषिको राम्रो सम्भावना छ । कृषिमार्फत उत्पादन वृद्धि गरी आम चिङ्गाडवासीको आयआर्जन बढाउनका लागि योजना बनाउनेछौँ । बेरोजगारी समस्या त्यस्तै छ । यसको निराकरणका लागि विकास निर्माणमा युवाहरूलाई कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने कुरालाई योजनामा ध्यान दिनेछौँ ।

राजधानी सहरका रूपमा विकासको खाका कोर्छाैं
मोहनमाया ढकाल
प्रमुख, वीरेन्द्रनगर नगरपालिका

कर्णाली प्रदेशको राजधानी भएकाले वीरेन्द्रनगर नगरपालिका अथाह सम्भावना र चुनौतीको पालिका हो । भोलि उपमहानगरपालिका हुँदै महानगरपालिकाको बाटो प्रारम्भका लागि विकासका खाकाहरू कोरिनुपर्ने जिम्मेवारी हामीलाई छ । त्यसका लागि सबै सरोकारवाला नागरिक समाज, राजनीतिक दल, सबै जनताको सल्लाह–सुझाव र दायित्वबोध हुने गरी काम गर्नुपर्छ भन्ने लागेको छ । वीरेन्द्रनगरका केही तत्कालीन समस्याहरू छन्— खानेपानी, फोहोर व्यवस्थापन, ढल निकास, छाडा पशु चौपाया व्यवस्थापन । यस्तै राजधानी सहरका रूपमा दीर्घकालीन विकास गर्नुपर्ने पनि छ । यी दुवै कुरालाई मध्यनजर गर्दै अल्पकालीन र दीर्घकालीन योजनाका साथ काम गर्नेछौं । सबै कुरा नगरपालिकाले मात्र गर्न सक्ने अवस्था छैन । त्यसका लागि हामी प्रदेश र संघ सरकारसँग सहकार्य गर्नेछौँ । हाम्रो संघीयताले सहअस्तित्व र सहकार्यको कुरालाई जोड दिएको छ । कतिपय एकल अधिकार र कतिपय साझा अधिकारका सूची छन् । हामीले संघीय, प्रदेश सरकार र विकास साझेदारहरूसँग हातेमालो गरेर अघि बढ्नुपर्नेछ । वीरेन्द्रनगरमा बढ्दो सहरीकरण छ । प्रदेशका विभिन्न जिल्लाबाट बस्तीबस्तीबाट वीरेन्द्रनगरका मतदाताबाहेक पनि वीरेन्द्रनगरमा अध्ययन, रोजगारी, व्यापार–व्यवसायलगायतका सिलसिलामा बसोबास गर्नेहरू पनि हुनुहुन्छ । त्यसैले नगरवासी सबैका लागि काम गर्नुपर्ने दायित्व वीरेन्द्रनगरलाई छ । जुन जिम्मेवारी अन्य सबै पालिकालाई छैन । यी कुरालाई पनि मध्यनजर गरेर योजना बनाएर काम गर्छौं । अघिल्लो पटक काम गरेका अनुभवहरू पनि छन् । ती अनुभवलाई सम्हाल्दै सिकाइ अनुभवलाई आदानप्रदान गर्दै संविधान, कानुनले दिएको दायराभित्र रहेर जिम्मेवारी पूरा गर्नेछौं ।

