सिरिजका अन्तिम दुई खेलमा नेपालको जित «

सिरिजका अन्तिम दुई खेलमा नेपालको जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजित नेपाल र युगान्डाबीचको टी २० सिरिज शनिबार सम्पन्न भएको छ । सुरुकै तीन खेलमा हार बेहोरेपछि सिरिज गुमाएको नेपालले अन्तिम दुई खेलमा भने जित निकालेको छ ।
शनिबार सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले ३३ रनको जित निकालेको हो । ज्योति पाण्डेको ४९ रनसँगै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी नेपाल र युगान्डा महिला टिमको अन्तिम खेलमा नेपालले १२४ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाले पूरा ओभर खेल्दै छ विकेट गुमाएर १२३ रन बनाएको थियो । जवाफमा युगान्डाले पूरा ओभर खेल्दै छ विकेट गुमाएर ९० रन मात्र बनाएपछि अन्तिम खेलमा नेपालले जित निकालेको हो ।
नेपालका लागि ओपनिङमा ज्योतिसँगै आएकी सिता राना मगरले २४ बलमा १७ रन जोडिन् । त्यस्तै, इन्दू वर्मा आठ रन बनाएर आउट हुँदा कविता जोशीले पनि पाँच रनको योगदान दिइन् । त्यस्तै १८ ओभरको चौथो बलमा युगान्डाका लागि कोन्सी अवेको र फिओना कुलुमीले समान १–१ विकेट लिए । ज्योति, अप्सरी बेगम र रुविना क्षेत्री भने रनआउट भइन् ।
जवाफमा युगान्डाका ओपनर केभिन अविमोले १५ रन बनाइन् भने जानेट एमबाबाजीले १० रनको योगदान दिइन् । त्यस्तै, रिता मुसामालीले २६ रनको योगदान दिइन् । यसबाहेक अन्य खेलाडीले सम्झनलायका प्रदर्शन गर्न सकेनन् ।
यता बलिङतर्फ नेपालका अश्मिना कर्माचार्यले र हिरनमयी रोयले समान १–१ विकेट लिए । त्यस्तै, इन्दू बर्मा र सिता राना मगरले पनि समान २–२ विकेट गिराए । सिरिजको पहिलो खेल १२ रनले गुमाएको नेपालले दोस्रो खेलमा एक विकेटको हार बेहोरेको थियो । तेस्रो खेलमा नेपालले छ विकेटको हार बेहोरेको थियो । तर अन्तिम दुई खेल नेपालको नाममा रह्यो । चौथो खेलमा नेपालले १५ रनको जित निकाल्यो भने अन्तिम खेलमा ३४ रनको जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्