नवनिर्वाचत जनप्रतिनिधिको प्राथमिकता स्वरोजगार र पूर्वाधार विकास «

नवनिर्वाचत जनप्रतिनिधिको प्राथमिकता स्वरोजगार र पूर्वाधार विकास

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि २०७९ वैशाख ३० गते दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचन देशैभरि सम्पन्न भएको छ । त्यसको मत परिणाम अधिकांश स्थानीय तहमा आइसकेको छ । पालिका प्रमुख/अध्यक्ष पदमा ३ सय ७ स्थानीय तहमा विजयी र २० स्थानीय तहमा अग्रता प्राप्त नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ भने नेकपा एमाले १ सय ८८ स्थानीय तहमा विजयी र १८ स्थानीय तहमा अग्रता प्राप्त गरेर दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले १ सय १९ स्थानीय तहमा विजयी र २ स्थानीय तहमा अग्रतासहित तेस्रो स्थान प्राप्त गरेको छ । तर, कैलाली जिल्लामा भने देशभरको नतिजाभन्दा फरक छ । कैलाली जिल्लामा चार महिनाअघि मात्रै गठन भएको नागरिक उन्मुक्ति पार्टीले चार स्थानीय तहमा जित प्राप्त गरी जिल्लाको पहिलो पार्टी बनेको छ । टीकापुर काण्डको मुख्य अभियुक्त आरोप लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीको न्यायका लागि भनी गठन गरिएको सो पार्टीले भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित अधिकांश वडा पनि जितेको छ भने टीकापुर नगरपालिकामा अधिकांश वडासहित नगर प्रमुख पदमा विजयी भएको छ । देशैभर एक नम्बर भएको कांग्रेसले कैलालीमा लम्कीचुहा र गोदावरी नगरपालिका तथा कैलारी गाउँपालिका गरी तीन स्थानीय तहमा विजयी प्राप्त गरेको छ । एमाले चुरे र बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएको छ भने लम्कीचुहा र गोदावरी नगरपालिकामा उपप्रमुख पदमा विजयी भएको छ । माओवादी केन्द्रले गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकामा विजय प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले घोडाघोडीमा नगर प्रमुख पद जितेको छ । सुदूरपश्चिम प्रदेशको एकमात्रै धनगढी महानगरपालिकामा मत गणना जारी छ । धनगढीको नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नृप वडभन्दा दोब्बर बढी मतले अग्रस्थानमा छन् । ५६ हजार २ सय २६ मत गणना हुँदा हमालले २४ हजार ५ सय २१ मत र वडले १२ हजार ७ सय ७१ मतले अगाडि छन् । उपप्रमुख पदमा एमालेकी कन्दकला रानाले १२ हजार ५ सय ९४ र माओवादी केन्द्रकी शान्ति अधिकारीले ११ हजार ५ सय ८९ मत प्राप्त गरेकी छन् । धनगढीमा ६३ हजार ७ सय १५ मत खसेको थियो । आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट बनाउने बेलामा नयाँ चुनिएका जनप्रतिनिधिहरूले पालिकाको समग्र विकासलाई कसरी अगाडि बढाउलान् भन्ने आमचासोको विषय बनेको छ । यसै सन्दर्भमा कारोबार संवाददाता मुकेश चौधरीले कैलालीका नवनिर्वाचित पालिका प्रमुख/अध्यक्षसँग परेको कुराकानीको सार :

शिक्षा र स्वास्थ्यमा धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता कम गर्छु
गणेश चौधरी
अध्यक्ष, जानकी गाउँपालिका, कैलाली

