Logo

स्याङ्जामा डायलाइसिस र ब्लड बैंक स्थापना

स्याङ्जा – स्याङ्जा सदरमुकामस्थित पुतलीबजारमा डायलाइसिस सेवालाई विस्तार र रक्त बैंक स्थापन गरिने भएको छ । मृगौला बिरामीलाई नियमित डायलाईसिसको लागि जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य र रगतको अभावमा नागरिकको ज्यान जान नदिन रक्त बैंक स्थापना गर्न लागिएको हो ।

पुतलीबजार नगरपालिकाको कार्यपालिकाको पहिलो बैठकले सेवा विस्तार र रक्त बैंक स्थापन गर्ने पहिलो निर्णय गरेको छ । जिल्ला अस्पतालमा नियमित रुपमा सञ्चालन हुँदै आएको डायलाईसिस सेवाको विस्तार र थप प्रभावकारी बनाउन आवश्यक स्वास्थ्यकर्मी, बायोमेडिकल टेक्निसियन तथा पूर्वाधारको व्यवस्थापन नगरपालिकाले गर्ने भएको छ ।

जिल्ला अस्पतालमा हाल नियमित रुपमा १२ जना मृगौला विरामीले डायलाइसिस सेवा लिँर्दैै आएका छन् । नगरपालिकाको यो निर्णयसँगै केही दिनभित्रमा आवश्यक पूर्वाधारको तयार गरी झण्डै ४५ जनालाई सहज रुपमा सेवा प्रवाह गर्न लागिएको छ । जिल्लामा हाल करिब ८० जना मृगौला बिरामीको नियमित डायलाईसिस गनुपर्ने छ ।

लाखौं रुपैयाँ खर्च गरेर उपचारको क्रममा डायलाईसिस गर्नुपर्ने मृगौला बिरामीको मागलाई ध्यानमा राखेर डायलाईसिस सेवालाई प्रभावकारी बनाउन लागिएको गर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । मृगौला बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गरिने नगर प्रमुख रेग्मीले बताए । चुनावी घोषणा पत्रमा काँग्रेस स्याङ्जाले डायलाईसिस सेवालाई विस्तार र प्रभावकारी बनाउनेसमेत प्रतिवद्धता जनाएको थियो ।

कार्यपालिका बैठकले पुतलीबजार नगरक्षेत्रमा ब्लड बैंक स्थापना गर्ने निर्णय गरेको छ । जिल्लाका सरोकारवाला निकायसँगै रेडक्रस सोसाईटीको समन्वयमा यथाशीघ्र ब्लड बैंक स्थापना गरिने भएको छ । आर्थिक वर्ष २०७८/७९ मा विपद् व्यवस्थापन कोषमा विनियोजित बजेटबाट १० लाख बजेट निकासा गरी ब्लड बैंक स्थापना गर्न लागिएको हो ।

जिल्ला अस्पतालमा शल्यक्रिया मार्फत हुने सुत्केरी सेवा र अन्य विरामीलाई अत्यावश्यक पर्ने रगत सहज उपलब्ध गराउन ब्लड बैंक स्थापन गर्न लागिएको हो । रगत अभावमा सुत्केरी र अन्य विरामीको अकालमै मृत्यु हुनबाट रोक्न ब्लड बैंकले सहज भूमिका निर्वाह गर्ने स्थानीयले विश्वास गरेका छन् । यो निर्णयसँगै जिल्लामा रगत अभावमा जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।

पालिकाको पहिलो बैंठकले नगरपालिकाको संस्थागत विकासको अवस्था र नगरभित्र सञ्चालित योजना तथा कार्यक्रमका बारेमा प्रमुख प्रशासकीय अधिकृतबाट कार्यपालिकाले जानकारी लिएको छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने योजना तथा कार्यक्रमहरू तत्काल अगाडी बढाउने र समयसिमामै सम्पन्न गर्न आवश्यक निर्देशन दिएको नगर उपप्रमुख देबी अर्यालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्