Logo

महँगा पर्यटक भित्र्याउन ‘वाइल्डलाइफ टुरिजम’

पछिल्लो समय स्वदेशी तथा विदेशी दुवै पर्यटकको लागि चितवन र नवलपरासी जंगल सफारीका लागि चर्चित क्षेत्रको रूपमा अर्कषक गन्तव्य बन्दै गएको छ । हात्ती तथा जिप सफारी मार्फत जंगल घुम्ने र जनावरको अवलोकन गर्न पर्यटकहरू घन्टौंसम्म चितवन राष्ट्रिय निकुञ्जभित्र घुम्ने गरेका छन् । चितवनको नारायणी किनारमा चराको अवलोकनको साथै बोटिङको समेत मज्जा लिन सकिन्छ । काठमाडौंबाट नजिकको गन्तव्य भएकाले पनि चितवन तथा नवलपरासी पर्यटकका लागि पहिलो रोजाइ हुने गरेको छ । जंगलभित्र गैंडा, घोरल, बाघलगायतका जनावर देख्न सकिन्छ ।
‘वाइल्डलाइफ टुरिजम’ को आर्कषण
मानिसहरू प्रकृतिसँग रमाउन र प्रकृतिमा रहेका अनेक जीवजन्तुलाई नजिकबाट हेर्ने चाहना राख्छन् । यस्तो गतिविधि विश्वमा सुरु भएको धेरै लामो समय भइसकेको छ । नेपालमा समेत यस्तो पर्यटकीय गतिविधि हुन थालेको करिब आधा शताब्दी भइसक्यो । वन्यजन्तुको वासस्थान वरपर गएर तिनलाई हेरेर आनन्द लिनु नै ‘वाइल्डलाइफ टुरिजम’ हो । विगतमा अफ्रिकामा मात्र हुने यो पर्यटन नेपालमा पनि स्थापित भइसकेको छ । नेपालको चितवन राष्ट्रिय निकुञ्जको वाइल्डलाइफ पर्यटन विश्वमा नै अब्बल रहेको प्रमाणित भइसकेको छ ।धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले यसलाई ‘एसियाको अफ्रिका’ को रूपमा वर्णन गर्ने गरेका छन् । वाइल्डलाइफ टुरिजम वातावरण तथा जंगली जीवजन्तुमैत्री टुरिजम हो, जसमा पर्यटकलाई जीवजन्तुको यथार्थ गतिविधिको अवलोकन गराइन्छ । टेम्पल टाइगरले सुरुवातदेखि नै नेपालमा वाइल्डलाइफ पर्यटनलाई प्रवद्र्धन गर्दै आएको छ ।
वाइल्डलाइफ टुरिजम अफ्रिकासँगै क्यानडा, अस्ट्रेलिया तथा दक्षिण एसियाली मुलुक भारत, बंगलादेश र श्रीलंकामा समेत प्रचलित छ । पछिल्लो समय विश्वभर वाइल्डलाइफ टुरिजम व्यापक रूपमा विस्तार भइरहेको छ । तर, नेपालमा चितवन राष्ट्रिय निकुञ्जभित्र संचालनमा रही वाइल्डलाइफ पर्यटन प्रवद्र्धन गर्दै आएका रिसोर्टहरू बन्द भएपछि नेपाल आउने गुणस्तरीय पर्यटकको संख्यामा कमी आएको पर्यटन व्यवसायीहरूले बताउने गरेका छन् । २०६९ असार मसान्तदेखि चितवनका ७ वटा होटलहरू बन्द भएका थिए ।
४८ वर्ष पुराना होटलहरूको सरकारले ०६९ असार मसान्तमा नवीकरण नगरेपछि होटल बन्द भएका हुन् । सर्वोच्च अदालतले होटल संचालन गर्न बाटो खोलिदिएको भए पनि वन मन्त्रालयले अनुमति दिएको छैन ।
