भक्तपुरमा मेलम्चीको पानी वितरण हुने «

भक्तपुरमा मेलम्चीको पानी वितरण हुने

भक्तपुरमा मेलम्चीको पानी वितरण हुने भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलनकुमार शाक्यले सोमबार भेट गर्दै केही २–३ दिनभित्रै मेलम्चीको पानी वितरण गरिने बताए । भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरमा पानीको सहज वितरणलाई प्राथमिकतामा राख्दै आएको बताउँदै खानेपानीको समस्या समाधान छिटै गर्नु आवश्यक भएको बताए । उनले खानेपानीको समस्या हाल भक्तपुरको महत्वपूर्ण समस्याको रूपमा रहेको बताउँदै जनतालाई छिटोभन्दा छिटो सहज तरिकाले मेलम्चीको पानी वितरणमा जोड दिनुपर्नेमा जोड दिए ।
भेटमा केयूकेएलका प्रमुख मिलनकुमार शाक्यले जनप्रतिनिधिहरूले खानेपानी व्यवस्थापनमा चासो लिएकोप्रति धन्यवाद दिँदै अबको २–३ दिनभित्रै कटुञ्जे पानी ट्यांकीबाट मेलम्चीको पानी भक्तपुरमा वितरण हुने तयारी भइरहेको बताए । उनले पानीको स्रोत बढाउने प्रत्यत्न पनि भइरहेको र सुन्दरीजलमा थप १० करोड लिटर थप्ने योजना अघि बढाइरहेको दाबी गरे ।
उनले महादेव खोलामा बाँध बाँधेर भक्तपुरमा पानी वितरण गर्ने योजनालाई अघि बढाउने पहल भइरहेको बताउँदै प्रमुख शाक्यले भक्तपुरबासीलाई सहज पानी उपलब्ध गराउन केयूकेएलले निरन्तर प्रयास जारी राखेको बताए ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरि, केयूकेएल भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठ, ई. चेतबहादुर ऐरलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्