Logo

इतिहासमै पहिलोपटक उच्च आर्थिक वृद्धिदर : गभर्नर

विराटनगर-नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नेपालको इतिहासमा पहिलोपटक उच्च आर्थिक वृद्धिदर हासिल भएको बताएका छन् । विराटनगरस्थित नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको नवनिर्मित भवनको उद्घाटन गर्दै गभर्नर नेपालले आर्थिक वृद्धिदरले मुलुकको आर्थिक विकासको सकारात्मक संकेत गरेको बताए । उनले संविधान, स्थायी सरकार, लोडसेडिङमुक्तलगायतका सकारात्मक अवस्थाका कारण आर्थिक गतिविधि बढेको दाबी गरे ।
गभर्नर नेपालले सकारात्मक परिस्थितिहरूमा आर्थिक गतिविधि बढेसँगै तेस्रो पटक ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्न सकिएको उल्लेख गरे । उनले भने, “मौसमअनुकूल हुँदा कृषिजन्य उत्पादनको वृद्धि हुने देखिएको छ । लगानीको वातावरण बनेको छ । आर्थिक चहलपहल बढेको छ । आर्थिक वृद्धिदरले जनतामा उत्साह थपेको छ ।”
गभर्नर डा. नेपालले पछिल्लो समयमा आर्थिक गतिविधि र कर्जाको प्रवाह बढ्नुलाई सकारात्मक लिँदै आर्थिक वृद्धिदर बढ्ने स्पष्ट पारे । उनले पछिल्लो समयमा भएका आर्थिक गतिविधिलाई हेर्दा आशालाग्दा कामहरू सुरू भएको बताउँदै कर्जा वृद्धि २२ दशमलव ५ प्रतिशत रहेको जानकारी दिए ।
“कर्जा वृद्धिलाई हेर्दा यसले गलत ट्रयाक लिन्छ कि भन्ने समेत चिन्ता रहेको हुँदा कहिलेकाहिं निर्देशन दिनुपर्ने र होल्ड गर्नुपर्ने अवस्था छ,” उनले भने । उनले बैंक तथा वित्तीय संस्थालाई जनताको पैसा लिएर मनपरी गर्ने छुट कसैले नदिइएको स्पष्ट पारे । बैंक तथा वित्तीय संस्थालाई थप मनपरी हुनबाट रोक्नका लागि सञ्चालकको दबाबमा प्रमुख कार्यकारीले मनपरी बैंकको ब्याज बढाउने गरेको गुनासोलाई ध्यानमा राखेर अब सीईओ राख्दा नै राष्ट्रबैंकले अनुमति दिएको व्यक्तिबाहेकलाई राख्न नपाउने व्यवस्था लागू गर्न लागिएको जानकारी दिए ।
समस्याग्रस्त १६ वटा बैंक तथा वित्तीय संस्थामध्ये १४ वटा सञ्चालनमा आइसकेको र बाँकी २ वटासमेत पुनः सञ्चालनको तयारीमा रहेको उनले बताए । उनले भने, “अहिले जेमा पनि लगानी गर्दा फाइदा लिन सक्ने भएकाले गलत रूपमा लगानी नहोस् भन्नका लागि राष्ट्रबैंक सचेत रहेको छ ।” गभर्नर नेपालले बैंक तथा वित्तीय संस्था जनताको सम्पत्ति भएकाले नाफा खाने नाममा आफूखुसी गर्न नपाइनेसमेत बताए । “बढी नाफा खाने उद्देश्यले व्यापार गर्ने भए अरु धेरै क्षेत्र खुला छन्,” उनले भने, “जनताको पैसा लिएर बैंक तथा वित्तीय संस्थाहरूले जनताको विश्वासविपरीतको गतिविधि गर्ने छुट छैन ।”
गभर्नर नेपालले अहिले पनि देशको कुल जनसंख्याको ५५ प्रतिशत मानिस कुनै पनि बैंक तथा वित्तीय संस्थामा आबद्ध हुन नसकेको बताउँदै २० प्रतिशत युवाको अझै पनि खल्तीमै पैसा राख्ने बानी रहेको बताए ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बैंक तथा वित्तीय संस्थाले मनपरी ढंगले अत्यधिक ब्याज लिइरहेका कारण उद्योगी तथा व्यवसायी र बैंकबीच फाटोको अवस्था रहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरू नाफामुखी भएको आरोप लगाए । उनले बैंकले व्यापारीलाई पेल्ने काम गरेको बताए । अत्याधिक नाफा कमाउने बैंक तथा वित्तीय संस्थाहरूलाई छुट दिएको आरोप लगाउँदै कारबाही गर्नुपर्ने माग अघि सारे । घिमिरेले भने, “हामी व्यापारीले २० प्रतिशतभन्दा बढी मुनाफा कमाए कालोबजारीमा जेल हालिन्छ । बैंकहरूले अर्बौं मुनाफा कमाउँदा पनि वास्ता गरिँदैन ।”
मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बैंकहरू नाफाखोर भएको गुनासो गरे । राष्ट्रबैंकले उद्योग तथा व्यवसाय पनि सहज रूपमा चल्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरे । “बैंकको चर्को ब्याजकै कारण धेरै उद्योगीहरू पलायन हुने अवस्थामा पुगेका छन्,” उनले भने, “बैंकहरू पुरानो जमानाका गाउँका साहु महाजनजस्तै भएका छन् ।”
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ११ लाख ३५ हजारको लागतमा भवनको निर्माण सम्पन्न गरेको हो । भवन निर्माणसँगै भाडामा रहेको बैंकको केन्द्रीय कार्यालय आफ्नै भवनमा सरेको प्रबन्धक सञ्चालक मणिकुमार अज्र्यालले जानकारी दिए । नेपाल ग्रामीण विकास समाज केन्द्रको नाममा सुरू भएको वित्तीय संस्था अहिले नेरुडे लघुवित्त विकास बैंकको रूपमा सञ्लान हुँदै आएको छ । देशका ३० जिल्लामा ८८ शाखामार्फत सेवा प्रवाह गर्दै आएको संस्थामा १ लाख ३२ हजार सदस्यहरूमा ८४ हजार २ सय ९५ घर परिवारमा पुगेको अज्र्यालले जानकारी दिए । आगामी दिनमा ७७ जिल्लामा नै सेवा प्रवाह गर्नका लागि तयारी भइरहेको उनले बताए । ४ अर्ब ६६ करोड ऋण लगानी तथा १ अर्ब ७७ करोड बचत गर्दै यस वित्तीय संस्थाको हाल ३० करोड ७६ लाख ४७ हजार चुक्ता पुँजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्