रक्तचाप नियन्त्रणका लागि गुणस्तरीय जीवनशैली «

रक्तचाप नियन्त्रणका लागि गुणस्तरीय जीवनशैली

उच्च रक्तचापलाई हाइपरटेन्सन पनि भनिन्छ । सन् २००५ बाट विश्व उच्च रक्तचाप दिवस मनाउन सुरु गरेको पाइन्छ । बदलिँदो जीवनशैली, प्याकिङ गरेको खानेकुरा, प्रशोधित खाद्यपदार्थ, व्यस्त जीवनशैली, निहित स्वार्थबाट प्रेरित भई सम्पत्ति र प्रगतिको होडबाजीले तपाईं–हामी सबैलाई हाइपरटेन्सन बनाउँछ । सन् २०२२ को नारा सबै जनाले समयमा नै उच्च रक्तचाप मापन गर्नुपर्ने आवश्यकतालाई पैरवी गर्दै यस वर्षको विश्व रक्तचाप दिवस मनाइयो । यस लेखमा सोबारे विवेचना गर्ने प्रयास गरिएको छ ।
हाम्रो समुदायमा दुई दशकपहिले मोटो हुनु वा मोटाउनुलाई सम्पन्नता वा शुभसूचकका रूपमा लिइन्थ्यो । आफ्नो साथीलाई वा आफन्तलाई केही समयको अन्तरालपछि भेट हुँदा ‘आहा ! तपाईं त मोटाउनुभएछ’ भनियो भने उनी खुसी पनि हुन्थे । तर, आज यसलाई एउटा रोगको रूपमा नै हेरिन्छ । ४० वर्ष पुगिसकेको मोटो मानिसले समयमै आफ्नो मोटोपन नघटाएमा उच्च रक्तचाप, सुगर तथा मुटुसम्बन्धी रोग लाग्ने बढी सम्भावना हुन्छ, किनकि जब हामी अनावश्यक रूपले मोटाउँछौं तब हाम्रो शरीरमा बोसो जम्मा हुन सुरु गर्छ, जसले गर्दा कोलस्ट्रोल बढी भई उच्च रक्तचाप, मधुमेह तथा अन्य रोग पनि हुन जान्छ ।
तरुण, वयस्क तथा वृद्धका लागि विश्वव्यापी चिकित्सा मापदण्डअनुसार रगतको चाप औसत रक्तचाप सिस्टोलिक रक्तचाप १२० र डायस्टोलिक रक्तचाप ८० मिलिमिटर मरकरी मानिन्छ । यो सबैभन्दा सन्तुलित रक्तचाप हो । सबै व्यक्तिमा स्वस्थ अवस्थामा पनि सामान्यतया रगतको चाप घटबढ भई रक्तचाप, फेरबदल हुने मुख्य कारक तत्वहरू यी हुन्— सिस्टोलिक रक्तचाप, यसका दुई कारक तत्व छन् । धमनीका भित्ताहरू मोटो एवं कडा हुनु, यसमा विभिन्न खाले अङ्गगत रोग, सरुवा रोग वा एलर्जीमा रगत प्रवाह गराउने धमनीहरूमा विकार उत्पन्न हुन्छ, बेलाबेलामा त्यस्ता साना शिराहरू आँफै पनि भिन्न वा संयुक्त रूपमा विकृत हुन सक्छ । शिरा समष्टिगत रूपमा खुम्चिन गई साँघुरो भई रगतको भार शरीरमा विकेन्द्रित हुँदैन, अतः केन्द्रीकृत हुन्छ । जब रगत केन्द्रीकृत हुन्छ, तब त्यसको चाप बढ्न जाँदा केन्द्रीय रक्त प्रणालीमा रगतको चाप सामान्यभन्दा बढ्न जान्छ र उच्च रक्तचाप हुन्छ । हृदयको स्पन्दनमा हृदयबाट प्रवाहित रगतको मात्रामा वृद्धि, शरीरमा रगत बहने नलीबाहेक रगतको भण्डार रहेको हुन्छ । औसत चार–पाँच लिटरसम्म रगतको मात्रामध्ये एक चौथाइमात्र प्रवाहमा आएको हुन्छ । सो भण्डार रगतको आयतन कतिपय तपसिलमा उल्लिखित रोगजस्तै शिरा र धमनीबीचको समागम, ग्रन्थिको रोग, मुटुको अत्यधिक