पञ्चवर्षीय योजना बनाउने «

पञ्चवर्षीय योजना बनाउने

धनगढी– स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरको पहिलो पञ्च वर्षीय योजना निर्माण गर्ने निर्णय गरेका छन् । प्रमुख हमालले सोमबार सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा पञ्चवर्षीय योजना बनाउने निर्णय गरेका हुन् ।
पञ्चवर्षीय योजना बनाउनका लागि १० लाख रुपैयाँ भइसकेकोमा सो कार्यलाई अगाडि बढाउने निर्णय गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । धनगढीका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पञ्च वर्षीय योजना बनाउन अपुग हुने रकम आगामी आर्थिक वर्ष २०७९/८० को आन्तरिक स्रोतको बजेटबाट खर्च हुने गरी आर्थिक वर्ष ०७९/८० देखि ०८३/८४ सम्मको पञ्चवर्षीय योजना निर्माण प्रक्रिया चालु आर्थिक वर्षदेखि नै अगाडि बढाउन नवनिर्वाचित प्रमुख हमालबाट स्वीकृति प्राप्त भएको बताए ।
‘वार्षिक, रणनीतिक, विषयगत, क्षेत्रगत मध्यकालीन र दीर्घकालीन विकास योजना निर्माण गर्नका मानसिब देखिएको र बजेट पनि विनियोजन भइसकेको हुनाले विकास प्रशासनको प्रमुख आधारका रुपमा रहने पञ्चवर्षीय आवधिक योजना बनाई कार्यान्वयनमा लैजाने’ निर्णय पुस्तिकामा लेखिएको छ ।
कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले नवनिर्वाचित नगरप्रमुख हमाल, उपप्रमुख कन्दकला राना, वडाध्यक्ष र सदस्यहरुलाई सोमबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्