मेयरका प्रत्यासी थापाको वडामा कांग्रेसको जित «

मेयरका प्रत्यासी थापाको वडामा कांग्रेसको जित

पोखरा -पोखरा महानगरपालिकाको मेयरका प्रत्यासी नेकपा एमालेका उमेदवार कृष्ण थापाको वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । एमालेको गढ मानिने पोखरा १६ (बाटुलेचौर) मा करिब ३ दशकपछि एमालेको गढा मानिएको उक्त क्षेत्रमा कांग्रेसका अमृत शर्मा तिमिल्सिनाले जित हासिल गरेका हुन् ।
शर्माले नेकपा एमालेका वडा अध्यक्षका प्रत्यासी राजेश गुरुङलाई १ सय ४८ मत अन्तरले पराजित गर्दै एमालेको गण भत्काएका हुन् । शर्माले ३ हजार ३ सय १८ मत ल्याउँदा उनका प्रतिस्पर्धी गुरुङले ३ हजार १ सय ७० मत ल्याएका थिए । अन्य चार जना सदस्यमा भने नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार सहरी विकास एवं यातायात व्यवस्थामन्त्री कुमार खड्काको समेत वडा भएकाले गर्दा उक्त वडामा वडा अध्यक्ष कांग्रेसको पक्षमा परेको छ भने अन्य सदस्य एमालेबाटै निर्वाचित भएका छन् ।
उक्त वडामा पोखराका मेयरका प्रत्यासी थापाको पक्षमा ३ हजार ४ सय ४६ मत परेको छ भने उनका निकटमत प्रतिस्पर्धी एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार धनराज आचार्यको पक्षमा भने २ हजार ४ सय ९२ मत परेको छ । पोखरा १६ मा ७ हजार ५ सय १९ मत खसेकोमा एमालेकी उपमेयरकी प्रत्यासी मन्जुदेवी गुरुङले ३ हजार ५ सय ६५ मत ल्याएकी छन् । नेपाली कांगे्रस उपमेयरकी प्रत्यासी कोपिला रानाभाटले भने २ हजार ६ सय ६९ मत ल्याएकी हुन् ।
यसैबीच पोखरा महानगरपालिकाकाको आइतबार करिब बेलुका ८ः३० बजेसम्म करिब ७९ प्रतिशत मतपरिणाम सार्वजनिक हुँदा मेयर पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जु देवी गुरुङले अग्रता कायम गर्न सफल भएकी छन् ।
१ लाख १२ हजार २ सय ८० मत गणना हुँदा मेयरका गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले ३ हजार ४ सय ३७ मतान्तरले अग्रता कायम गरेका छन् । आचार्यले ४५ हजार २७ मत ल्याउँदा उजनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले ४१ हजार ५ सय ९० मत ल्याएका छन् । आचार्यले भने सुरुबाटै पछि पार्दै आफ्नो अग्रता कायमै राखेका हुन् ।
राप्रपाका मेयरका उम्मेदवार शंकर खरालले ४ हजार ९ सय ८७ मत ल्याएका छन् भने लौरी चिह्नका स्वतन्त्र उम्मेदवार गणेन पौडेलले भने २ हजार ७ सय ५९ मत ल्याएका छन् ।
त्यसैगरी उपमेयरमा भने एमालेकी उम्मेदवार मन्जु देवी गुरुङले उक्त मत परिणाम सार्वजनिक हुँदा ४७ हजार ३ सय २४ मत ल्याउँदा रानाभाटले भने ४४ हजार ९ सय ६४ मत ल्याएकी हुन् । हालसम्म नेकपा एमालेले ७ वटा वडामा जित हासिल गरेको छ भने कांग्रेसले भने हालसम्म १७ वटा वडामा जित हासिल गरेको छ । हाल पोखरा बाँकी वडाको मत गणना जारी रहेको छ ।
ढिलोमा मंगलबारभित्र पोखराको मत परिणाम सार्वजनिक हुने भएको निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकृत श्रीकृष्ण अधिकारीले बताए । संघीयता पछिको पहिलो २०७४ मा स्थानिय तहको निर्वाचनमा एमालेले पोखराका २२ वटा वडामा जित हासिल गरेको थियो भने कांगे्रसले ११ वटा वडामा जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्