बेसीसहरका ४४ जना उम्मेदारको धरौटी जफत «

बेसीसहरका ४४ जना उम्मेदारको धरौटी जफत

लमजुङ-वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा लमजुङको बेसीसहर नगरपालिकामा उम्मेदवार बनेका ४४ जनाको धरौटी जफत हुने भएको छ । कुल खसेको मतको १० प्रतिशत मत नल्याएका विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारको धरौटी जफत हुने भएको हो ।
निर्वाचन आयोगका अनुसार कानुनी व्यवस्थाबमोजिम बेसीसहर नगरपालिकामा नगर प्रमुखका तीन जना र उपप्रमुख पदका दुईजना, वडाध्यक्ष र अन्य सदस्य पदमा उम्मेद्वार बनेका ४४ जनाको धरौटी रकम जफत भएको हो । बेसीसहरमा धरौटी फिर्ता नहुने उम्मेदारमा प्रमुख उपप्रमुख पदसहित १९ जना विभिन्न वडामा अध्यक्षका उम्मेद्वार र २० जना अन्य सदस्य पदका उम्मेदार रहेका छन् ।
कुल २६ हजार २ सय ६ मतदाता रहेको बेसीसहर नगरपालिका अन्तर्गतका ११ वडामा १८ हजार १ सय ८५मत खसेको थियो । नगरपालिकामा खसेको मतमध्ये उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत भएको हो । वडाध्यक्ष तथा अन्य सदस्यले भने सम्बन्धित वडामा खसेको मतमध्ये १० प्रतिशत मत ल्याउन नसकेका हुन् ।
बेसीसहरमा विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये धरौटी जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मात्रै १६ जना रहेका छन् । सोबाहेक मंगोल नेसनल अर्गनाइजेसन र जनता समाजवादी पार्टीका आठ/आठजना उम्मेदवार रहेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका सातजना, चारजना स्वतन्त्र उम्मेदार र एकजना नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदार रहेका छन् ।
निर्वाचन आयोगले स्थानीय तह अध्यक्ष, उपाध्यक्ष, प्रमुख तथा उपप्रमुखका लागि एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो । त्यसैगरी वडाध्यक्षका लागि एक हजार रुपैयाँ र वडा सदस्यका लागि पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान थियो । यद्यपि महिला र दलित तथा अल्पसंख्यक समुदायवा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा ५० प्रतिशत छुट हुने व्यवस्था छ ।
कुल सदर मतको १० प्रतिशतभन्दा कम सदर मतपाउने उम्मेदवारको धरौटी जफत हुने ऐनमा व्यवस्था छ । तर निर्वाचित उम्मेदवारको हकमा यो लागू नहुने ऐनमा उल्लेख छ । सदर मतको १० प्रतिशतभन्दा कम सदर मत ल्याएरै कुनै उम्मेदवार विजयी भएका छन् भने त्यस्ताको हकमा धरौटी रकम जफत नहुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्