धरान र धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार विजयी
सुनसरीको धरान र कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । धरानमा हर्कराज राई र धनगढीमा गोपाल हमाल निर्वाचित भएका हुन् ।
धरानका राई ४ हजार ७६२ मतान्तरसहित प्रमुखमा विजयी भए । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे । राई लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका थिए ।
नेकपा (एमाले)का मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरे । प्रमुखमा विजयी राईले २०७५ सालको उपनिर्वाचनमा ४२२ मत प्राप्त गरेका थिए । उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित भए । प्रतिद्वन्द्वी नेकपा (एमाले)का पदमप्रसाद लिम्बूले १७ हजार ६०६ मत प्राप्त गरे ।
२० वडा रहेको धरान उपमहानगरमा वडा नं १, ३, ९, ११, १६, १८ र २० मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं २, ४, ५, ७, ८, १०, १२, १३, १५, १७ र १९ मा एमाले, वडा नं ६ मा स्वतन्त्र तथा वडा नं १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।
उता सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले नगरप्रमुख पदमा विजयी प्राप्त गरेका छन् ।
वैशाख ३० गते सम्पन्न निर्वाचनको आइतबार सम्पन्न मत गणनाको परिणाम अनुसार हमालले २६ हजार ८६५ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार तथा धनगढीका निवर्तमान नगरप्रमुख नृपबहादुर वडलाई पराजित गरेका हुन् । वडले १४ हजार ८१७ मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेद्वार ९ हजार ११५ मत प्राप्त गरे । हमालले १२ हजार ४८ मतको फराकिलो अन्तरले विजयी प्राप्त गरेका छन् ।
यसैगरी, धनगढीको उपप्रमुख पदमा नेकपा एमालेकी कन्दकला रानाले १५ हजार ४७९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारले १२ हजार ६७० मत प्राप्त गरेकी छन् । धनगढीमा प्रमुख र उपप्रमुख पदका लागि कांग्रेस र माओवादीको गठबन्धन भएको थियो । धनगढीको १९ वटा वडा मध्ये कांग्रेसले ११ वटा (वडा नं. १, २, ३, ४, ५, ९, १३, १४, १५, १७ र १८), एमालेले ६ वटा (वडा नं. ७, ८, १०, ११, १२ र १८), माओवादीले २ वटा (वडा नं. ६ र १६) वडा जितेका छन् । नवनिर्वाचित नगर प्रमुख हमाल र नगर उपप्रमुख रानाको विजयी जुलुश धनगढीमा छुट्टा छुट्टै निकालिएको छ ।
नगरप्रमुखमा निर्वाचित भएपछि हमालले आफ्नो चुनावी घोषणा पत्रलाई आधार बनाएर सबैलाई साथमा लिएर नगरको विकासका योजना ल्याउने प्रतिक्रिया दिए । उनले धनगढीलाई विकासको मोडल बनाउने वाचा सहित मत मागेरको र अपेक्षा अनुसार नगरबासीले मत दिएको हुनाले चुनावी प्रतिवद्धता शिरोपर गरेर योजना निर्माण गराउने बताए । उनले उपमहानगरपालिकाको सचिवालयलाई सुधार गर्दै जवाफदेही, पारदर्शी र जनमुखी बनाउने बताए । उनले योजनाको राम्रो कार्यान्वयनका लागि सचिवालय सुधार गर्न आवश्यक रहेको बताए ।
धनगढीमा ९३ हजार १५१ मतदाता रहेकोमा ६३ हजार ६४७ मत खसेको थियो । स्थानीय निर्वाचन २०७९ मा इतिहासमै सबैभन्दा बढि मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार नगरप्रमुख पदको ११ हजार ७६९ मत बदर भएको छ भने नगर उपप्रमुख पदको २३ हजार ९८३ मत बदर भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज जोशीले अघिल्लो निर्वाचनको तुलनामा मत बदर हुने दर बढेको बताए । उनले गतवर्षको तुलनामा पूर्ण बदर १/२ प्रतिशतले बढ्ने र पूर्ण बदर भन्दा आंशिक बदर बढिरहेको बताए । निर्वाचन कार्यालयले केही दिनमै मत बदरको तथ्यांक विश्लेषण गरी सार्वजनिक गर्ने बताए ।