नगरपालिकाका ९० जनालाई गाउँमै रोजगारी «

नगरपालिकाका ९० जनालाई गाउँमै रोजगारी

गुल्मी-मुसिकोट नगरपालिकाले ९० जना व्यक्तिलाई गाउँमै स्वरोजगार बनाएको छ । नगरभित्रका सडकलाई बाह्रै महिना सञ्चालन गर्ने र नागरिकको जीविकोपार्जनमा टेवा पु-याउने उद्देश्यले ९० जना लेन्थवर्कर नियुक्ति गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले लेन्थ वर्करहरूलाई नियुक्तिपत्र र सामग्री वितरण गरे । नगरपालिकाले ९० जनालाई गाउँमै रोजगारी प्रदान गरेकोमा खुसी व्यक्त गर्दै मन्त्री विष्टले काम सानो ठूलो नहुने बताए । उनले अबको केही समयमा प्रत्येक स्थानीय तहमा चार सय युवालाई कुनै न कुनै रोजगारी सिर्जना गर्ने बताए । “स्थानीय सम्भावनाका आधारमा गाउँमै रोजगार सिर्जना गर्न खोजिरहेका छौं,” मन्त्री विष्टले भने, “सबैका आशा र सपना विस्तारै पूरा हुनेछन् ।”
मुसिकोट नगरपालिकाले लेन्थ वर्कर व्यवस्थापन कार्यविधि–२०७५ निर्माण गरिएको नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले बताए । कार्यविधिको आधारमा लेन्थ वर्कर व्यवस्थापन समितिले उनीहरूको परिचालन गर्नेछ ।

मासिक साढे १३ हजार तलब
एकजना लेन्थ वर्करको मासिक पारिश्रमिक १३ हजार चार सय ५० तोकिएको छ । उनीहरूले वर्षभर मोटरबाटो खन्ने, झाडी सरसफाइ गर्ने, साना पहिरा पन्छ्याउने, नाली खन्ने र साना गाडीसमेत हिँडन मिल्ने बनाउनुपर्नेछ । मुसिकोट नगरपालिकाका नौ वडामा १० जनाका दरले ९० जना लेन्थ वर्कर भए पनि सडकको दूरीको आधारमा खटाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए । उनीहरूले कार्यालय समयमै काम गर्नुपर्नेछ ।
उनले प्रमुख सडकसँगै शाखा सडकको काम गरिने जानकारी दिए । प्रत्येक समूहमा लिडर बनाउने, ओभरसियरले काम र समय तोक्ने र अनुगमन गर्ने साथै थप काम गरे प्रोत्साहन र काम पूरा नभए पारिश्रमिक कटौती गरिने भण्डारीले बताए ।

५० प्रतिशत महिला
मुसिकोट नगरपालिकाले भर्खरै नियुक्त गरेका लेन्थ वर्कर अधिकांश दलित र जनजाति रहेका छन् । नगरले ५० प्रतिशत महिलाको व्यवस्थापन गरेको छ ।
समग्रमा अधिकांश विपन्न र दलित एवं जनजाति समुदाय रहेको लेन्थ वर्कर व्यवस्थापन समितिका संयोजक खडग थापाले बताए । नगरपालिकाले लेन्थ वर्करका लागि एक महिना विज्ञापन गरेको थियो । एक सय २६ जनाले आवेदन दिए । जसमध्ये एक सय १० जना अन्तर्वार्तामा समावेश भए भने छनोट समितिको मूल्यांकनको आधारमा ९० जना उत्तीर्ण भएका छन् । १० जनालाई वैकल्पिकमा राखिएको थापाले बताए ।
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सडक सफा गर्दा डोजरभन्दा लेन्थ वर्कर महंगो भए पनि स्वरोजगार सिर्जना भएको बताए । उनले डोजरमार्फत काम गर्दा सीमित व्यक्तिसँग काम र पैसा हुने भएकाले अहिले कम्तीमा ९० जनाको परिवार व्यवस्थापन गरिएकोमा खुसी व्यक्त गरे ।
उनले काम चोर प्रवृत्तिलाई भने अन्त्य गर्ने बताए । “पहिले काम पाइएन भनेर चौतारोमा कुरा काट्ने, काम पाएपछि ठग्ने प्रवृत्ति देखिएको छ,” लेन्थ वर्करलाई निर्देशन दिँदै सापकोटाले भने, “काममा तलमाथि हुनुहुँदैन ।” उनले गत वर्ष लेन्थवर्कर जनप्रतिनिधि बढी उत्तरदायी बनाउँदा समस्या देखिएकाले अहिले कार्यालयप्रति उत्तरदायी बनाएको बताए ।
यद्यपि जनप्रतिनिधिले उनीहरूको अनुगमन तथा निरीक्षण भने गर्नेछन् । केही दिनमै सेवा सर्त र अन्य सैद्धान्तिक विषय र प्रयोगात्मक प्रशिक्षणपछि काममा लगाइने मेयर सापकोटाले बताए । लेन्थवर्करको रूपमा आफूहरूलाई काम गरेर खाने अवसर दिएकोमा मुसिकोट नगरपालिका–१ पौदीकी जुना सार्कीले खुसी व्यक्त गरिन् ।
नगरपालिकाले केही वर्ष अघिदेखि लेन्थ वर्कर राख्दै आएको छ । गत वर्ष प्रत्येक वडाबाट ५ जनाका दरले लेन्थवर्कर राखेको थियो । यस वर्ष भने ५ जनाका दरले कामदार थपिएका छन् । पहिलेपहिले विशेषगरी वर्षायाममा सडकहरू अधिकांश बन्द हुन्थे । हाल भने लेन्थवर्कर राखेपछि यस क्षेत्रका सडक बाह्रै महिना सहज बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्