गण्डकीका अध्यक्षकोे निर्णय ठेक्का प्रक्रिया रद्द «

गण्डकीका अध्यक्षकोे निर्णय ठेक्का प्रक्रिया रद्द

गोरखा-गोरखाको गण्डकी गाउँपालिकाले प्रशासकीय भवन तथा वडा नम्बर ६ र ८ को वडा कार्यालय भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रद्द गरेको छ । पालिकाले आइतबार राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै गत वैशाख ९ गते प्रकाशित सूचनाबमोजिम ई–बिडिङ प्रक्रिया रद्द गरिएको जनाएको हो । जेठ ६ गतेको बैठकको निर्णयअनुसार हाललाई ठेक्का प्रक्रिया द्दद्ध भएको प्रमुख प्रशासकीय अधिकृत वेदहरि ढकालले बताए । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपक तिमिल्सनाले सपथ ग्रहण गरेकै दिन ठेक्का प्रक्रिया रद्द गराउने निर्णय गरेका हुन् । भवन निर्माणका लागि प्राप्त प्रस्ताव सोमबार खुलाउने तयारी गरिएको थियो । गण्डकी गाउँपालिकाको केन्द्रका विषयमा विवाद रहँदै आएको छ । अर्को ठाउँमा पालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा गत आर्थिक वर्षको गाउँसभाले नीति, कार्यक्रम र बजेट पास गर्न सकेको थिएन । केन्द्रसम्बन्धी विवाद प्रक्रियागत रूपमा समाधान गर्ने दलीय सहमतिअनुसार गाउँसभा सम्पन्न भएको थियो ।
गाउँपालिका अध्यक्ष तिमिल्सिनाले भने भवन निर्माणका लागि स्रोत सुनिश्चित नभएकाले तत्कालका लागि ठेक्का प्रक्रिया रद्द गरिएको बताए । “पालिकाको केन्द्रका विषयमा पनि आगामी गाउँसभा र कार्यपालिकामा छलफल हुनुपर्ने देखियो,” उनले भने, “प्रशासनिक सुगमता हेरेर नयाँ ठाउँमा पनि पालिकाको केन्द्र रहन सक्छ । गाउँसभाले गरेको निर्णयअनुसार अघि बढ्छौं ।” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूको नामांकन र सीमांकन गर्ने क्रममा गण्डकी गाउँपालिकाको केन्द्र साविकको भूम्लीचोक गाविसको कार्यालयमा रहने भनी निर्धारण गरेको थियो । कुनै स्थानीय तहको नाम र केन्द्र हेरफेर गर्नुपर्दा निर्वाचन भएको ६ महिनाभित्र सामान्य बहुमतले र त्यसपछि दुई तिहाई बहुमतबाट पारित गरी प्रदेश सरकार हुँदै संघीय सरकारको मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ । आगामी गाउँ सभामा यसबारे छलफल हुने र सकेसम्म आमसहमति जुटाएर काम अघि बढाउने अध्यक्ष तिमिल्सिनाले बताए ।
अहिले केन्द्र रहेको भूम्लीचोकको ओखलडाँडामा प्रशासकीय भवन र वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माण गर्ने गरी डीपीआर तयार भइसकेको छ । त्यसका लागि स्थानीय बासिन्दाबाट करिब आठ रोपनी जग्गा उपलब्ध भएको छ । वडा नम्बर आठको कार्यालय भवनसमेत गरी प्याकेजमै टेण्डर आह्वान गरिएको थियो । तीनवटै भवन निर्माणका लागि करिब १२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पालिका अध्यक्ष तिमिल्सिनाले ओखलडाँडामा प्रशासकीय भवन बन्न नसके स्थानीयले दिएको जग्गालाई वडा कार्यालय भवनसहित सहिदपार्क, खेलकुद मैदानलगायतका संरचना निर्माणमा उपयोग गर्न सकिने बताए । गाउँसभाले सोही ठाउँ छनोट गरेमा भने स्रोत जुटाएर छिट्टै नयाँ ठेक्का प्रक्रिया सुरु गरी भवन निर्माणकार्य अघि बढाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्