Logo

नेवारी परिकारको आकर्षण

प्राचीन कालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको छ । हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरीथरीका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ । नेवार समुदायको छुट्टै मौलिक पहिचानका रूपमा विकास हुँदै आएका ती परिकार आजभोलि बजारमा बिक्रीका लागि राख्ने, ‘फुड फेस्टिबल’ प्रदर्शनमा राख्ने तथा रेस्टुराँ एवं चमेनागृहमा पनि पाइन थालेपछि यसमा अन्य समुदायको आकर्षण बढ्न थालेको हो ।
नेवारी सभ्यता भाषा, संस्कृति र रीतिरिवाजका कारण जति प्रसिद्ध छ, त्योसँगै नेवारी परिकारका कारण नेवारी सभ्यता अझै समृद्ध रहेको छ । मौसमअनुसारको खाना र स्वास्थ्यअनुसारको परिकारले नेवारी भोजनको छुट्टै महत्व राख्छ । नेवार समुदायलाई भोजैभोजको समुदाय पनि भन्ने गरिएको छ । वर्षका अधिकांश समय चाडपर्व र भोजभतेरमै व्यतीत हुने नेवार समुदायमा भोजहरूको विशेष महत्व रहँदै आएको छ ।
बिस्काट नःख नेवारी सम्प्रदायको चाड होस् वा न्हु दया म्ह पूजा (नेपाल संवत्को नयाँ वर्षमा गरिने शरीरपूजा), क्वाटी पुन्ही (जनै पुर्णिमा) होस् वा सिटी नःख (नेवारी समुदाययको चाड) हरेक चाडमा नेवारहरूको फरक–फरक परिकार पाक्ने गर्छ । सयौँ थरी खाद्य परिकारका धनी नेवार समुदायको योमह्री, चटाँमरी, सन्याखुना, तःखा, बारा, कचिला, छ्वय्ला आदि खाद्य परिकार विभिन्न फुड फेस्टिबल, चाडपर्व तथा चमेना गृह आदि ठाउँमा देख्न पाइन्छ । सयौँ वर्षदेखि योमह्री पुन्हीका दिन नेवार समुदायले योमह्री बनाई खाने प्रचलन भए पनि बिस्तारै बजारमा योमह्री बनाई बेच्ने चलन आएपछि अरू समुदायको पनि यो परिकारप्रति आकर्षण बढेको हो । त्यस्तै चटाँमरी, माय् वः तथा मू वः विभिन्न पूजामा बनाइने परिकार हुन् । हिजोआज ती खाद्य परिकार पनि बजारमा सहज रूपमा किन्न पाइन्छ । सन्याखुना तथा तःखा विशेष भोज र चाडपर्वमा बनाइने परिकार हुन् । ती परिकार पनि पसलमा किन्न पाइन्छ । नेवारी खाजा घर तथा पसलमा अन्डा बारा, माय् वः तथा मू वः, चटाँमरी, सन्याखुना तथा तखाः जस्ता हेर्दा नै मुखमा रस आउने परिकारप्रति अन्य समुदायको पनि आकर्षण बढेको छ ।
हरेक सभ्यताको खानाको स्रोत मासु र त्यसका परिकारसँग जोडिन्छ । नेवार परिकार भन्नेबित्तिकै राँगाको मासु जोडिन्छ । भनाइ नै छ, नेवार खानामा राँगाको छाला बाहिर रहेको, आन्द्राभित्र रहेको र खुर, सिंगबाहेक सबैको परिकार बन्छ । हुन पनि हो, राँगाको मासुका परिकार सम्झन खोज्दा सूची तन्केको तन्क्यै हुन्छ । संसारभरकै परिकार हेर्दा हामी मासु पकाउने केही सीमित विधि भेट्छौं कि काँचै खाइन्छ, कि सुकाएर । कि उसिनेर, कि पोलेर । कि तारेर, कि मसलामा पकाएर, कि झोल राखेर । नेवार सभ्यता मात्र यस्तो हो, जहाँ यी सबै विधि बराबर प्रयोग हुन्छ । हामी काँचै मासुबाट कचिला बनाउँछौं, सुकाएर सुकुला खान्छौं, उसिनेर र तारेर भुटन खान्छौं । पोलेर छ्वेला र झोलसहित पकाएर द्याकुला खान्छौं । अझै हरेक अंगका अलग परिकारको फेहरिस्त लेख्ने हो भने सूची लामै हुन्छ— मेँ, न्हेँपू, न्यापं, खागो, जंला, स्यः, तिस्य, सपुम्हिचा । यस्ता परिकार अनेक छन् ।
माथि उल्लिखित सबै परिकार नेवार घरमा दैनिक पाक्ने परिकार होइनन् । यी सबै खानेकुरा खान चाडपर्व वा कुनै विशेष मौका जुर्नुपर्छ । चाडपर्व वा विशेष मौका कुर्ने फुर्सद नभए पनि अचेल उपाय भने छ । कुनै नेवारी खाजा पसलमा छिर्ने हो भने यी सबै परिकार हामी तयारी अवस्थामा फेला पार्छौं । नेपालमा भएका सबै जात र सभ्यतामध्ये सबभन्दा विविध खानाको परिकार भएको सभ्यता नेवार नै हो भनेर धेरैले धेरै ठाउँमा भनेका छन् । त्यही भएर पनि होला, नेवारसँग सम्बधित एउटा भनाइ खुबै प्रचलित छ— ‘नेवार बिग्रियो भोजले…’

प्रतिक्रिया दिनुहोस्