Logo

ललितपुर, भरतपुर र वीरगन्जको प्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित

महानगर हाँक्ने एक्ली महिला , विप्लव काफ्ले

गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत मंगलबार तीनवटा महानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वीरगन्ज महानगरपालिका, भरतपुर महानगरपालिका र ललितपुर महानगरपालिकाको नतिजा सार्वजनिक भएको हो ।
वीरगन्जको मेयरमा सत्ता गठबन्धनको तर्फबाट जसपाका राजेशमान सिंह निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।
त्यसैगरी भरतपुरको मेयरमा सत्ता गढबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका छन् ।
यता, ललितपुर उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा नेकपा एमालेकी मञ्जली बज्राचार्य निर्वाचित भएका छन् ।
स्थानीय निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै करिब एक दर्जन पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।
काठमाडौं र पोखरा महानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिकालगायत केही नगरपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ ।
नतिजा सार्वजनिक भएकामध्ये ३२२ पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसले १८८ गाउँपालिको अध्यक्ष र १३४ नगरको प्रमुखमा जित हासिल गरेको छ । एमालेले १२३ गाउँपालिका अध्यक्ष र ७९ नगरप्रमुख गरी २०२ पालिका प्रमुख जितेको छ ।
यसैगरी नेकपा (माओवादी केन्द्र) २५ नगरप्रमुख र ९६ गाउँपालिका अध्यक्षसहित १२१ पालिकामा विजयी भएको छ । एकीकृत समाजवादीले ११ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ३० नगरमा विजयी भएको आयोगले जनाएको छ । जनता समाजवादी पार्टीले २१ नगरप्रमुख तथा साना दल र स्वन्तन्त्र उम्मेदवारले ३२ गाउँपालिका अध्यक्ष जितेका छन् ।
कांग्रेसले १०६ उपप्रमुख र १९० उपाध्यक्ष, एमालेले १०६ उपप्रमुख र १२६ उपाध्यक्ष, माओवादीले ३३ उपप्रमुख र ९५ उपाध्यक्ष, जसपाले उपप्रमुख ११ र १९ उपाध्यक्ष तथा अन्य दलले २३ उपप्रमुख र ३० उपाध्यक्ष जितेका छन् ।
कांग्रेस सबैभन्दा बढी दुई हजार ६३२ वडामा विजयी भएको छ । एमाले दुई हजार ११२, माओवादी एक हजार ४९, जसपा २९१ र अन्य दल तथा स्वतन्त्र ५८५ वडामा विजयी भएका आयोगको तथ्यांक छ ।

भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएकी छन् । उनी दोस्रोपटक मेयरमा निर्वाचित भएकी हुन् ।
उनी ५२ हजार २८ मत ल्याएर निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४६ मतान्तरले पराजित गरेकी छन् ।
सुवेदीले ३९ हजार ५ सय ८२ मत ल्याए । स्वतन्त्र मेयरका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याए । यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भए । उनँले प्रतिस्पर्धि राप्रपाका हिमला गुरुङलाई २२ हजार १ सय ९२ मतान्तरले पराजित गरे । चित्रसेनले ५२ हजार ८ सय ३ र हिमलाले ३० हजार ६ सय ११ मत ल्याए ।
मेयरमा पुनः निर्वाचित दाहालले विगतमा रहेका दीर्घकालिन महत्वका अधुरा योजनाहरुलाई पुरा गर्ने प्रतिवद्धता जनाएकी छन् । ‘जनताप्रति थप उत्तरदायी भएर लाग्नेछु । यहाँका समस्या, अवश्यकता हामीले अनुभव लिइसकेका छौँ, जनतालाई निराश हुन नदिने गरी काम गर्नेछु,’ उनले भनिन् । देशकै नमुना स्मार्ट सिटी बनाउने प्रतिवद्धता उनको छ । सिटी हल, प्रशासनीक भवन, नारायणी तटबन्धन, रंगशाला लगायतका पूर्वाधार पूरा गर्न लागिपर्ने उनले बताइन् ।
भरतपुर महानगरमा १ लाख २७ हजार ६ सय ४० मत खसेको थियो । महानगरमा नेपाली कांग्रेस पहिलो शक्ति बनेको छ । कांग्रेसका १ उपमेयर सहित ७५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ नम्बर वडामा गरी १६ जना वडाध्यक्षहरु निर्वाचित भएका छन् । खुल्ला सदस्यमा ३० जना, महिला सदस्यमा १२ जना र दलित महिला सदस्यमा १६ जना निर्वाचित भएका छन् । एमाले दोस्रो शक्ति बनेको छ ।
एमालेले ६ वडाध्यक्ष सहित ५२ जना निर्वाचित भएका छन् । ३, ११, १२, १९ र २८ नम्बर वडामा वडाध्यक्ष जितेको छ । २१ जना खुल्ला सदस्य, १४ जना महिला सदस्य र ११ जना दलित महिला सदस्य जितेको छ । तेस्रो शक्तिका रुपमा माओवादी केन्द्र देखिएको छ । माओवादी केन्द्रबाट भरतपुरमा १० जना जनप्रतिनिधि निर्वाचित भएका छन् । मेयर, ३ जना वडाध्यक्ष, ४ जना खुल्ला सदस्य र २ जना दलित महिला सदस्य निर्वाचित भएका छन् ।
वडाध्यक्षमा माओवादी केन्द्रले जितेका वडाहरुमा १३, २४, २६ नम्बर वडामा वडाध्यक्ष जितेको छ । एकिकृत समाजवादी चौथो शक्ति बनेको छ । ७, ९ र २२ नम्बर वडामा वडाध्यक्ष, महिला सदस्यमा २ जना सहित ५ जना निर्वाचित भएका छन् । राप्रपाले ४ वटा वडा सदस्य जितेको छ । राप्रपा पाँचौ शक्ति बनेको छ । स्वतन्त्र उम्मेदवारका रुपमा वडा नम्बर २५ को वडाध्यक्ष जितेको छ । यसअघि २०७४ को चुनावमा कांग्रेस र एमाले बराबरी शक्तिका रुपमा थिए । कांग्रेसले त्यो बेला उपमेयर, १३ जना वडाध्यक्ष र ५६ जना वडा सदस्य जितेको थियो । एमालेबाट १३ जना वडाध्यक्ष, ५६ जना वडाध्यक्ष जितेको थियो । राप्रपाले त्यो बेला भरतपुरमा एक सिट पनि जित्न सकेको थिएन । एमाले विभाजित भएर बनेको एकिकृत समाजवादीले यसपाली भरतपुरमा आफ्नो आस्तित्व जमाएको छ ।

प्रतिक्रिया दिनुहोस्