गर्मीमा ‘लु’ बाट जोगिने उपाय «

गर्मीमा ‘लु’ बाट जोगिने उपाय

अधिकांश मानिसलाई सायद गर्मीभन्दा जाडो मौसम नै मन पर्छ । किनकि गर्मी मौसममा चल्ने तातो हावाले धेरैलाई सताउने गर्छ । छाता नबोकी घरबाट निस्किनु भनेको चर्को घाम र आकाशबाट पर्ने पानीको चपेटामा पर्नु हो । किनकि एकछिन बिनाछाता यस्तो चर्को घाममा हिँड्नु भनेको सूर्यको किरणले छालामा प्रभाव परी छाला डढ्नु मात्र नभई छालामा अनेकौं समस्या जस्तै— खटिरा, एलर्जी पनि आउने गर्छ । गर्मी भएर पसिना आउनु र निसास्सिनु त स्वाभाविक कुरा नै हो । त्यसमाथि आजकाल त झनै बिनामौसम पानी पर्ने हुनाले अहिले नै बर्सात सुरु भइसकेको जस्तो अनुभव भइसक्यो ।
गर्मी मौसम नजिकिनासाथै शरीरमा आलस्यपन आउने गर्छ । जाडो मौसममा जस्तो जे खाए पनि पच्ने, मीठो हुने र जोसजाँगर गर्मी महिनामा अत्यन्त कम नै लाग्ने गर्छ । त्यसैले गर्मी मौसममा अधिकांश मानिसले चिसो पेय पद्धार्थहरू, जस्तै— दही, मोही, कोक, फ्यान्टाजस्ता विभिन्न प्रकारका पेय पद्धार्थहरू सेवन गर्ने गर्छन् । र, यतिबेला यस्ता पेय पद्धार्थहरू, आइसक्रिमहरूको अत्यधिक मात्रामा माग र बेचबिखन हुने गर्छ । यतिबेला यहाँ उपत्यकामा भन्दा पश्चिमतिर गर्मी अत्यधिक हुने गर्छ । यतिको गर्मी त हामीलाई सहन गा-हो हुने गर्छ भने त्यहाँ बस्ने मानिसहरूलाई कस्तो होला, हामी आफैं अनुमान लगाउन सक्छौं ।
धनाढ्य र पहुँच हुनेहरूको हकमा घरघरमा एसी, कुलर, पंखा, फ्रिज होला, तर जसको आर्थिक अवस्था नाजुक छ, जो ज्याला–मजदुरी गरेर आफ्नो गुजारा गर्ने गर्छन् त्यस्ता व्यक्तिहरूले त्यहाँको गर्मी कसरी झेलिरहेका होलान् भनेर कल्पना गर्दासमेत मन पोल्ने गर्छ । त्यसैले गर्मीको तापक्रम बढ्नासाथै पश्चिम तराईका विभिन्न ठाउँमा चर्को घाम र तातो हावा चल्ने हुँदा अधिकांश मानिस बिरामी हुनुका साथै लु लाग्नुको कारणले ज्यानसमेत जान सक्छ । हिमाल अनि लेकमा अक्सिजनको कमी भएमा लेक लाग्छ भनेजस्तै अत्यधिक गर्मीले ‘लु’ लाग्ने गर्छ । तराई क्षेत्रमा गर्मी बढ्दै गएमा ‘लु’ वा हिट स्ट्रोकको समयमा उपचार नभएको खण्डमा ज्यान समेत जान सक्ने हुनाले हामी सबै सजग हुन जरुरी छ । किनकि गर्मीले शरीरमा नुन र पानीको मात्रा कम भएमा ‘लु’ लाग्न सक्छ ।
शरीरले ३७ डिग्री सेल्सियस अर्थात् ९८.६ डिग्री फरेनहाइट भएमा राम्ररी काम गर्छ । तर नेपालमा तत्काल ‘लु’ लाग्ने गरी तापक्रम बढ्ने सम्भावना कम छ । त्यसैले लु लागेमा देखिने लक्षणहरूबाट हामी अवगत हुन जरुरी छ । ‘लु’ लागेमा उच्च ज्वरो आउने, हृदयको गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप कम हुने, डिहाइड्रेसन हुने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १ सय ४ डिग्री फरेनहाइटभन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने, झाडाबान्त लगायतका समस्या देखिन थाल्छ ।
‘लु’ ले गर्भवती, कुपोषित बालबालिका र घरबाहिर कडा परिश्रम गर्नेहरूलाई चाँडै प्रभावित पार्छ । त्यसैले ‘लु’ बाट जोगिन निम्न उपाय अपनाउन सकिन्छ । जस्तै— दिउँसो घरबाट बाहिर ननिस्कने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, चिसो पानीले नुहाउने, क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेय पदार्थ नपिउने, फलफूलको रस र पानी पिउने, सधैँ पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, खेतबारीमा कामकाज गर्दा सकभर बिहान वा बेलुका गर्ने, मदिरा सेवन नगर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, यसका साथै बस्ने स्थानलाई शीतल राख्नेजस्ता उपाय अपनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्