Logo

पुरानै कार्यक्रमको निरन्तरता

सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई दोहो-याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार अल्झिएको उनीहरुको तर्क छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा अगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । ६५ पेज लामो नीति तथा कार्यक्रममा सरकारले विभिन्न नीति र कार्यक्रमलाई अगाडि सारेको छ ।
वित्तीय र मौद्रिक औजार परिचालन गरी सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट समष्टिगत आर्थिक स्थायित्व कायम गरी तीव्र आर्थिक वृद्धि हासिल गर्नेतर्फ सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम लक्षित गरेको पनि जनाएको छ ।
नीति तथा कार्यक्रममार्फत आगामी आर्थिक वर्षमा सार्वजनिक खर्चलाई नतिजामुखी बनाइने, कर प्रणालीको पुनरावलोकन गर्ने, आन्तरिक उत्पादन र औद्योगिकरणका लागि पूर्वाधार निर्माण गर्ने, गरिब तथा विपन्नलाई परिचयपत्र वितरण गर्ने सरकारले बताएको छ । त्यस्तै कृषिलाई आर्थिक वृद्धि र रोजगारीसँग जोड्ने, प्रधानमन्त्री कृषि आधुनीकिकरण कार्यक्रमलाई पुनर्संरचना गर्ने, रासायनिक मलको आपूर्ति सुनिश्चित गर्ने, भूउपयोग नीति र कानुन बमोजिम भूमि वर्गीकरण गर्ने, राज्यको सम्पत्ति संरक्षण गर्ने जस्ता कार्यक्रमलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउने बताएको छ ।
आगामी दशकलाई ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवद्र्धन कार्यक्रम’को रुपमा सञ्चालन गर्ने, पूर्वपश्चिम रेलमार्ग निर्माण गर्न पूर्वतयारी गर्ने, सुर्खेतमा नयाँ क्षेत्रीय विमानस्थल बनाउने, दाउन्ने र मझिमटारमा सुरुङमार्ग बनाउने, नेपाल सरकारको लगानीको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने, देशभर १०० नमुना विद्यालय बनाउने तथा नेपालले आफ्नै स्याटेलाइट सञ्चालन गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै पनि नीति नदेखिएको र अधिकांश पहिलेकै कार्यक्रम दोहोरिएको पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । “पुरानो नीतिलाई जोडघटाउ गरेको देखियो । जुन किसिमले हिजोको सरकारलाई आलोचना गरिन्थ्यो, आज तिनै कार्यक्रमहरु दोहोरिएका छन्,” उनले भने । पहिले समाजवाद उन्मुख कार्यदिशा नदेखिएको भनेर आफ्नो सरकारलाई आलोचना गरिएको बताउँदै खतिवडाले अहिले केही पनि नयाँ नदेखिएको बताए । “सरकारको प्राथमिकता खोइ भनिन्थो, अहिले त्यो पनि देखिएन । हामी आर्थिक संकटको अवस्थामा पुग्न लागेका छौं, अर्थतन्त्रमा समस्या छ । स्वास्थ्यका चुनौतीहरु समाधान भइसकेका छैनन् । कोभिडले आक्रान्त पारेको अर्थतन्त्र छ । यी कुरा प्राथमिकतामा पर्नुपर्ने होइन ? तर, देखिएन,” उनले भने ।
हिजो आलोचना गरिएका नीति तथा कार्यक्रमलाई अहिले पनि निरन्तरता दिइएको खतिवडाको तर्क छ । अघिल्लो सरकारलाई ठूला आयोजना किन बजेटमा हालेको भनेर आलोचना हुने गरेको बताउँदै उनले अहिलेको सरकारले पनि रेल, पानीजहाज, सडक र सुरुङकै कुरा गरेको बताए । एकातर्फ स्रोत बाँड्ने कुरामा सरकार व्यवहारिक हुने बताइएको तर कार्यक्रम हेर्दा त्यस्तो नदेखिएको खतिवडाले बताए । त्यस्तै सुर्खेतमा विमानस्थल बनाउने विषयमा पनि खतिवडाले असन्तुष्टि व्यक्त गरेका छन् ।
पूर्व अर्थसचिव रामेश्वर खनाल पनि सरकारले दशौं वर्षदेखि गरिआएका कुराहरु नै दोहो-याएर प्रस्तुत गरेको बताए । केही नयाँ कार्यक्रमहरु आए पनि ती कार्यक्रमहरु कार्यान्वयन हुने नदेखिएको उनले बताए । “सरकारको आयु नै मंसिरसम्म छ । तर, दीर्घकालीन योजनाहरु छन् । नीति तथा कार्यक्रममा कतिपय कुराहरु दोहोरिएका छन् र मन्त्रालयगत कार्यक्रमहरुले समेत प्राथमिकता पाएका छन् । फुटपाथ बनाउनेदेखि सहरी सौन्दर्य वृद्धि गर्ने जस्ता सानातिना कुराहरु पनि देखियो, जुन मन्त्रालयगत रुपमा पहिलै आएका छन्,” उनले भने ।
त्यस्तै सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रम एकअर्कोमा बाझिएको खनालले बताए । “आयोजना बैंकमा नपरेको, पूर्व तयारी नभएको र राष्ट्रिय योजना आयोगले स्विकृत नदिएको आयोजना बजेटमा पारिने छैन भनेर नीतिमा भनियो । तर, अध्ययन नै नभएको, आयोजना बैंकमा नै नपरेको भए पनि सुर्खेतमा क्षेत्रीय स्तरको विमानस्थल बनाउने भनियो,” उनले भने ।
अर्थशास्त्री डा. डिल्लीराज खनालले सरकारले अर्थतन्त्रमा देखिएको संकटको गहिराइलाई सामान्य रुपमा लिएर नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताए । “कतिपय कुराहरुमा आयोजना बैंक र खर्चलाई मितव्ययितासँग जोड्ने कुराहरु नयाँपन दिने कुरा स्वाभाविक हो । तर त्योसँग जोडेर ठोस नीति तथा कार्यक्रम आउनुपर्नेमा त्यसैलाई जोडेर सरकारले ल्याउन सकेन,” उनले भने । कतिपय कुराहरु राम्रा देखिए पनि ठोस कार्यान्वयनको नीति आउन नसकेको उनले बताए । खनालले भने, “मूलतः सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्रालयमुखी, छरपष्ट, समान प्रकृतिका र अघिल्ला सरकारले ल्याएका कार्यक्रमकै निन्तरता हो ।”

प्रतिक्रिया दिनुहोस्