निकुञ्जभित्र टेम्पल टाइगर जंगल रिसोर्ट, चितवन जंगल लज, गैंडा वाइल्ड लाइफ क्याम्प, मचान वाइल्ड लाइफ रिसोर्ट, आइल्यान्ड जंगल रिसोर्ट र टाइगर टप्स होटलहरू संचालनमा रहेका थिए । नेपालको वाइल्डलाइफ पर्यटनमा चितवन राष्ट्रिय निकुञ्जले दक्षिण एसियासँगै विश्वभर नै ख्याति दिलाएको टेम्पल टाइगर जंगल रिसोर्टका कार्यकारी अध्यक्ष वसन्तराज मिश्रले बताउँछन् । “राज्यको नियम मानेर सबै प्रक्रिया पूरा गरेर होटल संचालन गरेको र सरकारले दिएमा आगामी दिनमा समेत चितवनलाई ब्रान्डिङ गर्नमा सहयोग पुग्छ,” मिश्रले भने । नेपालको वाइल्डलाइफ टुरिजमलाई हेरेर भारतलगायत दक्षिण एसियामा नै जंगलभित्र होटल खोलेका हुन् तर नेपालमा भने बन्द गराइए । यसले पर्यटन क्षेत्रमा असर पारेको मिश्रको भनाइ छ ।
वाइल्डलाइफ टुरिजम भन्नेबित्तिकै अफ्रिका बुझिन्थ्यो । लामो र अथक प्रयासपछि नेपालमा पनि यो स्थापित भएको हो । वाइल्डलाइफ टुरिजममा नेपाल एसियाको ‘पायोनियर’ हो । यो टुरिजम वातावरण, कन्जरभेसन र टुरिजममा ब्यालेन्स हुने गरेको छ । वाइल्डलाइफ टुरिजमलाई सिंगल बिजनेसको रूपमा मात्र हेर्न नहुने मिश्रले बताए ।
वाइल्डलाइफ टुरिजममा मुख्य गरी ६० वर्ष कटेका पर्यटक आउने गरेका छन् । यस्ता पर्यटकलाई देशमा हुने मन्दीलगायत कुनै समस्याले पनि छुँदैन किनकि यस्ता पर्यटक रिटायर्ड लाइफ बिताइरहेका हुन्छन् । सरकारले यस्तो क्षेत्रमा लगानी गरेकै छैन ।
व्यवसायीको पहलमा भएको कदमलाई समेत सरकारले संरक्षण नगर्दा समस्या देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका होटल बन्द हुँदा नेपाल आउने ‘हाइ इन्ड टुरिस्ट’ को संख्यामा नै कमी आएको छ । ती होटलहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ३ हजारले रोजगारी पाइरहेको तथा प्रत्येक वर्ष सरकारलाई ३० करोड रूपैयाँभन्दा बढी राजस्व बुझाउँदै आएका थिए ।
महँगा पर्यटक वाइल्डलाइफमा
अफ्रिकामा वाइल्ड लज तथा होटलले प्रतिरात १५ सयदेखि २ हजार डलरसम्ममा कोठा बिक्री गर्छन् । अन्य मुलुकमा खुलेका स्तरीय होटेल–लजले पनि महँगा पर्यटकमात्र भित्र्याउने गरेका छन् । नेपालमा पनि ४ सयदेखि ८ सय डलरसम्ममा पनि बिक्री भएका थिए ।तर, जब निकुञ्जभित्रबाट होटल हटाइयो, पर्यटक अहिले अन्यत्र गएका छन् । नेपालमा पनि राष्ट्रिय निकुञ्जभित्र संचालनमा रहुन्जेल सबैभन्दा महँगा कोठा तिनै रिसोर्ट र होटलमा थियो ।
बफरजोनमा ग्रिन जंगल रिसोर्ट
टेम्पल टाइगर ग्रुपले २०१२ मा चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको रिसोर्ट बन्द भएपछि त्यही स्वरूपमा नवलपरासीको अमलटारीस्थित बफर जोनमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट संचालनमा ल्याएको छ । टेम्पल टाइगरले बफर जोनमा संचालनमा ल्याएको नयाँ रिसोर्टमा सुविधाभन्दा प्रकृतिसँग रम्ने विषयमा बढी केन्द्रित रहेको छ ।
