हिमालयकी एयरहोस्टेस डंगोलसहितको टोलीद्वारा सगरमाथा आरोहण «

हिमालयकी एयरहोस्टेस डंगोलसहितको टोलीद्वारा सगरमाथा आरोहण

हिमालय एयरलाइन्सकी उडान परिचारिका ओमनिका डंगोलसहितको टोलीले सगरमाथा आरोहण गरेको छ ।
टोलीले सन् २०२२ को मे १६ मा सगरमाथाको ऐतिहासिक आरोहण गरेको हो । गत सोमबार बिहान साढे सात बजे थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको आरोहण टोलीसँग हिमालय एयरलाइन्सकी उडान परिचारिका डंगोलले सगरमाथाको चुचुरो आरोहण गरेकी हुन् ।
आरोहणबाट फर्किएसँगै एयरलाइन्सले स्वागत कार्यक्रम राखेको थियो । जहाँ हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योगं र हिमालय टोलीले डंगोललाई स्वागत गरेका थिए ।
डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी छिन् । कम्पनीले ‘हिमालय एयरलाइन्स एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरेको थियो। यससँगै एयरलाइन्सले उडान परिचारिका डंगोलकासाथ सगरमाथा आरोहण गर्ने तयारीमा विशेष जोड दिएको कम्पनीले बताएको छ ।
नेपाल–चीनबीचको संयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्सको स्थापना सन् २०१४ मा भएको हो । एयरलाइन्सले ४ वटा विमानहरू, १८० इकोनोमी सिटसहितका तीन ३२०–२१४ एअरबसहरू र १२० इकोनोमी तथा ८ बिजनेस सिटसहितको एउटा एअरबस ३१९–११५ सञ्चालनमा ल्याएको छ ।
कम्पनीले हाल मध्यपूर्व र दक्षिण एशियाका युएई, मलेसिया, कतार, साउदी अरेबिया र बंगलादेश लगायतका देशहरूमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ । कार्गो उडानहरू विशेष रूपमा नेपाल–चीन सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्