चितवनका ६ पालिकामा एमाले पहिलो शक्ति «

चितवनका ६ पालिकामा एमाले पहिलो शक्ति

भरतपुर-भरतपुर महानगरबाहेकका चितवनभित्रका ६९ वडाको अन्तिम मत परिणाम केलाउँदा एमाले पहिलो शक्ति बनेको छ । ६९ वडामा चयन भएका ३ सय ५७ जना जनप्रतिनिधिमध्ये एमालेका १ सय ९१ निर्वाचित भएका छन् । कांग्रेसबाट १ सय २७ जना, माओवादीबाट २६ जना, राप्रपाबाट सातजना, एकीकृत समाजवादीबाट चारजना निर्वाचित भएका छन् । स्वतन्त्रबाट रत्ननगरमा एक र राप्तीमा एकजना वडाध्यक्ष विजयी भएका छन् ।
एमालेबाट प्रमुख तथा उपप्रमुख पदमा सातजना निर्वाचित भएका छन् । इच्छाकामना गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, कालिका नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । यस्तै माडी नगरपालिकामा प्रमुखमा जितेको छ भने उपप्रमुख पदमा खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका जितेको छ । एमालेबाट ६ पालिकाकामा ३१ जना वडाध्यक्ष बनेका छन् । इच्छाकामनामा पाँच, खैरहनीमा सात, कालिकामा चार, माडीमा एक, रत्ननगरमा पाँच , राप्तीमा नौजना वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेबाट १ सय ५३ जना वडा सदस्य चयन भएका छन् ।
कांग्रेसले खैरहनी र रत्ननगरमा प्रमुख पदमा जितेको छ । माडी र राप्तीमा उपप्रमुख जितेको छ । कांग्रेसबाट २३ जना वडाध्यक्ष निर्वाचित भएका छन् । इच्छाकामनामा एक, खैरहनीमा ६, कालिकामा पाँच, रत्ननगरमा नौ र राप्तीमा दुईजना कांग्रेसबाट वडाध्यक्ष चयन भएका छन् । वडा सदस्यहरूमा कांग्रसबाट ६ पालिकामा एक सय जना निर्वाचित भएका छन् ।
माओवादी केन्द्रबाट आठजना वडाध्यक्ष निर्वाचित भएका छन् । इच्छाकामनामा एक, कालिकामा दुई, माडीमा चार, रत्ननगरमा एक वडाध्यक्ष जितेको छ । ६ पालिकामा माओवादीबाट १८ जना वडासदस्य निर्वाचित भएका छन् । एकिकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पद जितेको छ भने ६ पालिकाको तीन वडामा वडाध्यक्ष जितेको छ । माडीमा दुई र राप्तीमा एक वडाध्यक्ष जितेको छ । राप्रपाले माडीबाट दुई वडाध्यक्ष र पाँच सदस्य पनि माडीबाटै जितेको छ । माओवादी केन्द्रबाट खैरहनी र राप्तीमा एकजना पनि जनप्रतिनिधि चयन हुन सकेनन् । एकीकृत समाजवादीबाट इच्छाकामना, खैरहनी, कालिका र रत्ननगरमा एक जना पनि जनप्रतिनिधि निर्वाचित हुन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्