पहिलो अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता मुस्ताङमा

नेपाली सेनाले मुस्ताङको जोमसोममा पहिलो पटक आयोजना गरेको ‘प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता २०७९’ सम्पन्न भएको छ ।
मुस्ताङको जोमसोम क्षेत्रमा भएको प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी २१ टिमका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा प्रतियोगी माझ रक क्लाइम्बिङ, रनिङ, रिभर क्रसिङ र साइक्लिङमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा प्रथम हुन सफल भए । दोस्रो स्थान हात पार्न सफल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर थापा मगरले तालिममा हासिल गरेको अनुभवले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्न सहज भएको बताए ।
प्रतियोगितामा सहभागी खेलाडीलाई २०.२ किलोमिटर दूरी पार गर्नुपर्ने प्रावधान राखिएको थियो । तोकिएको दूरी पार गर्दै त्रिभुवन आर्मी क्लबकै मानबहादुर थापा दोस्रो भए । सोही प्रतियोगितामा महिलातर्फ हिमालयन गल्र्स टिमका खेलाडी प्रथम, त्रिभुवन आर्मी क्लब ‘ए’ का दोस्रो र त्रिभुवन आर्मीकै क्लब ‘बी’ टिमका खेलाडीले तेस्रो स्थान हासिल गरे ।
प्रतियोगितामा पुरुषतर्फ विजेता हुने पहिलो टिमलाई ट्रफीसहित ३ हजार, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः २ र १ हजार डलर प्रदान गरिएको थियो । त्यस्तै, महिलातर्फ प्रथम हुने टिमलाई ट्रफीसहित नगद १ लाख, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिएको आयोजक नेपाली सेनाले जनाएको छ ।