समयमै तटबन्ध नहुँदा कटानको जोखिममा बेनीबजार

म्याग्दी– कालिगण्डकी नदीको कटानबाट बेनी बजार जोगाउने तटबन्ध निर्माण नहुँदा कटानको जोखिममा बेनी बजार यथावत छ । गत वर्षको असार १ गते कालिगण्डकी नदीको उच्च बहावले भत्काएको क्षेत्रमा तटबन्धको काम सुरु नहुँदा बेनी बजार कटानको जोखिममा यथावत रहेको हो ।
बेनी नगरपालिका–७ म्याग्दी जेसिजको भवननजिक निर्माण कम्पनीले तटबन्ध निर्माण अझै सुरु गरेको छैन । कालिगण्डकी नदीको बहावले म्याग्दी जेसिज भवननजिक ग्याबिङ भत्काएको क्षेत्रमा यस वर्ष तटबन्ध निर्माणका लागि ठेक्का लागे पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा नदी कटानको जोखिम यथावत रहेको वडा नम्बर–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । स्थानीय सरकार, निर्माण वयवसायी र प्रशासन जिम्मेवार नबन्दा दिगो पूर्वाधार अभावले कटानको जोखिममा बजार यथावत रहेको बजारबासीको गुनासो छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालिगण्डकी र म्याग्दी किनारमा तटबन्ध लगाउन गत माघमा ठेक्का लगाएको थियो । कालीपुल बसपार्क क्षेत्रमा बाहेक अन्य ठेकेदारले काम सुरु गरेको छैन ।
तत्काल जोखिमयुक्त क्षेत्रलाई कटानबाट जोगाउन नगरपालिकाले दोभानस्थित बगरको ठुला ढुंगाको व्यवस्थापन गरेको नगरप्रमुख सुरत केसीले बताए । संरक्षणको काम सुरु नभएको क्षेत्रमा तत्काल ठुला ढुंगाहरू राख्ने काम गर्न निर्माण व्यवसायीलाई लगाएको केसीले जानकारी दिए । तत्काल यस क्षेत्रमा नदी बहावलाई रोक्न ठूला ढुंगाको बोलर स्किङ गरिने निर्माण व्यवसायी शिव जिसीले बताए ।
बेनी बजार संरक्षण काम रौताह–बीएनबी कन्ट्रक्सनले नौ करोड ४५ लाख १७ हजार ७ सय ४२ रुपैयाँमा ठेक्का लिएर २०८० साल पुससम्ममा सम्पन्न गर्ने सम्झौता रहेको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले जानकारी दिए । कालीपुलमा ८० र संगमचोक पछाडि म्याग्दी जेसिजको भवननजिकैको कालिगण्डकी किनारमा करिब १ सय ६८ मिटर आरसीसी र मंगलाघाटस्थित म्याग्दी किनारमा करिब ६० मिटर पर्खाल निर्माण ठेकेदारले गनुपर्छ । दिगो रूपमा संरक्षणको काम नुहुँदा बर्खायाम सुरुसँंगै म्याग्दी, रघुगंगा र कालिगण्डकी नदी किनारका बस्ती कटानको जोखिम कायम छ ।