मानिसलाई शिक्षा र स्वास्थ्यका लागि आर्थिक आर्जन जरुरी भएको छ । मानिसले जति कमाउँछन् त्यो सबै पैसा शिक्षा र स्वास्थ्यमा खर्च भइरहेको छ । शिक्षामा खर्च गर्ने सवालमा मानिसहरू नराम्रोसँग फसिरहेका छन् । आफूले कमाएको भन्दा बेसी पैसा शिक्षामा मात्रै खर्च गर्नुपर्ने बाध्यता छ । मानिसहरूले दैनिक सरदर पाँच सय रुपैयाँ कमाइरहेका हुन्छन् । तर, बच्चाको भविष्य राम्रो बन्ला भन्ने आसमा निजी विद्यालयमा पढाउनुपर्दा कमाएको भन्दा बढी पैसा स्कुलमा खर्च गर्नुपर्ने बाध्यता छ । यसले गर्दा मानिसहरूको आर्थिक स्थिति दिनप्रतिदिन खस्किँदै गएको अवस्था छ । स्वास्थ्यमा पनि त्यस्तै अवस्था छ । सरकारले स्वास्थ्य निःशुल्क भनेको छ तर निजी क्लिनिकमा नजाँदासम्म मानिसहरूले उपचार पाउँदैनन् । यसमा पनि मानिसहरूको धेरै पैसा खर्च भइरहेको छ । अब मानिसले कति पैसा कमाउँछन् भन्दा पनि कति पैसा बचाउँछन् र कहाँ खर्च गर्छन् भन्ने कुरा मुख्य हो । नागरिकले कमाएको पैसा उनीहरूले कसरी बचाउन सक्छन् भन्ने प्लान बनाउँछु । जानकी गाउँपालिकाका धेरै विद्यार्थी लम्की र टीकापुरका निजी विद्यालयमा पढ्न जान्छन् । जानकी गाउँपालिकाका अभिभावकहरूलाई बच्चालाई बाहिर बढ्न पठाउन रहर लागेको छैन । आफ्नै ठाउँको सरकारी विद्यालयमा पढाइ राम्रो सुविधा नभएकाले बाहिरका निजी विद्यालयमा पढेपछि आफ्नो बच्चाको भविष्य बन्ने एक खालको आशा र बाध्यता बनेको छ । उहाँहरूको त्यो बाध्यतालाई मात्रै कम गर्न सकियो भने यहाँको इकोनोमी माथि उठेर आउँछ । स्वास्थ्यमा पनि यस्तै खालको बाध्यता छ । मानिसहरू बिरामी परेपछि बाँच्ने आशामा जति पनि पैसा खर्च गर्छन् । स्थानीय सरकारले स्वास्थ्यको सुविधा सहज रूपमा प्रदान ग-यो भने मानिसहरूले धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता कम हुन्छ । यसले पनि यहाँका नागरिकको आर्थिक स्थिति बढेर आउँछ । यहीअनुसार योजना बनाएर जानकी गाउँपालिकालाई अगाडि बढाउँछु ।
विकास निर्माणका विषयहरू निरन्तर प्रक्रिया नै हो । विकास निर्माणलाई पहिलेको तुलनामा तीव्र गति प्रदान गर्न गाउँपालिकाको बजेट अनावश्यक ठाउँमा खर्च हुने कुरालाई रोक्नुपर्छ । खास गरेर जानकी गाउँपालिकाले पाँच वर्षसम्म भाडाको घरमा अफिस राखेर सञ्चालन भइरहेको छ । यो अवधिमा गाउँपालिकाले भवन बनाउन लाग्ने पैसाभन्दा बेसी भाडा तिर्नमा खर्च गरेको छ । त्यही भएर मैले पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाको कार्यालय भवन निर्माण गर्नेछु । सुरुमै भाडा तिर्नमा लाग्ने खर्च कन्ट्रोल गर्न सकियो भने अन्य विकासका काममा त्यो पैसा खर्च गर्न सकिन्छ । जानकी गाउँपालिकामा प्राकृतिक स्रोत–साधनहरू ढुंगा, गिट्टी, बालुवा प्रशस्त छ । जानकी गाउँपालिका कर्णालीसँग जोडिएको छ । यसको उपयोग गर्न सकियो भने गाउँपालिकाले आफ्नै स्रोतबाट धेरै विकासको काम गर्न सक्छ । जानकी गाउँपालिकामा रहेका सडक, पुलहरूको निर्माणका लागि हामी गुरुयोजना निर्माण गरेर काम गर्नेछौं ।

