नेप्से परिसूचक १७ महिना यताकै न्यून «

नेप्से परिसूचक १७ महिना यताकै न्यून

सेयर बजार मापक नेप्से परिसूचक १७ महिना यताकै न्यून विन्दुमा झरेको छ ।
पछिल्लो समय निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिना यताकै न्यून विन्दुमा झरेको हो ।
साताको पहिलो कारोबार सोमबार नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ । यो भन्दा अघि २३ पुस २०७७ मा नेप्से परिसूचक २१९४.४८ विन्दुमा कारोबार भएको थियो । त्यस्तै, यता सेन्सेटिभ इण्डेक्स ५.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०३ अंकले घटेको छ ।
सोमबार कारोबारमा आएका २२४ कम्पनीको ३९ लाख १७ हजार कित्ता सेयर १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक उच्च अंकले गिरावट आए पनि अघिल्लो कारोबारको तुलनामा कारोबार रकम बढेको छ ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । त्यस्तै, बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
सोमबार नेप्से परिसूचक गिरावट आए पनि २० कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ६.२० प्रतिशत बढेको छ । प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ५.२६ प्रतिशत बढेको छ । तर यता, मिथिला लघुवित्तको सेयरमूल्य ५.८९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा ४ करोड १५ लाख ९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर नबिल बैंक शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्