उक्त रिसोर्ट स्थानीय रूपमा उपलब्ध सामग्रीहरूकै प्रयोग गरी निर्माण गरिएको छ । त्यहाँ काम गर्नेहरू ९५ प्रतिशत स्थानीय नै रहेका छन् । रिसोर्टमा जानेहरूले स्थानीय उत्पादनहरूकै स्वाद लिन पाउनेछन् । रिसोर्टमा जानेहरूले हात्ती सफारी, जिप सफारी, नारायणीमा बोटिङलगायत गतिविधि गर्न सक्छन् ।
नारायणीमा बोटिङका क्रममा घडियाल गोहीहरू देख्न सकिन्छ । चिसो याममा गोहीहरू घाम ताप्न नदी किनारमा निस्कने हुँदा दिउँसोको समयमा किनारमा दर्जनौंको संख्यामा देख्न पाइन्छ ।
त्यस्तै, जिप तथा हात्ती सफारी गरी चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका बाघ, एकसिंगे गै“डादेखि विभिन्न जीवजन्तु देख्न सकिन्छ । निकुञ्जमा दुई सय प्रजातिका पुतली तथा विभिन्न प्रजातिका चराचुरुंगीको आवाज सुन्न र तिनीहरूलाई अवलोकन गर्न सकिन्छ ।
“रिसोर्टमा जाने पाहुनाको लागि थारु नाचसमेत देखाइने गरिएको छ, जसले पर्यटकहरूलाई आकर्षित गर्दै लगेको छ,” मिश्रले भने । रिसोर्ट निकुञ्जभित्रको संरचना जस्तो थियो, सोहीअनुरूप संचालन गरेको मिश्रले जानकारी दिए ।
हात्ती सफारीले धानेको वाइल्डलाइफ टुरिजम
नेपाल वाइल्डलाइफ टुरिजमको पायोनियर मुलुक हो । नेपालले नै भारत, श्रीलंका, मलेसिया, थाइल्यान्ड र अस्ट्रेलियासम्म वाइल्डलाइफ टुरिजमको अभ्यास सिकाएको हो । विश्वमा अफ्रिका वाइल्डलाइफ टुरिजमका लागि प्रसिद्ध छ । त्यसपछि लोकप्रिय गन्तव्य नेपाल हो । नेपालको पर्यटनमा पहिलो आकर्षण हिमाल र दोस्रो वाइल्डलाइफ नै हो । व्यवसायीहरू भन्छन्, “चितवन र नवलपरासीबाट हात्ती सफारी निकाल्नासाथ यहाँको वाइल्डलाइफ पर्यटन धर्मराउँछ ।”
नेपालमा भने व्यक्ति–व्यक्तिले निकै नजिकबाट बाघ, गैँडालगायत जंगली जनावर देख्न सक्छन् । यसमा ठूलो भूमिका हात्तीको छ । चितवन र नवलपरासीको पर्यटन र होटेलमा हात्ती भएनन् भने व्यवसायी निकुञ्जभित्र सवारीसाधन चलाउन बाध्य हुन्छन् ।
सौराहा र यस आसपास दुई सयभन्दा बढी स्तरीय होटेल र त्यसमा अर्बाैं रूपैयाँ लगानी रहेको अनुमान छ । पछिल्लो समय होम स्टेसमेत फस्टाउने क्रममा छ । सबै होटेल र होम स्टेले हात्तीको साटो गाडी चलाउन थाले भने यहाँका वन्यजन्तु र वनस्पतिको अवस्था के होला ? पर्यावरण के होला ? सहजै अनुमान गर्न सकिन्छ । अर्कोतर्फ निकुञ्ज क्षेत्रभित्र वर्षाको समयमा गाडी चल्न सक्दैन । त्यसबेला पनि चोरीसिकारी नियन्त्रणका लागि नियमित गस्ती आवश्यक पर्छ । उक्त प्रयोजनमा हात्तीले दिएको योगदान अतुलनीय भएकाले विश्वभरबाट हात्ती सफारीमा रोक लगाउन चलेको अभियान नेपालले रोक्नुपर्ने व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्