विराटनगर महानगरको मेयरमा कोइराला «

विराटनगर महानगरको मेयरमा कोइराला

विराटनगर-विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । उनी कांग्रेस नेता डा. शेखर कोइराला निकट हुन् ।
उनले ३० हजार १ सय ७० मत ल्याएर महानगर मेयरमा निर्वाचित भएका हुन् । उनले एमालेका उम्मेदवार सागर थापालाई ८ हजार ७ सय १५ मत अन्तरले उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी थापाले २१ हजार ४५५मत ल्याएका छन् । यस्तै मेयरमै राप्रपाका प्रलादप्रसाद साहले ५ हजार २ सय १६ मत ल्याएका छन् भने स्वतन्त्र उमेश यादवले ८ हजार ९ सय ९५ मत ल्याएका छन् । उपमेयरमा शिल्पा निरौला कार्की विजयी बनेकी छिन । गठबन्धनका उम्मेदवारलाई पछि पार्दै उनले जितेकी हुन् । शिल्पाले २५ हजार ६ सय ८० मत ल्याउँदा जसपाका अरमेन्द्र यादवले १४ हजार २ सय१९ मत मात्रै ल्याएका छन् । यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।
राप्रपाकी विन्दा आचार्य दाहालले भने ६ हजार ४ सय १ मा प्राप्त गरेकी छिन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार १ सय १७ मत ल्याइन् ।
यसैबीच, २०७४ सालको स्थानीय निर्वाचनमा २४ प्रतिशत मत बदर भएको विराटनगर महानगरपालिकामा यसपटक अझै धेरै मत बदर भएको छ । निर्वाचन आयोग र दलहरुले मतदाता शिक्षामा ध्यान नदिँदा र गठबन्धनको कारण पनि बदर मत बढेको हो । विराटनगरमा प्रमुख पदमा लगभग २४ प्रतिशत मत बदर हुँदा उपप्रमुख पदमा भने ३८ प्रतिशत मत बदर भएको छ । उपप्रमुखमा यति धेरै मत बदर हुनुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिनु हो भने प्रमुखमा बदर हुनुमा जसपा र माओवादी केन्द्र चुनाव चिन्ह भएर पनि उम्मेदवारी नहुनु हो ।
तथ्यांकअनुसार प्रमुख पदमा सदर मत ६८ हजार ३६ रहेको छ भने उपप्रमुखमा सदरमत ५५ हजार २२९ रहेको छ । प्रमुख पदको २१ हजार ३५८ र उपप्रमुख पदको ३४ हजार १६७ मत बदर भएको छ । जबकि उपमेयरकी विजेता शिल्पा कार्कीले पाएको मत २५ हजार ६८० मात्र छ । सबैभन्दा धेरै मत बदर भएको मत वडा नम्बर ६ मा हो । त्यस वडामा उपप्रमुखमा ३ हजार ८०७ र प्रमुखमा १ हजार ९६५ मत बदर भएको छ । सबैभन्दा कम ७ नम्बर वडामा प्रमुखमा ३९८ र उपप्रमुखमा ९७८ मत बदर भएको पाएइएको छ ।

प्रतिक्रिया दिनुहोस्