Logo

क्यानको निर्णयमा ईपीएलका टिम मालिकको असन्तुष्टि

नेपाल क्रिकेट संघ (क्यान) ले एउटै मात्र टी–२० लिग आयोजना गर्ने घोषणा गरेसँगै फ्रेन्चाईज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपिएल) का टिम मालिकहरुले क्यानको कदमलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।
एउटै फ्रेन्चाईज प्रतियोगिता नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने क्यानको निर्णयले यसअघि फ्रेन्चाईज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रका लगानीकर्ताले असन्तुष्टि जनाएका हुन् । उनीहरुले फ्रेन्चाईज क्रिकेटमा ठूलो लगानी गरिसकेको बताउँदै कर्पोरेट क्षेत्रका लगानीकर्ताले प्रतियोगिताको निरन्तरताको माग गरेका हुन् । क्यानको निर्णयसँगै मिति घोषणा भइसकेको पाँचौ संस्करणको इपिएलले मान्यता नपाउने देखिएको थियो ।
यसै सन्दर्भमा सोमवार पत्रकार सम्मेलन मार्फत नेपाल टी–२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिए इपिएल र यसका ६ फ्रेन्चाइज टिमले क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए । क्यानले गरेको निर्णय सही नभएको ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जनले बताए । उनले क्यान निलम्वित हुँदासमेत ईपीएलले नेपाली क्रिकेटमा सहयोग गरेको भन्दै क्यानको यो निर्णयबाट सम्बन्धित सबै निकायहरु निराश भएको बताए ।
क्यानको पछिल्लो कदमबाट यसअघि हुँदै आएको फ्रेन्चाईज क्रिकेट ईपीएलको भविष्य शंकटमा देखिएको छ । जसमा कर्पोरेट क्षेत्रले लगानी गरेको करोडौं रकमसमेत जोखिममा परेको छ । ईपीएलका धेरैजसो टिम मालिकको जमघट भएको पत्रकार सम्मेलनमा कर्पोरेट क्षेत्रको लगानीमा धक्का लाग्ने बताएका हुन् । उनीहरुसँग सहमत हुँदै इपीएलका सञ्चालक आमिर अख्तरले आफूहरुलाई पनि काम गर्ने ठाउँ चाहिएको धारणा राखे । अख्तरले छलफलबाटै अहिले देखिएको समस्या समाधान हुनेमा आफूहरु आशावादी रहेको बताए । उनले सञ्चालकहरु पीडा र अन्यायमा परेको बताउँदै ईपीएलसँग जोडिएको कम्पनीले क्यानको लिगमा प्रायोजन नगर्ने चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्