आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्यः नगर प्रमुख «

आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्यः नगर प्रमुख

दाङ-घोराही उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख नरुलाल चौधरीले यस क्षेत्रको आर्थिक विकासका लागि निजी क्षेत्र संग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले समग्र घोराहीको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । “यस क्षेत्रको आर्थिक विकासका लागि सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ” उनले भने, “निजी क्षेत्रसँगको सहकार्य बिना विकास सम्भव छैन ।” समृद्ध घोराही बनाउनका लागि निजी र सहकारीको माध्यमबाट नगर सञ्चालन गर्ने समेत उनले बताए । यसका लागि उप महानगरपालिकाले रुट र भाडा दर निर्धारण गरिदिने र निजी तथा सहकारीले सञ्चालनमा ल्याउने समेत उनको भनाइ छ ।
बेलुकी ७ नबज्दै बन्द हुने बजारलाई राति अबेरसम्म खुलाउन योजनावद्ध ढंगले अघि योजना रहेकाले सहयोगका लागि निजी क्षेत्रसँग आग्रह गरे ।
“हामी प्रदेश राजधानीबासी भइसकेपछि नयाँ ढंगले अघि बढ्नुपर्छ, हावापानी र सुरक्षाका हिसाबले घोराही धेरै राम्रो छ अब बजार चलायमान बनाउँदै उपभोक्तालाई सहज रुपमा बस्तु खरिदको वातावरण बनाउन ध्यान दिन जरुरी छ” उनले भने । नगरबस राति सम्म चलाउने, बजार राति अबेरसम्म खुलाउने, पार्किङ थप व्यवस्थापन गर्ने काम आफ्ना प्राथमिकतामा पर्ने पर्ने पनि उनको भनाइ छ । घोराही ३ र ५ मा पर्ने लक्ष्मीपुर औद्योगिक क्षेत्रका काम छिटो अघि बढाउन केन्द्रमा ध्यानाकर्षण गर्न जाने समेत उनले बताए । घोराही ८ मा निर्माण हुने भनिएको विमानस्थलको काम पनि अघि बढाउन सार्थक पहल हुने उनको भनाइ छ । विमानस्थलको विकास हुन नसक्दा यस क्षेत्र विकासमा पछाडी परेको भन्दै उनले डीपीआरको काम अघि बढ्ने चरणमा रहेको बताए । “राम्रो काम गर्दा कही कतैबाट विरोध हुनु स्वाभाविक हो, तर स्थानीय जनतालाई व्यवस्थापन गरेरै अघि बढ्नुपर्छ” उनले भने । तत्कालका लागि विरोध भएपनि विमानस्थल निर्माण सम्पन्न भए जिल्लाको समग्र विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ छ ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष हेमराज बन्जाडेले औद्योगिक क्षेत्रका कार्यलाइ अगाडि वढाउनका लागि पहल गरिनु पर्न बताए । यसले यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्