समृद्ध बराहताल गाउँपालिका बनाउने चाहना छ
भीम भण्डारी
अध्यक्ष, बराहताल गाउँपालिका

जनताको धेरै ठूलो अपेक्षा छ । बराहताल गाउँपालिका आफैंमा भौगोलिक रूपमा विकट छ । त्यसैले गाउँपालिकावासीले यातायात पूर्वाधार विकासलाई जोड दिएका छन् । साथै शिक्षा स्वास्थ्यका क्षेत्रलाई प्राथमिकता दिँदै निरन्तरता दिँदै काम गर्न सक्यौँ भने गाउँपालिकावासी खुसी हुनेवाला छन् । हामीले त्यसलाई नै जोडेर आफ्ना योजना बनाउनेछौँ । गाउँपालिकाभित्र बसोबास गर्ने युवाहरूलाई रोजगारी सिर्जना गर्ने, पूर्वाधार विकासमा जोड दिने, शिक्षा–स्वास्थ्यमा सुधार गर्ने, कृषिमार्फत उत्पादनमा जोड्दै आयआर्जनमा जोड दिँदै समृद्ध बराहताल गाउँपालिका बनाउने र बराहताललाई नेपालकै नमुना बनाउने इच्छा, चाहना छ । भूगोलका हिसाबले विकट र ठूलो भएकाले बराहतालका सबै जनतालाई बाह्रै महिना चल्ने खालका सडकमा जोड्न आवश्यक ठानेका छौँ । यस्तै खानेपानी, बिजुली, सञ्चारलगायतका सुविधा पनि हामीले सबै जनतालाई पु-याउनु छ ।

सबैभन्दा पहिला सबैलाई खानेपानी पु-याउँछौँ
खड्क विक
अध्यक्ष, चौकुने गाउँपालिका

यहाँको सबैभन्दा ठूलो समस्या खानेपानीको समस्या छ । चौकुने गाउँपालिकाको केन्द्र गुठुमै डोकामा बोकेर पानी लिन जानुपर्ने अवस्था छ । त्यस्तै अन्य ठाउँमा पनि खानेपानीको समस्या छ । यसलाई समाधान गर्न पहिलो प्राथमिकता हुनेछ । दोस्रो सडकको अवस्था निकै बिजोग छ । सदरमुकाम वीरेन्द्रनगरदेखि पालिका जोड्ने र पालिकाभित्रैका सडक पनि बाह्रै महिना गाडी चल्ने खालका छैनन् । यसका लागि पालिकाको बजेटबाट मात्र सम्भव छैन । त्यसैले प्रदेश र संघीय सरकारसँग समन्वय गर्नेछौँ । चौकुनेमा शिक्षाको अवस्था विकराल छ । विद्यालयमा पठनपाठन राम्रोसँग भएको छैन । विद्यालयलाई पवित्र मन्दिरका रूपमा बनाउन लागि लगानी पनि बढाउने र त्यसबाट रिजल्ट लिनका लागि विद्यालयबाट राजनीति मुक्त गर्ने योजना छ । यस्तै, अझैसम्म हाम्रो पालिकामा विद्युत् पुगेको छैन । विद्युत पु-याउनका लागि पनि हामी जोड दिनेछौँ । प्रदेशबाट केही मझौला आयोजनाहरूमार्फत यहाँको विकास गर्न सकिन्छ भने संघीय सरकारले विशेष गरी पूर्वाधारमा जोड देओस् भन्ने चाहना हो । संघीय सरकारको महत्वपूर्ण योजनाअन्तर्गत मदन भण्डारी राजमार्गको केही खण्ड हाम्रो पालिकाको मुख्य ठाउँ भएर गएको छ । पालिकाको केन्द्र गुठुदेखि बेनीघाट खण्डअन्तर्गत मदन भण्डारी राजमार्गको टेण्डर गर्न बजेटको व्यवस्था संघीय सरकारले गरिदियोस् भन्ने चाहना छ । चौकुने गाउँपालिका सुगम भनिने सुर्खेतभित्र लुकेको कर्णालीका रूपमा रहेको छ । ६० किलोमिटर सडक पुग्न तीन घण्टाभन्दा बढी लाग्छ । सञ्चारको त्यस्तै समस्या छ । यी सबै समस्या समाधान र गरेर सेवा प्रवाहलाई चुस्त–दुरुस्त पनि बनाउनु छ । हामी यी सबै कामलाई प्राथमिकता दिएर लाग्नेछौँ ।

विगतका कामलाई निरन्तरता दिँदै थप योजना ल्याउँछौँ
लालवीर भण्डारी
प्रमुख, पञ्चपुरी नगरपालिका

