स्याङ्जामा १ सय ११ कुकुरको बन्ध्याकरण «

स्याङ्जामा १ सय ११ कुकुरको बन्ध्याकरण

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिकाका १ सय ४३ वटा कुकुरलाई रेबिजविरुद्धको खोप र १ सय ११ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। कुकुरको टोकाइबाट हुने रेविज रोगबाट बच्नका लागि खोप र कुकुरको संख्या अनावश्यक बढ्न नदिन बन्ध्याकरण गरिएको नगरपालिकाले जनाएको छ ।

घरपालुवा तथा घरभन्दा बाहिर रहेका कुकुरलाई बन्ध्याकरणसहित रेविजविरुद्धको खोप दिइएको हो । भेटेरनरी अस्पतालतथापशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना तथा गल्याङ नगरपालिकाको व्यवस्थापनमा शिविर सञ्चालन गरी खोपसहित बन्ध्याकरण सेवा उपलब्ध गराइएको पशु चिकित्सक डा.टंक प्रसाईले जानकारी दिए ।

शिविरमा ३ जना विशेषज्ञसहितको सर्जन टोलीले बन्ध्याकरणसहित खोप सेवाउपलब्ध गराएको गल्याङ नगर पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले बताए । उनका अनुसार गल्याङमा यसअघि रेविजखोप सेवा उपलब्ध गराए तापनि बन्ध्याकरण शिविर भने पहिलोपटक गरिएको हो ।

छाडा छोडिने कुकुरको नियन्त्रण गर्ने सजिलो उपाय बन्ध्याकरण रहेको बताउँदै नगरपालिकाले बन्ध्याकरणलाई नियमित बनाउने भएको छ । नगरले बन्ध्याकरणले उत्पादनमा कमी र रेविज बिरुद्धको खोप सञ्चालन गरेर छाडा छोडिएका कुकुरले टोक्ने डरबाट मुक्तबनाउने लक्ष्य राखेको छ ।

छाडा पशुचौपाया र कुकुरका कारण यातायात र बजार क्षेत्र अस्तव्यस्त हुँदै आएको थियो । कुकुरसहित छाडा चौपायालाई गल्याङ नगरपालिकाले कुकुरको बन्ध्याकरण र छाडा पशुचौपायाको पालन केन्द्र तोकेर नियन्त्रणको उपायअबलम्बन गरेको छ । पशुचौपायाको नियन्त्रणसँगै बजार व्यवस्थित र दुर्घटनामा कमी आएकोे स्थानीयले बताए ।

छाडा पशुचौपाया व्यवस्थापनमा नगरपालिकाले देखाएको सक्रियताले स्थानीय हर्षित भएका छन् । खेतबारीमा लगाइएको खाद्यान्नदेखि करेसा बारीको तरकारीसमेत उपभोग गर्नबाट बञ्चित स्थानीयले लामो समय अघिदेखि छाडा पशुचौपायाको नियन्त्रण गर्न माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्