डुडेझारीमा औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य छ
सुशीला शाही
नगर प्रमुख, लम्कीचुहा नगरपालिका, कैलाली

स्वास्थ्य, शिक्षा, विद्युत्, खानेपानी, नागरिकको आयआर्जनलगायतका कुरा हामीले घोषणापत्रमै प्राथमिकतामा रहन्छ भनेर लेखेका छौं । घोषणापत्रमा लेखेका कुरालाई आधार बनाएर लम्कीचुहा नगरपालिकाको विकासलाई अगाडि बढाइनेछ । लम्कीचुहामा ढल निकाससहितको सडकहरू निर्माण गर्ने विषय पनि हाम्रो प्राथमिकतामा छ । पूर्वपश्चिम राजमार्गको लम्की बजारमा हरेक महिना दुई–तीनवटा दुर्घटना हुने गरेको छ । यसलाई घटाउनका लागि त्यो क्षेत्रमा कम्तीमा चार लेनको सडक बनाउन आवश्यक छ । औद्योगिक क्षेत्र नभएका कारणले गर्दा लम्कीचुहा नगरपालिकामा रहेका धेरै उद्योग नेपालगन्जतर्फ सरेका छन् । यसले गर्दा यहाँका नागरिकले रोजगारी गुमाउनुपरेको छ । कम्तीमा एउटा औद्योगिक क्षेत्र बनाउन सकियो भने यहाँ उद्योगहरू खुल्नेछन् । लम्कीचुहाका नागरिकले रोजगारी पाउनेछन् । हामीले डुडेझाडीमा औद्योगिक क्षेत्र स्थापना गर्न पहल गर्ने वाचा गरेर चुनाव जितेका छौं । नगरपालिकाको पनि आयस्रोत बढ्छ । नागरिकलाई रोजगार र स्वरोजगारमा जोड्ने कुरालाई मैले प्राथमिकता दिएर काम गर्नेछु । बेरोजगार युवा र महिलाहरूलाई लघु उद्यममा सहभागी गराउन प्रोत्साहित गर्ने योजना अगाडि सार्नेछौं । अपांगमैत्री लघु उद्यम सञ्चालन गर्नका लागिसमेत हामी अनुदान दिनेछौं । नागरिकलाई नगरपालिकाबाट दिने सेवाहरू नागरिकहरूकै राय लिएर दिनेछौं । नागरिकका विभिन्न खालका समस्याहरू छन् । चुनावमा भोट माग्न जाँदा धेरै समस्याबारे जानकारी पाएका छौंं । अझै पनि हामी नागरिकको राय लिएर नै अगाडि बढ्नेछौं । हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, पूर्वाधार विकास र रोजगारी, मझौला तथा लघु उद्यम सञ्चालनलगायतका २१ वटा एजेन्डा अगाडि सारेका छौं । महिला, बालबालिका र ज्येष्ठ नागरिकको सम्मानका लागिसमेत हामी काम गर्नेछौं । लागू औषधमा फकेका युवाहरूलाई त्यसबाट छुट्कारा दिलाएर रोजगारीमा प्रोमोट गर्नेछौं । महिलाहरूलाई सीपमूलक तालिमहरू दिएर उनीहरूलाई लघु उद्यम गर्न प्रोत्साहित गर्नेछौं । प्रत्येक घरमा एक–एकवटा रोजगारी दिने लक्ष्यका साथ हामी नगरपालिकामा आएका छौं ।
सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा लम्कीचुहा नगरपालिका रहेको छ । कर्णाली चिसापानीलाई हामी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेछौं । विगतदेखि पर्यटकीय क्षेत्रका रूपमा चिनिएको कर्णाली चिसापानीलाई व्यवस्थित बनाउने, त्यहाँका जनतालाई पर्यटनबाट आयआर्जनसँग जोड्ने विषयलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नेछौं । नगर पर्यटन विकास समिति निर्माण गरिनेछ । बलचौरमा रहेको बसेरा होमस्टेलाई आधुनिक सेवा सुविधासहित व्यवस्थित बनाउनेछौं । समुदायमा आधारित पर्यटन क्रियाकलापलाई प्रवद्र्धन गर्दै पर्यटक गाइड तालिमसमेत सञ्चालन गर्छौं । शान्ति–सुरक्षा, सामाजिक सुरक्षा पनि हाम्रो प्राथमिकतामा रहनेछ । हामी नगरपालिकामा रहेका हरेक बिधवा, ज्येष्ठ नागरिकलाई वडा कार्यालयबाट भत्ता पाउने व्यवस्था गर्छौं । यसैगरी, ऐलानी जमिनमा बसेका दलित, सुकुम्बासी, अपांग, सहिद परिवार तथा अतिविपन्न परिवारलाई जग्गामा लाग्ने कर छुटसहित दुई वर्षभित्रै जग्गाधनी पुर्जा वितरण गर्नेछौं । कृषि, आवास, व्यवसाय, औद्योगिक, खानी तथा खनिज, सांस्कृतिक तथा पुरातात्विक, वन, सार्वजनिक उपभोग तथा खुला, अन्य क्षेत्रसहित विभिन्न भागमा वर्गीकरण गरेर नगरपालिकाको भूउपयोग नीति बनाउनेछौं ।