पञ्चपुरी नगरपालिकामा यसअघिका जनप्रतिनिधिहरूले पनि धेरै महत्वपूर्ण काम गर्नुभएको छ । ती कामलाई पनि निरन्तरता दिँदै थप नयाँ र जनताका आवश्यकताअनुसारका काम हामी गर्नेछौँ । जनताले शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतको माग गरेका छन् । विशेष गरी पूर्वाधार विकासको अपेक्षा गरेका छन् । यस्तै सुशासनको पनि अपेक्षा गरेका छन् । पूर्वाधारमा सडक, सिँचाइ, खानेपानीको अपेक्षा गरेका छन् । विशेषगरी बत्तीको पनि समस्या छ । टेन्डर भएको धेरै भइसक्यो, यसलाई पूर्णता दिन पनि हाम्रो पहलकदमी हुनेछ । विकासका साथै कृषि, उत्पादन र रोजगारीलाई पनि हामी जोड दिनेछौँ । प्रदेश र संघीय सरकारसँग मिलेर पूर्वाधार विकासलाई अघि बढाउनेछौं । कार्यालयबाट प्रवाह हुने सेवालाई चुस्त–दुरुस्त एवं प्रभावकारी बनाउनुका साथै जनतालाई सहजता प्रदान गर्नेछौँ । विकास र सेवाप्रवाहमा सुशासन कायम गर्नका लागि पनि हाम्रो अधिकतम प्रयास हुनेछ ।
पञ्चपुरीमा जाजुरा दह, भेरी कर्णाली दोभान, पाँचतले गुफा गुप्ती ताललगायतका धेरै पर्यटकीय स्थल रहेका छन् । यी पर्यटकीय स्थलहरूलाई विकास गरेर पर्यटक भित्र्याएर पञ्चपुरीको आन्तरिक स्रोत बढाउने योजना बनाएका छौँ । स्वास्थ्यतर्फ सालकोटमा १५ शय्याको अस्पताललाई पाँच वर्षको कार्यकालभित्र ५० शय्याको अस्पताल बनाउने वाचा गरेका छौँ । दुईवटा प्राविधिक शिक्षा पढाइ हुने विद्यालय छन्— कृषि र भेटेरिनरी संकाय पढाइ हुने । पाँच वर्षभित्र ती विद्यालयलाई पनि एउटामा बीएस्सी एजी भेटेरिनरी डाक्टर पढाइ हुने बनाउन पहल गर्ने वाचा गरेको छु । साथै, निर्वाचित भइसकेपछि सबै जनताको साझा व्यक्तिका रूपमा काम गर्ने प्रतिबद्धता गरेको छु, त्यहीअनुसार काम गर्नेछु ।

अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका कामलाई पूर्णता दिन्छौँ
हस्त पुन
प्रमुख, गुर्भाकोट नगरपालिका

२०७४ सालमा निर्वाचित हुँदा पनि जनताका माग अहिलेजस्तै समग्र गुर्भाकोटको विकासका निम्ति थियो, अहिले पनि ती माग अधुरै छन् । यद्यपि हामी २०७४ सालमा निर्वाचित भएपछि जनताका मागअनुसार सबै क्षेत्रमा, सामाजिक–भौतिक पूर्वाधारको क्षेत्रमा सुरुवात गरेका छौँ । सबै पूर्णता भएको छैन । सुरुवातचाहिँ गरेका छौँ । ती अधुरा काम पूरा गर्नका लागि पनि जनताले पुनः निर्वाचित गरेको जस्तो लाग्छ । यस्तै पाँच वर्ष बितेको कार्यकालमा पनि हामीले जनतालाई कुनै भेदभाव नगरी काम गर्यौं। त्यसले गर्दा पनि जनताले हामीलाई पुनः चुनेका हुन् जस्तो लाग्छ र अब पनि त्यहीअनुरूप काम गर्ने प्रतिबद्धता जनाउँछु । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा थुपै्र काम भएका छन् । तर, ती सबै पूर्ण छैनन् । किनकि जनताका असीमित चाहना र आवश्यकताहरू छन् । यो कार्यकालमा विगतमा गरेको अनुभवले पनि काममा अझै प्रभावकारिता एवं स्पष्टता हुनेछ भन्ने लागेको छ । अघिल्लो कार्यकाल नयाँ थियो, धेरै कुराको सिकाइ पनि भयो । आवश्यक ऐन–कानुनहरू पनि हामीले तयार गरेका छौँ । जसले गर्दा अब काम गर्न पनि सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्