गोरखामा ५ जनप्रतिनिधिको पद रिक्त «

गोरखामा ५ जनप्रतिनिधिको पद रिक्त

गोरखा – हालै सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा गोरखामा ५ जनप्रतिनिधिको पद रिक्त रहन पुगेको छ । कुनै पनि दलले उम्मेदवारी नदिएपछि दलित महिलातर्फको ५ पद खाली रहन गएको हो । जिल्लाभरका ११ पालिकाअन्तर्गत कुल ४ शय ९२ पदका लागि निर्वाचन भएको थियो । तर, जनप्रतिनिधि भने ४ शय ८७ जनामात्रै निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार चुमनुब्री गाउँपालिकाका ५ वटा वडाको दलित महिला सदस्य पदमा उम्मेदवारीनै नपरेको हो ।
सो गाउँपालिकाको वडा नम्बर ३ बाट दलित महिला सदस्य पदका लागि ३ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये नेकपा माओवादी केन्द्रकी उम्मेदवार फुतानी कमिनी निर्वाचित भइन् । फुतानी २०७४ सालको स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन् ।
यस्तै चुमनुब्री २ बाट दलित महिला सदस्यमा लाक्पा डिकी विक निर्विरोध निर्वाचित भइन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा पनि सो पदमा निर्विरोध निर्वाचित थिईन् । दलित समुदायको बसोबासनै नभएकाले चुमनुब्रीको अन्य वडाबाट उम्मेदवारी दर्तानै हुन नसकेको चुमनुब्री ३ घर भएका सामाजिक कार्यकर्ता बीरबल घलेले जानकारी दिए । उनका अनुसार दलित महिला सदस्यमा उम्मेदवारी परेको वडा नम्बर ३ मा पनि ३ घरपरिवार मात्रै दलित समुदायको बसोबास रहेको छ । वडा नम्बर २ मा भने एक घर मात्रै दलित परिवार बस्दछन ।
चुमनुब्रीका ५ वडामा अघिल्लो स्थानीय तह निर्वाचनमा पनि दलित महिला सदस्यको पद रिक्त रहेको थियो । हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट गोरखामा ११ पालिकाका प्रमुख तथा उपप्रमुख, ९४ वडाध्यक्ष र त्यतिनै संख्यामा महिला सदस्य, ८७ जना दलित महिला सदस्य र १ सय ८८ खुला सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्