कृषिमा उत्पादनमा आत्मनिर्भर नगर बनाउने प्रतिबद्धता योजना छ
देवीदत्त कँडेल
नगर प्रमुख, गौरीगंगा नगरपालिका

जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्दै उनीहरूलाई आत्मनिर्भर रोजगारी सिर्जना विषयलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ । स्वरोजगारका लागि लगानी गर्ने वातावरण गौरीगंगा नगरपालिकाले बनाउँछ । मैले अघिल्लो पटकको चुनावमा उठ्दा पनि यही प्रतिबद्धता गरेको थिएँ । अहिले पनि यही विषयलाई अगाडि सारेर चुनाव जितेको छु । नागरिकका समस्या पहिचान गरी समाधान गर्ने, आवश्यकता परिपूर्ति गर्ने, जीवनस्तरमा सुधार ल्याउने उद्देश्यका साथ निर्वाचत भएर आएको छु । नागरिकको सल्लाह, सुझाव र मागका आधारमा नगरपालिकाले दिने सेवालाई परिष्कृत गर्दै नागरिकको हितमा काम गर्नेछु । नगरपालिकामा पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच बढाउने, नागरिकलाई खानेपानी, ढल निकाससहितको यातायात पूर्वाधारको व्यवस्था गर्ने कुरा मेरो प्राथमिकतामा छन् ।
विगतका पाँच वर्ष गौरीगंगा नगरपालिकामा गरिएको भ्रष्टाचार र बेथितिलाई सुधार गरेर सुशासन कायम गर्ने पनि लक्ष्य निर्धारण गरेको छ । गठबन्धनबाट उम्मेदवारी दिएका हामी सबैले जितेका छौं । अब हाम्रो पहिलो लक्ष्य गौरीगंगा नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउनु हो । नगरपालिकाको स्रोतलाई यहाँका आवश्यकताको पहिचान गरेर त्यसको विकासका लागि खर्चिनेछौं । गौरीगंगाका नागरिकले तिरेको करको नागरिकको सेवासुविधाको विकासका लागि मात्रै खर्च हुनेछ । नगरपालिकाको स्रोत शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी सिर्जना, पूर्वाधार विकास, नागरिकको जीवनस्तर सुधारलगायतका काममा प्रयोग गर्नेछौं ।
शिक्षा, स्वास्थ्य क्षेत्रको सुविधालाई निःशुल्क बनाएर भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडि बढाउनेछौं । किसानलाई उत्पादनका आधारमा वास्तविक किसानले पाउने गरी अनुदान व्यवस्था गरिनेछ । गौरीगंगाका अधिकांश नागरिकको मूल पेसा कृषि भएकाले कृषिलाई आधुनिकीकरण गर्दै नगरपालिकालाई सबै प्रकारको कृषि उत्पादनमा आत्मनिर्भर बनाउन हामी योजना ल्याउनेछौं । महिला दिदीबहिनीहरूलाई सीपमूलक तालिम दिएर लघु उद्यमसँग जोड्नेछौं । गौरीगंगा नगरपालिकामा विगतका पदाधिकारीहरूले आफ्ना मान्छेलाई करारमा कर्मचारी र नगर शिक्षकमा भर्ती गरेका छन् । त्यस्तालाई योग्यता र क्षमताका आधारमा कर्मचारी भर्ना गर्ने विषयमा पनि हाम्रो टिम अगाडि बढ्नेछ ।