सक्रिय अवस्था, ज्वरो, मानसिक तनाव, महाधमनी कारक तत्वले उच्च रक्तचाप हुन्छ, यसका अतिरिक्त उच्च रक्तचाप हुने कारक तत्वमा मृगौलाजन्य रोग पनि एक हो । यसमा दीर्घकालीन मूत्रनलीको रोग, सक्रिय र दीर्घकालीन रोग, मृगौलामा धेरै गाँठागुठी हुनु, मृगौला खराब हुनु आदि कारणले पनि उच्च रक्तचाप हुन्छ । अन्तर ग्रन्थिका कारणले पनि उच्च रक्तचाप बढाउनमा मुख्य भूमिका खेल्छ । जस्तै : यसको कारक तत्व मुखबाट खाइने विभिन्न हानिकारक पदार्थ, एडिनल ग्रन्थिको कर्टिकल तहको अत्यधिक सक्रियता हुँदा उच्च रक्तचाप हुन्छ । स्नायुजन्यले पनि उच्च रक्तचाप बढाउन प्रत्यक्ष भूमिका खेलेको पाइन्छ । जस्तै : मानसिकजन्य (मानसिक तनाव) मध्ये मस्तिष्कमा असन्तुलन, यस्तो उच्च अवस्थामा पनि उच्च रक्तचाप हुन्छ । यस्तै उच्च रक्तचाप हुने अन्य कारणमा शिरामा विकास पैदा, रगतका नलीहरू कमजोर, रगतमा क्याल्सियमको मात्रामा बढी एलर्जी, पिनास आदि भएमा उच्च रक्तचाप हुन्छ । यी माथि उल्लिखितबाहेक उच्च रक्तचाप हुन केही अझै कारक तत्वहरू पत्ता लाग्न नसकेको कुरा सो सम्बन्धित अध्ययन तथा अनुसन्धानमा लागेका वैज्ञानिकहरू व्यक्त गर्छन् ।
उच्च रक्तचापका अतिरिक्त मानव शरीरमा निम्न रक्तचाप पनि एक प्रकारको रोग हो । गाउँ तथा सहरका मानिसमा निम्न रक्तचाप पाइन्छ । निम्न रक्तचापको सीमा पराकाष्ठा भएमा पनि दिमागमा सेतो धर्सा हुन्छ, सो एक किसिमको ब्रेन स्ट्रोक नै हो, सोबाट पक्षाघात देखा पर्छ । यो पनि मस्तिष्कमा रक्तिम स्ट्रोकजस्तै ज्यादै घातक हुन्छ । नियन्त्रित रक्तचापका लागि स्वास्थ्यकर्मीको सल्लाहअनुसार आहारविहार गरी चल्न आवश्यक हुन्छ । उच्च रक्तचापको खास कारण नभए स्वास्थ्यकर्मीले प्राइमरी हाइपरटेन्सन भनेर वर्गीकरण गरेका छन् । यसलाई मद्दत पु-याउने तपसिलका जोखिमहरू छन् ।
जीवनशैली : धेरै नुन सेवन गर्नु, पर्याप्त मात्रामा फलफूल, सब्जी नखानु, मदिरा तथा धूम्रपान सेवन गर्नु, धेरै मोटो हुनु आदिले उच्च रक्तचाप हुन सक्छ । वंशाणुगत कारणबाट पनि उच्च रक्तचाप हुन्छ । आफ्नो वंशमा उच्च रक्तचाप भए पछि पनि त्यो देखा पर्छ ।
जातीय : कुनै खास जातिमा उच्च रक्तचाप हुन्छ । अफ्रिकाका क्यारेबियन र दक्षिण एसियाका केही जातीय समुदायका मानिसमा अरूलाई भन्दा बढी उच्च रक्तचाप हुने जोखिम बढी रहन्छ ।
उमेर : अस्वस्थकर जीवनशैली निरन्तर हुँदा उमेर बढ्दै जाँदा पनि उच्च रक्तचाप हुन सक्छ । उच्च रक्तचाप हुन सक्ने अन्तरनिहित कारणले पनि हुन्छ । यी कारणहरूलाई सेकेन्डरी हाइपरटेन्सन भनेर वर्गीकरण गरिन्छ । मृगौला रोग, मधुमेह, मृगौलामा आपूर्ति गर्ने आर्टरीहरू साँघुरिएमा, हार्मोनको अवस्था जस्तै कुसिङ सिन्ड्रोम, शरीरको टिस्यु असर गर्ने अवस्था जस्तै लुपस, परिवार जियोजनका चक्की, दर्दनाशक औषधि जस्तै आइब्रुफिन आदि हुन् ।
