यामाहाको आर १५ एम मोडलको नयाँ मोटरसाइकल नेपाली बजारमा «

यामाहाको आर १५ एम मोडलको नयाँ मोटरसाइकल नेपाली बजारमा

यामाहाको सुविधासम्पन्न बाइक आर १५ एम आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ ।
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो ।
जेनेसिस क्याफेमा पत्रकार सम्मेलन गरी लञ्च गरिएको सो बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी रहेको छ ।
एम र आर–सिरिज जस्ता रेसिङ दुनियाँमा ख्याती कमाएका बाइकको पाँचौँ जेनेरेशन भनिएको यस आर १५ एम मूलतः ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक रहेको कम्पनीको भनाइ छ । नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ–कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू–लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले आर १५ एम १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ । नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको आर १५ एमको मूल्य नेपाली बजारमा ५७९९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्