गोदावरीलाई देशकै नमुना सहरका रूपमा विकास गर्नेछौं
वीरेन्द्र भट्ट
नगर प्रमुख, गोदावरी नगरपालिका, कैलाली

समृद्ध गोदावरी बनाउनका लागि मैले विभिन्न घोषणासहित जित हासिल गरेको छु । यसअघिका साथीहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको हुनाले मैले निर्वाचित हुने अवसर पाएको हुँ । गोदावरीमा बस्ने नागरिकको अपेक्षाअनुसार गोदावरी नगरपालिकाको आर्थिक उन्नति गर्न मैले घोषणापत्रमा धेरै कुरा लेखेको छु । जनताको आयस्तर उकास्नका लागि हामीले धेरै काम गर्नुपर्ने देखिएको छ । यसका लागि हामी अहिलेदेखि नै लागिपरेका छौं । गोदावरीलाई समृद्ध बनाउनका लागि हामीसँग प्रशस्त साधन–स्रोत छन् । यो क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना पनि छन् । हामीसँग पर्यटन विकासका लागि गोदावरीधाम छ । ग्वासिसमैजी छ । चाप, सल्ली, नाइलमा प्राकृतिक पर्यटनको सम्भावना छ । गोदावरीलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखेका छौं । हामी गोदावरीलाई देशकै नमुना सहरका रूपमा विकास गर्नेछौं । गोदावरीलाई विकासोन्मुख सहरका रूपमा अगाडि बढाउनका निमित्त हामीले योजना बनाइरहेका छौं । यसका लागि हामीले विज्ञ साथीहरूको सहयोग लिइरहेका छौं । हामी आफ्नो भिजन राख्नेछौं र विज्ञ साथीहरूले कुन तरिकाबाट अगाडि बढ्न सकिन्छ भन्ने कुराको डिजाइन गर्नुहुन्छ । गोदावरीलाई प्रदेशको राजधानी बनाउनका लागि हामी प्रशस्त काम गर्छौं । यहाँ विकास गर्नुपर्ने कामहरू पनि धेरै बाँकी छन् । अत्तरिया बजारलाई व्यवस्थित सहरका रूपमा परिणत गरेर प्रदेशको राजधानी भएको सहर बनाउनेछौं । गोदावरीलाई प्रदेश राजधानीका रूपमा विकास गरेर हामी सुन्दर सहर बनाउनेछौं ।
महिला लक्षित र युवा लक्षित स्वरोजगारका कार्यक्रमहरू अगाडि बढाउने सोचेका छौं । यहाँ रोजगारीको सम्भावना नभएका कारण युवाहरू भारतलगायत विभिन्न ठाउँमा पलायन भएर रोजीरोटी चलाउनपर्ने बाध्यतालाई कम गर्न पनि योजनाहरू ल्याउनेछौं । शिक्षित युवाहरू अलि राम्रो देशमा जाने र विस्थापित हुने अनि मध्यमवर्गीय परिवारका युवाहरूले भारत जानुपर्नेजस्ता समस्या भोग्दै आएका छन् । यी समस्यालाई आफ्नै ठाउँमा रोजगारी तथा स्वरोजगारी दिने व्यवस्था गर्नेछौं । महिलाहरूलाई सीपमूलक कार्यक्रम ल्याएर घरघरमै लघु उद्यम गर्न सक्ने बनाउनेछौं । किसानहरूलाई कृषि आधुनिकीकरण गरेर उत्पादन बढाउन मद्दत गर्ने खालका योजना बनाउनेछौं ।

प्रतिक्रिया दिनुहोस्