विज्ञान तथा प्रविधिको क्षेत्रमा आएको अकल्पनीय विकासले गर्दा मानव जीवनशैलीमा व्यापक परिवर्तन देखा परेका हुन् । त्यसकारण मानव समाज सदैव संघर्षमय जीवन र अशान्ति, बेरोजगारको प्रदूषणमय वातावरण, अस्वस्थ राजनीतिक तनावबाट निहित स्वार्थले भयभीत छन् । सो फलस्वरूप मानवको स्वास्थ्य मनस्थितिमा आघात परी उच्च रक्तचाप र न्यून रक्तचापबाट ग्रसित हुन पुगेका छन् । अत : स्वस्थ भई देश विकास गर्न सदैव गुणस्तरीय जीवन बिताउनु अति आवश्यक छ । सोका लागि निहित स्वार्थ आजैदेखि त्याग्नु तपाईं–हामी सबैको कर्तव्य हो । यसैमा देश र हामी सबैको हित छैन र ?
उच्च रक्तचाप नियन्त्रणका उपायहरू : शरीरको तौल, उचाइ र रक्तचाप जान्नु महत्वपूर्ण हुन्छ । ४० वर्ष उमेर नाघेपछि समय–समयमा रक्तचाप नापी स्वास्थ्यकर्मीसँग सम्पर्कमा रहनुपर्छ । खाना र जीवनशैलीमा सुुधार गर्नुपर्छ । त्यसका लागि नुन कम खाने, दिनमा ६ ग्रामभन्दा बढी नुन खानु हुँदैन । फलफूल र सब्जी खाऔं । क्रियाशील होऔं । हप्ताको पाँच दिन दैनिक एक घण्टा व्यायाम गर्ने उद्देश्य राख्नुपर्छ । त्यसको लागि विभिन्न खेलकुद, व्यायाम तथा हिँडडूल गर्नु जरुरी छ । मदिरा तथा धूम्रपानको प्रयोग नगरौं । दैनिक चार लिटर पानी बढी पिऔं ।
गुणस्तरीय जीवन बिताउन राम्रोसँग स्वास्थ्य परीक्षण गर्नु, चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नु, नुन, चिल्लो पदार्थ सेवन गर्न कम गर्नु, निहित स्वार्थ त्याग्नु, सकेसम्म हलुका शाकाहारी खाना खानु, सदैव हँसिलो रहनु, मेथीको साग वा मेथीको टुसा उमारेर खानु, सक्रिय जीवनयापन गर्नु, व्यायाम गर्नु, दैनिक तीन किलोमिटर हिँड्नु तथा बेरोजगार नरहने, स्वच्छ वातावरणमा रहने, अस्वस्थ राजनीति नगर्ने, अनैतिक कार्यमा नलाग्ने, सदैव स्वच्छ विचार भयो भने तपाईं–हाम्रो स्वास्थ्य गुणस्तरीय हुन्छ । स्वतः प्रमाणित हुन्छ कि सारा रोगको उपज मानिस आफैं हो । किनकि मानिसहरूको चालचलन, व्यवहार, खानपिन, सोचविचार आदि जीवनसँग सम्बन्धित विषयको प्रकृति फरक भएका कारण विभिन्न रोगबाट मानव शरीर ग्रसित हुन पुगेको हो । विज्ञानको विकाससँगै विनाशका विभिन्न समस्या पनि बेहोर्नुपरेकाले विज्ञान विकासमा मात्र लगाऊँ, विनाशमा होइन, सबै नेपालीले गुणस्तरीय जीवन बिताउन सक्ने वातावरण सिर्जना गरौँ । तबमात्र हरेक वर्ष मे १७ मा मनाउँदै आएको विश्व उच्च रक्तचाप दिवसले पनि सार्थकता पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्