संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरू «

संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरू

संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि प्रश्तावित राजदूतहरूको सुनुवाइ गरेको छ ।
शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कको लागि प्रश्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायकोबिरुद्धमा परेका उजुरीमा सुनुवाइ गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावितद्वय राजदूतबिरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । उनले प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र द्वय राजदूतबिरुद्ध परेको उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताए ।
सभापति कर्णले भने, ‘आज हामीले श्रीलंकाको लागि प्रश्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रश्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको सुनुवाइ ग-यौं । उहाँहरू दुई जनामाथि उजुरी पनि परेको रहेछ । उजुरीको छानबिनको प्रतिवेदन पनि हामीले उहाँहरूसँग सोधेर जवाफ लियौँ । उहाँहरूले आफ्नो स्पष्टीकरणमा केही कागजातहरू पेस गर्नुभएको छ । त्यो कागजात हाम्रो अध्ययन कार्यदल छ, त्यसलाई जिम्मा लगाएका छौँ । तीन ठाउँमा उजुरीको बारेमा सोधिरहेका पनि छौँ । वासुदेव मिश्रको सम्बन्धमा परेको उजुरीको सम्बन्धमा हामीले शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग सोधेका छौँ । रामस्वार्थ रायजीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि हामीले पत्र लेखेका छौँ । ९ गते समय तोकेर जवाफ दिन भनेका छौँ ।’
समितिको बैठकमा बोल्दै डेनमार्कका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर रामस्वार्थ रायले राजदूत बनेपछि नेपालमा पुनः डेनमार्कको राजदूतावास स्थापित गर्न पहल गर्ने बताउनु भयो । उनले नोपल र डेनमार्कबीचको सम्बन्ध थप प्रगाढ बनाउने, नेपालको जलविद्युत् तथा वैदेशिक उर्जाको क्षेत्रमा निजी, सामुदायिक, पार्टनरसीप पीपीपी मोडेलमा लगानी प्रवद्र्धन गर्ने तथा प्रविधिको क्षेत्रमा सहजीकरण गर्ने कुरामा जोड दिने बताए । उनले पर्यटन र व्यापार बढाउन पहल गर्ने र दुई देश र बहुदेशबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अझ सुदृढ गरी मित्रता, भ्रातृत्व विकास र समृद्धिलाई योगदान पु-याउन मुख्य भूमिका खेल्ने कुरामा जोड दिने बताए ।
प्रश्तावित राजदूत रायले भने, ‘नेपालमा २०१७ सम्म डेनमार्कको एम्बेसी थियो पछि हटाइयो । त्यसलाई कसरी पुनः स्थापित गर्ने भन्ने पहल गर्नेछु । दुई मुलुकबीच स्थानीय दुई पक्षिय बाइ इलेट्रल कन्सलटेन्सन, मेकानिजम पनि क्रियाशिल गराउनेछु । नेपालको जलविद्युत तथा वैदेशिक उर्जाको क्षेत्रमा निजी, सामुदायिक, पार्टनरसीप पीपीपी मोडेलमा लगानी प्रवद्र्धन गर्ने तथा प्रविधिको क्षेत्रमा सहजीकरण गर्ने, नेपालको आर्थिक, सामाजिक विकासका लागि आर्थिक सहयोग अभिवृद्धि गर्ने, पर्यटन बढाउनका लागि पहल गर्नेछु । व्यापार पनि बढाउनको लागि पहल गर्नेछु । दुई देश र बहुदेशबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अझ सुदृढ गरी मित्रता, भ्रातृत्व विकास र समृद्धिलाई योगदान पु-याउन मुख्य भूमिका खेल्नेछु ।’
प्रस्तावित राजदूत रायले सरकारको परराष्ट्रनीतिभित्र रहेर सरकारको कामलाई पहिलो प्राथमिकता दिएर नेपाललाई चिनाउन विभिन्न पहल गर्ने प्रतिबद्धता जनाए । उनले नेपालको आर्थिक, कूटनीतिक, राजनीतिक, स्वास्थ्य, खानेपानी, निर्यात, पर्यटन, कृषि, जलविद्युत् आदि क्षेत्रमा दिगो विकास लक्ष्यलाई सहयोग पु-याउने गरी वैदेशिक लगानी भित्र्याउन पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्